सुरक्षा चुनौती
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढिरहेको छ । बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रदेश सरकारले संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सिसी क्यामेरा जडानको काम अघि बढाउन लागिएको छ । वीरेन्द्रनगरलगायत संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिने छ । अहिले ती क्षेत्रहरूको पहिचान गर्ने काम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रहरीको प्राविधिक सहयोगमा क्यामेरा जडान गरिनेछ । सिसी क्यामेरा जडानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको छ । यो वर्ष वीरेन्द्रनगरमा सिसी क्यामेरा जडान गरिने र अर्को वर्षबाट अन्य जिल्ला तथा संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिने छ ।
शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सिसी क्यामेरा जडान गर्न लागिएको हो । वीरेन्द्रनगरमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामेराले सहयोग गर्ने विश्वास लिइएको छ । यो वर्ष वीरेन्द्रनगर नगरपालिकाले समेत नगरका मुख्य नाकामा सिसी क्यामेरा जडान गर्ने भएको छ । सुब्बाकुना, बाङ्गेशिमल, कपासे र बजारका मुख्य तथा बढी भिड हुने स्थानमा सिसी क्यामेरा जडान गर्न लागिएको हो । चालु आर्थिक वर्षमा सिसी क्यामेराको जडान तथा मर्मतका लागि २० लाख बजेट विनियोजन गरिएको छ । यो वर्ष नगरका मुख्य नाका र बजारका संवेदनशील स्थानमा सिसी क्यामेरा जडान गरिने छ । वीरेन्द्रनगरको मुख्य प्रवेशद्वारका रूपमा रहेका सुब्बाकुना, बाङ्गेशिमल, कपासेलगायतका स्थानमा सिसी क्यामेरा जडान हुने छ । नगरपालिकाले सिसी क्यामेरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने छ । यसअघि जडान गरिएका सिसी क्यामेराको मर्मतसमेत नगरपालिकाले गर्दै आएको छ ।
वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ६७ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । लामो समयदेखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा वीरेन्द्रनगर नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छ । प्रहरीका अनुसार अहिले २५ वटा क्यामेराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरु क्यामेराको कन्ट्रोल रूमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेका छन् । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको छ ।
प्रकाशित मितिः ४ आश्विन २०८१, शुक्रबार ०५:०३
सम्पादकीय ।