रारामा पर्यटनः बजार प्रणालीको चुनौती र सुधारका लागि सुझावहरू
पृष्ठभूमि
हाल नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ६.७ प्रतिशत योगदान रहेको छ । विविध प्राकृतिक भू–परिवेश, सांस्कृतिक सम्पदा, संग्रहालयहरू, ऐतिहासिक स्मारकहरू, तथा युनेस्को विश्व सम्पदा सूचिमा सूचिकृत स्थलहरूले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि नेपाल एक आकर्षक गन्तव्य बनेको छ । भौगोलिक रूपमा, कर्णाली प्रदेश नेपालकै ठूलो प्रदेश हो र कर्णालीको समृद्ध संस्कृति, साहसिक पर्यटन र स्वच्छ प्राकृतिक स्थल देशभर प्रसिद्ध छन् । यस क्षेत्रको अपरिवर्तित वनजङ्गल र सांस्कृतिक विविधताको कारण कर्णाली प्रकृतीप्रेमीहरू, पदयात्री र भीडभाडबाट टाढा विशेष अनुभव खोज्नेहरूका लागि एक मुख्य आकर्षण रहेको छ । कर्णाली प्रदेशका विभिन्न पर्यटकीय स्थलहरू मध्ये, २,९८० मिटरको उचाइमा रहेको नेपालकै सबैभन्दा ठूलो रारा ताल देश–विदेशका पर्यटकहरूका लागि प्रमुख आकर्षण रहेको छ । साथै, बढ्दो लोकप्रियताका कारण पछिल्लो समय रारामा आन्तरिक पर्यटन उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ ।
वर्तमान स्थिति
वि.सं. २०७५/०७६ मा कर्णाली प्रदेशमा ४,५०,००० भन्दा बढी आन्तरिक पर्यटकको आगमन भएको थियो । त्यसै वर्ष, कर्णाली भ्रमण गर्ने दोस्रो ठूलो समूह भारतीय पर्यटकहरू रहेका थिए, जसको संख्या १७,५०० रहेको थियो । तथापी, अन्य राष्ट्रबाट आएका अन्तराष्ट्रिय पर्यटकको आगमन भने जम्मा ७,२०० मात्र थियो । कर्णालीको भौगोलिक बनावटको कारण भौतिक पूर्वाधारको विकासमा जटिलता रहेको र सो जटिलताको कारण यहाँको यात्रा तुलनात्मक रूपमा महँगो हुनु कम पर्यटक आवागमको एक मुख्य कारणा हो । रारा राष्ट्रिय निकुञ्जका अनुसार, वि.सं. २०७९/०८० को साउनदेखि कार्तिक महिनाको अन्तरालमा, कुल ४,६११ पर्यटकहरूले रारा भ्रमण गरेका थिए, जसमा ४,४९० आन्तरिक पर्यटकका साथै ९६ अन्तराष्ट्रिय पर्यटक (जसमध्ये २४ जना सार्क राष्ट्रहरूबाट) थिए । त्यसै वर्ष, दशैं–तिहारको समयमा ठूलो संख्यामा आन्तरिक पर्यटकहरूको आगमन भएको र उक्त अवधिमा करिब १२ लाख नेपाली रूपैयाँ निकुञ्जको मात्र आम्दानी भएको तथ्यांकले देखाउँछ । रारा पर्यटनबाट हुने प्रमुख आम्दानीमा आन्तरिक पर्यटनको मुख्य योगदान रहेको देखिन्छ ।
यद्यपि, रारा भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या वर्षौंमा तीव्र रूपमा वृद्धि भएको छ, जुन वि.सं. २०७७/०७८ मा २३ जना मात्र रहेको थियो भने वि.सं. २०७९/०८० मा बढेर दुई सय ७४ पुगेको छ । त्यसैगरी, मुगुका संरक्षित क्षेत्रका पदमार्गहरू हुँदै पदयात्रा गर्ने पदयात्रीहरूको संख्या वि.सं. २०७७/०७८ सालमा १६ रहेको थियो जुन वि.सं. २०७९/०८० मा वृद्धि भएर ४१ पुगेका छन् । यस पदमार्गमा देखिएको वृद्धिलाई हेर्दा पनि पछिल्लो समयमा जुम्लादेखि रारा जोड्ने पदमार्गकोको सम्भावनालाई देखाउँछ । तथ्याङ्कले, अन्तर्राष्ट्रिय पर्यटकहरूमाझ पर्यटकीय गन्तव्यका रूपमा राराको बढ्दो आकर्षण देखाउँछ । यसबाहेक, सडक अवस्थाको सुधारसँगै यस क्षेत्रको पहुँच पनि सहज भएको छ ।
