१०औँ राष्ट्रिय खेलकुद अन्योलमा
सुर्खेत: तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेमा थप अन्योलता बढेको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक अन्योलमा पर्दा १०औँ राष्ट्रिय खेलकुदको कार्यविधि पास हुन सकेको छैन । युवा तथा खेलकुद मन्त्रीले अध्यक्षता गर्ने राखेप बोर्ड बैठकको मिति तय नहुँदा कार्यविधि पनि पास हुन नसकेको हो ।
राखेपले १४ दिनअघि युवा तथा खेलकुद मन्त्रालयमा कार्यविधि पठाएको थियो । मन्त्रालयका सचिव सुमनराज अर्यालले कार्यविधि निरीक्षणको काम सकिएको जानकारी दिए । ‘मन्त्रालयबाट हुने सम्पूर्ण कामहरू लगभग सकिएको छ । तर यो कार्यविधि पास गर्न राखेपको बोर्ड बैठक नै बस्नुपर्छ,’ उनले भने । राखेप बोर्ड बैठक कहिले हुने भन्ने अझै टुँगो लागेको छैन ।
१०औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर २ देखि ९ गतेसम्म हुने तय भएको छ । तर कतिपयले पूर्वाधार तयारीको काममा भइरहेको ढिलाइका कारण पूर्वनिर्धारित मितिमा हुनेमा शंका व्यक्त गरेका छन् । त्यसमाथि अहिलेसम्म कार्यविधि समेत पास हुन सकेको छैन । जसले गर्दा तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेमा पनि अन्योलता पैदा भएको छ ।
प्रकाशित मितिः २४ भाद्र २०८१, सोमबार ०५:०२
साझा बिसौनी ।