कर्णालीमा खाद्यान्न अभाव नहुने

सुर्खेत: यो वर्ष कर्णाली प्रदेशमा खाद्यान्न अभाव नहुने भएको छ । अघिल्ला वर्षहरूमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षका प्रमुख चाडहरू दसैँ, तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ । खासगरी माथिल्लो कर्णाली जिल्लाहरूमा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । स्थानीय उत्पादन कम हुने ति जिल्लाहरूमा आयातित खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । जसले गर्दा चाडपर्वकै समयमा खाद्यान्न अभाव भएर नागरिकले समस्या भोग्दै आएका थिए । त्यही समस्यालाई मध्यनजर गर्दै यसपटक भने चाडपर्व आउनुअघि नै खाद्यान्न ढुवानी गरिएको छ । ‘दसैँ र तिहार अघि नै कर्णालीका माथिल्लो जिल्लाहरूमा खाद्यान्न ढुवानी भइसकेको छ, यो वर्ष कर्णालीमा खाद्यान्न अभाव हुँदैन’ संघीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख माधवप्रसाद मिश्रले भने, ‘अहिले कर्णालीका सबै डिपोहरूमा खाद्यान्न मौज्दात छ ।’

यसैगरी विभिन्न जिल्लाहरूमा चाडपर्व लक्षित सुपथ मूल्य पसलसमेत सञ्चालन गरिरहेको कम्पनीले कर्णालीका २१ वटा शाखा, डिपो र बिक्री केन्द्रमा गरेर २५ हजार दुई सय ७५ क्विन्टल खाद्यान्न मौज्याद रहेको जनाएको छ । कम्पनीले उपभोक्तालाई चाडपर्वका लागि २१ हजार क्विन्टल चामल, ६ हजार लिटर तेल छुट्याएको छ ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजार र अखाद्य वस्तुको आपूर्ति रोक्ने उद्देश्यले समिति विभिन्न स्थलगत अनुगमनमा आएको प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कर्णालीमा खाद्यान्न अभाव हुन नदिन रैथाने उत्पादनका वृद्धि गर्न कृषकलाई सहुलिएत दिइनुपर्ने बताएको छ । ‘रासायनिक मलको प्रयोग र कृषकलाई प्रोत्साहन नगरेसम्म खाद्यान्न अभावलाई टार्न सकिँदैन’ समितिका सदस्य कान्तिका सेजुवालले भनिन्, ‘रैथाने उत्पादनमा वृद्धि गर्ने कार्यक्रम ल्याएर कर्णालीलाई अर्गानिक बनाउन सपना पूरा गर्नुपर्छ ।’

सभापति अबदुल खानले उपभोक्ताको अधिकार सुनिश्चित गर्नका लागि सीमानामै गुणस्तर नापजाँच र विषादी परीक्षण प्रयोगशालाको व्यवस्था हुनुपर्ने बताए । ‘सीमा नाकामै गुणस्तर मापन नहुँदासम्म गुणस्तरिय बस्तुको आयात रोक्न सकिँदैन’ उनले भने, ‘कम्तीमा पालिकाको केन्द्रसम्म सहुलियत बजार तथा बिक्री केन्द्र नहुँदासम्म उपभोक्ताको अधिकारको संरक्षण सम्भव छैन ।’ औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरूको अनुगमन समेत गरेको समितिले सुर्खेतका सरोकारवाला निकायसँग दैनिक उपभोग्य वस्तुको अवस्था, बजार अनुगमन लगायतका विषयमा अन्तरक्रिया समेत गरेको छ ।

अन्तरक्रियामा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन नगरेसम्म कालोबजारी र कृतिम अभाव रोक्न नसकिने बताए । नागरिक समाजका अगुवा पिताम्बर ढकालले कालोबजारी, मूल्यवृद्धि रोक्न र म्याद गुज्रिएका उपभोग्य बस्तुको बिक्री वितरण रोक्नका लागि कानुनमै उपभोक्तालाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

प्रकाशित मितिः   १२ आश्विन २०८१, शनिबार ०५:०१