वि.सं. २०७७/०७८ देखि २०७९/०८० सम्मको अवधिमा रारामा हुने आन्तरिक हवाई उडानहरूको संख्या दुई हजार उडानहरूबाट घटेर आठ सय ६५ मा झरेको छ । तथ्यांकअनुसार वि.सं. २०७७/०७८ देखि २०७९/०८० को तीन वर्षको अवधिमा जम्मा यात्रुहरूको संख्या घटेको देखिन्छ । यद्यपि, सो अवधिमा प्रति उडान औसत यात्रु संख्या भने बढेको छ । यसले यात्रु संख्या घट्नुको कारण समग्र मागमा कमी नभइ उडान संख्या घट्नुसँग सम्बन्धित भएको संकेत गर्छ । यद्यपि, उडानहरूको समग्र माग मौसमी रूपमा रहेको हुन्छ । सिजनमा यात्रुहरूको संख्यामा उल्लेखनिय वृद्धि भएको कुराले पनि यो कुराको संकेत गर्दछ । साथै, पीक सिजनमा यात्रुहरूको प्रायः एकतर्फी यात्राको माग हुनेगर्छ । त्यसैले, असोजदेखि मंसिरसम्मको पीक सिजनमा एयरलाइन्सहरू राराबाट उडान सञ्चालन गर्न इच्छुक हुन्छन् तर त्यसबाहेकका समयमा उडान जारी राख्न अनिच्छुक देखिन्छन् ।
पर्यटनबाट भएको आम्दानी
गत आर्थिक वर्ष वि.सं. २०७९/०८० मा कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटन गन्तव्यहरूबाट रू. दुई करोड १४ लाख ७५ हजार राजश्व संकलन गरेको छ । यसमा रारा राष्ट्रिय निकुञ्जबाट रू. ४१ लाख १२ हजार, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रू. ९० लाख ९० हजार, काँक्रेविहारबाट रू. ११ लाख ५० हजार र बुलबुले पार्कबाट रू. ७१ लाख १४ हजार राजश्व संकलन भएको समावेश छ ।
कर्णाली प्रदेश सरकारका पहलहरू
आर्थिक वर्ष वि.सं. २०७६/०७७ मा कर्णाली प्रदेश सरकारले पर्यटनको प्रभावकारी व्यवस्थापन तथा प्रवद्र्धनका लागि १० वर्षिय पर्यटन विकास गुरुयोजना ल्याएको थियो । पहिलो पाँच वर्षको योजनाअनुसार प्रदेश सरकारले पूर्वाधार विकास र पर्यटन व्यवस्थापनका लागि जम्मा अनुमानित रू. १२ अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको वि.सं. २०७९÷०८० को बजेट वक्तव्यअनुसार, जुम्ला (एयरपोर्ट – उर्थुखाली – न्यौरीघाट – भुलभुले) हुँदै कालीकोट (लालु – लैफु – कोटावाडा – रूप्सा) भएर सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्य रामारोशन जोडिने सडक निर्माणका लागि रू. २४ करोड बजेट विनियोजन गरिएको थियो जुन पर्यटकीय मार्गको रूपमा लोकप्रिय मानिन्छ । साथै रारामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै प्रदेश सरकारले रू. १४ करोड बजेट विनियोजन गरेको थियो र यो बजेट अन्य प्रमुख पर्यटकीय गन्तव्यहरूमा आवश्यक पूर्वाधार निर्माणतर्फ केन्द्रित रहेको थियो । त्यसैगरी वि.सं. २०८०/०८१ मा ताल्चा विमानस्थलबाट प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालसम्मको बाटो कालोपत्रेका लागि प्रदेश सरकारले रू. एक करोड बजेट विनियोजन गरेको थियो । यसबाहेक पनि प्रदेश सरकारले कर्णालीको पर्यटन प्रर्वद्धनको लागि विभिन्न शीर्षकहरूमा बजेट विनियोजन गर्दै आएको छ ।
