शिशुको सुरक्षा

कर्णालीमा अझै पनि २८ प्रतिशत शिशु घरमै जन्मिने गरेको पाइएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार प्रदेशभर २८ प्रतिशत शिशु घरमै जन्मिने गरेका हुन् । सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्म स्वास्थ्य संस्थामा हुने गरेको छ । नेपालमा ७९ प्रतिशत शिशुहरू स्वास्थ्य संस्थामा जन्मिने गरेका छन् । नेपालभर अझै पनि २१ प्रतिशत शिशु घरमै जन्मिने गरेका छन् । कर्णालीमा भौगोलिक विकटता, चेतनाको अभावका कारण घरमै सुत्केरी हुनेको संख्या धेरै छ । पछिल्लो एक दशकमा स्वास्थ्य संस्थामा शिशु जन्माउने महिलाको संख्या बढे पनि अपरेशनको माध्यमबाट शिशु जन्माउने क्रम पनि बढेको छ । नेपालमा पाँच मध्ये चार शिशुको जन्म दक्ष स्वास्थ्यकर्मीबाट हुने गरेको छ । दक्ष स्वास्थ्यकर्मीबाट हुने जन्म घरपरिवारको सम्पन्नतासँगै बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।

त्यसो त कर्णालीका बालबालिका कुपोषणको सिकार बनेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्यांक हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार ठूलो संख्यामा बालबालिका कुपोषण पीडित रहेको पाइएको हो । सर्वेक्षणअनुसार प्रदेशमा पाँच वर्षमूनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । नेपालभर २५ प्रतिशत बालबालिकामा उक्त समस्या देखिएकोमा कर्णाली अन्य प्रदेशकै तुलनामा समेत अग्रपंक्तिमा देखिएको हो । त्यस्तै नेपालभर आठ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ भने कर्णालीमा चार प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ । उक्त तथ्यांकअनुसार १५ देखि ४९ वर्षका १५ प्रतिशत महिलाहरूमा ख्याउटेपनाको समस्या देखिएको छ । प्रजनन् उमेरका महिलाहरूमा शरिरको उचाई अनुसारको तौल कम भएको पाइएको हो । बालबालिकामा नेपालभर १९ प्रतिशतमा कम तौलको समस्या देखिएको छ, जबकी कर्णाली प्रदेशमा २७ प्रतिशत बालबालिकामा कम तौलको समस्या देखिएको हो । प्रदेशमा ४० प्रतिशत ६ महिनादेखि ५९ महिनाका बालबालिका रक्तअल्पताबाट पीडित भएको तथ्यांकले देखाएको छ । यसैगरी १५ देखि ४९ वर्षका २१ दशमलव दुई प्रतिशत महिलाहरू रक्तअल्पताबाट पीडित भएका छन् ।

स्वास्थ्य संस्थामा प्रसूति गराइँदा सुरक्षित हुन्छ । आमा र शिशुको ज्यानको सुरक्षाका लागि पनि सरकारले समेत प्रसूतिका लागि स्वास्थ्य संस्थामा पु¥याउन प्रोत्साहन गर्दै आएको छ । त्यसका लागि भत्तासहितको व्यवस्था समेत गरिएको छ । तर कर्णालीमा अहिले पनि घरमै प्रसूति हुने अवस्था रहनुले यहाँका महिलाहरूका साथसाथै शिशुहरूको स्वास्थ्य पनि जोखिममा देखिन्छ । यस्तो अवस्थालाई न्यूनीकरण गर्दै सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा नै पु¥याउने अवस्था निर्माण गर्न जरुरी देखिन्छ ।

प्रकाशित मितिः   २४ भाद्र २०८१, सोमबार ०५:०३