कर्णालीमा विकराल बेरोजगारी

वैदेशिक रोजगारीमा निर्भर

सुर्खेत: कर्णालीमा चरम बेरोजगारी छ । सरकारी नीति–कार्यक्रम र बजेटमा बेरोजगारको समस्याले प्राथमिकता पाएपनि कार्यान्वयनको अवस्था फितलो छ । त्यस्ता कार्यक्रमको प्रभावकारिता निकै न्यून छ । जसले गर्दा कर्णालीमा बेरोजगारको संख्या बर्सेनि बढ्दो छ ।

यहाँका अधिकांश युवालाई देशभित्रकै ठूला सहर, भारत वा तेस्रो मुलुक नगइ जीवन धान्न मुश्किल हुन्छ । हजारौँ नागरिकले आफ्नो ऊर्जाशील समय विदेशमा श्रम गरेर बिताइरहेका छन् । परिवारको गर्जो टार्न रोजगारीका लागि देशभित्र भौतारिनेको संख्या पनि उस्तै छ । उब्जनी हुने पर्याप्त जमिन र गाउँमै रोजगारीका अवसर नभएपछि युवा जनशक्ति कामको खोजिमा भारत (कालापहाड) र खाडी मुलुकमा जाने गरेका हुन् । विकराल बेरोजगारी समस्या न्यूनीकरणका लागि सरकारी निकायले भने वार्षिक अर्बाैं बजेट खर्च गरिरहेका छन् । तीन वटै तहका सरकारले सञ्चालन गर्दै आएका बेरोजगार लक्षित कार्यक्रमले भने उनीहरूको समस्या सम्बोधन गर्न सकेका छैनन् । ती कार्यक्रमले केही संख्यालाई मात्र त्यो पनि छोटो अवधिको रोजगारी दिइरहेका छन् ।

कर्णाली प्रदेशबाट अक्सर विदेशमै बस्नेहरूको जनसंख्या ठूलो देखिएको छ । राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेका छन् । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् । परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्यांक थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ ।

सन् २००८ देखि २०२४ सम्म ५६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएको पाइएको छ । पछिल्ला दुई वर्षमा महिला श्रमिकको संख्यामा १२ दशमलव तीन प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । प्रदेशगत श्रम आप्रवासन हेर्दा सबैभन्दा धेरै श्रमिक कोशी प्रदेशबाट विदेश गएका छन् भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशबाट गएका छन् । नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी मलेसिया जाने गरेका छन् भने त्यसपछि साउदी अरेबिया, कतार, कुवेत, बहराइन प्रमुख श्रम गन्तव्यका रूपमा रहेका छन् । पछिल्लो समय रोमानिया, क्रोएशिया, पोल्याण्ड, साइप्रस, टर्की, अल्बानियालगायतका मुलुकहरू नयाँ श्रम गन्तव्य बनेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ४८ दशमलव चार प्रतिशत श्रमिक अवर्गीकृत मजदुर रहेको पाइएको छ ।

यस्तै, वैदेशिक रोजगारीका क्रममा धेरै नेपालीको अकालमा ज्यान जाने गरेको छ । दुई वर्षको अवधिमा एक हजार तीन सयभन्दा बढी नेपाली श्रमिकको मृत्यु भएको छ । सरदर हरेक दिन तीन जना श्रमिकले ज्यान गुमाउने गरेका छन् । सन् २०२२ देखि २०२४ सम्म मलेसियामा मात्रै एक सय एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अंगभंग तथा बिरामी परेको अवस्था छ ।

 

परामर्श लिने बढ्दै

पछिल्लो तीन महिनाको अवधिमा एक हजार पाँच सय भन्दा बढी वैदेशिक रोजगारी सम्बन्धी परामर्श लिएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट उनीहरूले परामर्श लिएका हुन् । उनीहरूमध्ये अधिकांश खाडी मुलुकमा रोजगारीका लागि जाने रहेको सहायता केन्द्रका सीता वलीले बताइन् । दैनिक ४० देखि ७० जनाले सहायता कक्षबाट परामर्श लिने गरेका छन् । अहिले केन्द्रले सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र अन्य थप प्रक्रियाहरूको बारेमा जानकारी दिने गरेको छ ।

यस्तै, सुरक्षित आप्रवासन कार्यक्रमका कमलबहादुर रोकायले ७० प्रतिशत युवा जनशक्ती सीपविना नै रोजगारीका लागि विदेश जाने गरेको बताए । गतवर्ष नेपालबाट दुई हजार चार सयभन्दा बढीले श्रमस्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको हालसम्म एक हजार दुई सयभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । कर्णालीबाट सबैभन्दा बढी सल्यान जिल्ला र सबैभन्दा कम श्रम स्वीकृति डोल्पा जिल्लाबाट लिइएको पाइएको छ ।

यसैबीच सोमवार वीरेन्द्रनगरमा वैदेशिक रोजगारीसम्बन्धी पत्रकाहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । वैदेशिक रोजगारसम्बन्धी संवैधनिक व्यवस्थाका बारेमा वीरेन्द्रनगर नगरपालिकाका रोजगार संयोजक मोहनप्रसाद पौडेलले प्रष्ट पारेका थिए ।

प्रकाशित मितिः   ६ जेष्ठ २०८२, मंगलवार १०:०८