तरपनि, अपर्याप्त पूर्वाधार र दुर्गम स्थलहरूमा सीमित पहुँच हुनुका कारण प्रदेश सरकारले बजेट विनियोजन अनुसारको लक्ष्य प्राप्त गर्नमा विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । वि.सं. २०७९/०८० सम्मका पछिल्ला पाँच आर्थिक वर्षमा संघीय तथा कर्णाली प्रदेश सरकारले विनियोजन गरेका अधिकांश बजेटहरू फ्रिज भएका छन् । उदाहरणका लागि, संघीय सरकारले रारामा एक समग्र पर्यटक सूचना केन्द्र निर्माण गर्नका लागी रू. ६० लाख र रारा तालको वरिपरि सिँढी (स्क्याफोल्डिङ) निर्माण गर्नका लागि रू. ८० लाख विनियोजन गरेको थियो । आर्थिक वर्ष वि.सं. २०७५/०७६, २०७६/०७७, र २०७७/०७८ मा कर्णाली प्रदेश सरकारले रारा तालको वरिपरि साइकल मार्ग निर्माणका लागि रू. चार करोड विनियोजन गरेको थियो तर उक्त सबै रकम समयमा खर्च नभएका कारण फ्रिज भएको थियो ।
राराको पर्यटनमा देखिएका प्रणालीगत चुनौतीहरू
पर्यटन क्षेत्रमा रहेका विभिन्न चुनौतीहरूका कारण पर्यटकहरूको आवागमनमा बाधा सिर्जना भइरहेको छ, जसका कारण यस क्षेत्रले सीमित पर्यटक आगमन भइरहेको छ । कर्णाली प्रदेशमा पर्यटकको आगमन सीमित रहनुको एक प्रमुख कारण पूर्वाधार विकास नहुनु हो । खराब सडक, अपर्याप्त सडक यातायात सुविधा र सीमित हवाई सेवाले कर्णाली भ्रमण गर्न चाहने पर्यटकहरूको सम्भावित आगमनमा नकारात्मक प्रभाव पारिरहेको छ । कर्णाली राजमार्ग पहाडी भूभाग र उकालो डाँडाहरू हुँदै सुर्खेतदेखि जुम्लासम्म जोडिएको प्रमुख सडक सञ्जाल हो । यस सडकको लम्बाइ दुई सय ३२ कि.मि. रहेको छ र औसत यात्रा समय १६ देखि २० घण्टा लाग्ने गर्दछ । त्यसैकारण, नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको तुलनामा कर्णाली क्षेत्रमा यातायात खर्च बढि हुन जान्छ, साथै यहाँ वस्तु तथा सेवाहरूको मूल्य पनि उच्च रहेको अवश्था छ । अर्कोतर्फ, रारा भ्रमण गर्ने चाहने पर्यटकहरूका लागि सबैभन्दा उपयुक्त हवाई मार्ग नेपालगञ्जदेखि ताल्चा विमानस्थल सम्मको हो । यद्यपि, ताल्चा विमानस्थलदेखि रारा तालसम्मको दूरी करिब १० कि.मि. रहेको छ र सडक पूर्वाधार सीमित हुनुका कारण प्राय उक्त दुरी पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यसैमाथि, ताल्चा विमानस्थलबाट सीमित उडानहरू हुने भएकाले रारा भ्रमण गर्ने चाहने सम्भावित पर्यटकहरूको आगमनमा अर्को बाधा बनेको छ ।
माथिल्लो कर्णाली क्षेत्रमा होटल तथा अन्य पर्यटकीय व्यवसायहरूका लागि आवश्यक खाद्य सामग्रीहरू कर्णाली राजमार्गमार्फत् आपूर्ति गरिन्छ । प्याकेटका खाद्य सामग्रीहरू माथिल्लो कर्णाली क्षेत्रका व्यापारीहरूसम्म पु¥याउँदा थोक विक्रेताहरूले प्रायः म्याद सकिन लागेको सामान आपूर्ति गर्ने गरेको पाइन्छ जसकारण माथिल्लो क्षेत्रहरूमा चाउचाउ, विस्कुट तथा अन्य खाद्य सामग्रीहरूको म्याद सकिएका उपलब्ध हुने गर्दछ । यसले पर्यटकहरूमा नकारात्मक प्रभाव पार्नुका साथै स्वास्थ्य जोखिम पनि सिर्जना गर्दछ । त्यसैगरी, रारा, जुम्ला र माथिल्लो कर्णालीका अन्य जिल्लाहरूमा रहेका धेरै होटल तथा लजहरूमा सफा पानीको अभावका कारण भान्सा, शौचालय र कोठाहरूमा सरसफाइ कायम राख्न समेत गाह्रो पर्ने अवस्था छ । साथै, होटलहरूमा सुरक्षित खाद्य भण्डारणको सुविधा नहुनुको कारण खाद्य सुरक्षा सम्बन्धी समस्या उत्पन्न हुने उच्च सम्भावना हुन्छ । यसबाहेक, दक्ष तथा तालिमप्राप्त जनशक्तिको अभावले सेवा गुणस्तर र आतिथ्यमा प्रतिकूल प्रभाव पार्दछ । त्यसैले, सरसफाइको कमी, आवश्यक स्रोतको तथा दक्ष जनशक्तिको अभाव, कमजोर आतिथ्य सेवा, आदि पर्यटन उद्योगका प्रमुख चुनौती बनेका छन् ।
रारा ताल वा कर्णाली क्षेत्रको मुख्य पर्यटक प्रवेश क्षेत्रहरूबाट टाढा भएको कारण भ्रमणका लागि धेरै समय लाग्ने हुनाले यसको तुलनामा पर्यटकहरूलाई नेपालका अन्य स्थानहरू भ्रमण गर्न कम समय बाँकी रहन्छ । यो धारणा परिवर्तन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई कर्णाली भ्रमणका लागी प्रेरित गर्न ट्राभल एजेन्सीहरूले पर्यटन क्षेत्रमा मुख्य भूमिका निर्वाह गर्छन् । यद्यपि, ट्राभल एजेन्सीहरूमा अन्तर्राष्ट्रिय ग्राहकहरूको सुरक्षाको जोखिम उठाएर उनीहरूलाई कर्णाली भ्रमणका लागी प्रेरित गर्ने प्रोत्साहनको अभाव देखिन्छ । साथै, आन्तरिक पर्यटकहरू प्रायः स्वतन्त्र रूपमा यात्रा गर्छन् किनभने यात्रुहरूसँग आफैले व्यवस्थापन गर्न सक्ने सेवाहरूको लागि ट्राभल एजेन्सीसँग जाँदैनन् ।
त्यसैगरी, सरकारले रारा वा प्रदेशका अन्य पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनका लागि बनाएको नीति तथा बजेट विनियोजनको व्यवहारिक कार्यान्वयन भएको देखिँदैन । सरकारले स्थानीय युवाहरूलाई सक्षम बनाउन तालिम तथा क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नमा खास चासो राखेको देखिँदैन । कर्णालीलाई पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्न ट्राभल एजेन्सीहरूलाई सार्वजनिक–निजी साझेदारी तथा कर छुटजस्ता योजनाहरूमार्फत प्रोत्साहन दिने सरकारी पहल भएको पाइँदैन ।
रणनीतिक कार्य योजना
प्राय पर्यटकहरू रारा ताल मात्र हेर्नका लागि लामो यात्रा गरेर फर्कने गर्दछन् भने अरू धेरै पर्यटकहरू एउटै ताल हेर्नका लागि मुगु पुग्नुपर्छ भन्ने सोचले नै हतोत्साहित हुन्छन् । यसको प्रमुख कारण, पर्यटकहरूसँग त्यही मार्गमा पर्ने पाण्डु गुफा, कनका सुन्दरी, पञ्चदेवल, विराट दरबार लगायत अन्य आकर्षक स्थानहरूको जानकारी नहुनु हो । यदि यस्ता गन्तव्यहरूको पर्याप्त प्रचारप्रसार भएमा पर्यटकहरूको बसाइ लम्बिन सक्ने र कर्णालीको पर्यटन अझै समृद्ध बन्न सक्ने सम्भावना रहेको देखिन्छ । त्यसैले, सम्भावित पर्यटकहरूलाई यस्ता स्थानहरूको अस्तित्वको बारेमा जानकारी गराउन ती क्षेत्रहरूको प्रचारप्रसार गर्नु अत्यावश्यक छ । साथै, कर्णाली प्रदेशको भौगोलिक बनावट बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, र्याफ्टिङजस्ता साहसिक पर्यटन गतिविधिहरूका लागि उपयुक्त रहेको छ । यसले कर्णालीलाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सक्छ । यस्ता गतिविधिहरूको सुरुआत, स्थानीय संस्कृतिको प्रवद्र्धन तथा प्रमुख पर्यटकीय गन्तव्यहरू नजिकैका अन्य पर्यटकीय क्षेत्रहरूको प्रचारले स्वत पर्यटकहरूको बसाइ लम्ब्याउँछ र आम्दानीमा उल्लेखनीय वृद्धि हुने सम्भावना रहन्छ । त्यस कारण, यस्ता पर्यटकीय गतिविधिहरूमा निजी क्षेत्रको लगानीमार्फत रारामा पर्यटकहरूको बसाइ अवधिमा ठूलो परिवर्तन ल्याउन सक्छ । यस्ता लगानीमा जोखिम न्यूनीकरण गर्नका लागि निजी क्षेत्रलाई प्रदेश र स्थानीय सरकारको पर्याप्त सहयोग र समर्थनको आवश्यक हुन्छ ।
त्यसैगरी राराको होटलहरूले स्थानीय उत्पादन र खाद्य वस्तुहरूलाई तिनको जैविक प्रकृति र मौलिक स्वादका आधारमा पर्यटकहरू माझ प्रवद्र्धन गरेमा त्यसले होटलको आकर्षण उल्लेखनीय रूपमा बढाउनुको साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउछँ । अर्कोतर्फ, स्थानीय युवाहरूमा पर्याप्त आतिथ्य तालिम र सीपको अभाव देखिन्छ भने भूगोलको कठिनाइ र कम पारिश्रमिकका कारण बाहिरी जिल्लाबाट दक्ष कर्मचारीहरू ल्याउनु व्यवहारिक देखिँदैन । त्यसैले, स्थानीय युवाहरूलाई आवश्यक तालिम तथा सीप विकास गरी पर्यटकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु अत्यावश्यक छ । यसले रोजगारी सिर्जना गर्नका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पुर्याउछ ।
अझैपनि, रारामा रहेका होटलहरूमा तातो पानी, हीटर, सफा र गुणस्तरीय खाना, शौचालय र कोठाको सरसफाइजस्ता आधारभूत सुविधाहरूको अभाव छ । यसको मुख्य कारण भनेको लगानीको प्रतिफल सुनिश्चित नभएको तथा लगानी फिर्ता हुन लामो समय लाग्ने भएकाले, लगानीकर्ताहरूललाई लगानीका लागि प्रोत्साहन नहूनु हो । त्यसैले, सरकारले पर्यटन व्यवसायहरूका लागि कर छुटजस्ता सुविधा वा आवास सुविधाहरू स्तरोन्नति गर्न अनुदान प्रदान गर्न सकेमा होटल व्यवसायीहरूलाई सुधारतर्फ लाग्न उत्प्रेरणा मिल्छ । यस्तो पहलले सम्पूर्ण पर्यटन पूर्वाधारमा सुधार ल्याई माथिल्लो कर्णाली क्षेत्रमा दीर्घकालीन रूपमा पर्यटकहरूको आकर्षण बढाउन सक्नेछ ।
निष्कर्ष
कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासमा अनेक चुनौती र अवरोधहरू भएतापनि, कर्णाली पर्यटन क्षेत्रमा अपार सम्भावना भएको देखिन्छ । त्यसैले, यस क्षेत्रको विकासका लागि स्थानीय सरकार, ट्राभल एजेन्सी लगायत पर्यटन क्षेत्रका प्रमुख सरोकारवालाहरूको साझा प्रयास आवश्यक हुन्छ । सरकारले पर्यटक आगमन संख्या, बसाई अवधि, खर्च गर्ने ढाँचा सम्बन्धि तथ्याङ्क संकलनतर्फ ध्यान आकर्षण गर्नुपर्छ , जसले होटलहरूलाई आवश्यक जानकारी उपलब्ध गराई अझ राम्रो सेवा र व्यवस्थापनमा सहयोग पुर्याउँछ । साथै, पर्यटकहरूको यात्रा अवधि बढाउनतर्फ ध्यान पुर्याउँदै, जुम्लादेखि रारासम्मको पदमार्गको प्रवद्र्धन गर्नु र उपयुक्त पदमार्गको विकास गर्नु आवश्यक छ । त्यसैगरी, स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई पनि पर्यटकहरूमाझ प्रभावकारी ढंगले प्रस्तुत गर्न सकेमा कर्णालीको पर्यटन क्षेत्रमा थप सकारात्मक प्रभाव पार्न सकिन्छ ।
(सुस्मी सापकोटाः लेखक ऋति फाउन्डेसनमा अनुसन्धान अधिकृतको रूपमा कार्यरत रहेकी छन् । ऋति फाउन्डेसनले जुम्लामा स्याउ, रारामा पर्यटन बजार प्रणाली विकासको सम्बन्धमा विभिन्न अध्ययन, अनुसन्धान एवम् पैरवीको काम गरिरहेको छ ।)
प्रकाशित मितिः २९ बैशाख २०८२, सोमबार ०५:०४

सुस्मी सापकोटा ।