मातृ तथा शिशु स्वास्थ्य

कर्णालीमा २० वर्ष नपुग्दै गर्भवती बन्ने किशोरीको संख्या घट्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकले २० वर्ष मुनि गर्भवती बन्नेको दर क्रमिक रूपमा सुधार भइरहेको देखाएको हो । तथ्यांक अनुसार २०६७ सालमा २६ दशमलव ०५ प्रतिशत २० वर्ष मुनिका किशोरी गर्भवती भएका थिए । २०७७ मा उक्त तथ्यांक २४ दशमलव ८६ प्रतिशतमा झ¥यो । २०७८ मा २३ दशमलव ४५ प्रतिशत २० वर्ष मुनिका किशोरी गर्भवती भएका थिए । यसैगरी २०७९ मा २१ दशमलव ४० प्रतिशत किशोरी गर्भवती भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय कलिलै उमेरमा गर्भतवी बन्नेको संख्या घटिरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

मातृ मृत्युदर भने कर्णालीमा बढी छ । कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश बनेको छ । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको छ । दीगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश अस्पताल सुर्खेतमा नौ जना सुत्केरी हुन गएका आमाहरूले ज्यान गुमाएका छन् । सुर्खेत जिल्लामा सुत्केरीको समयमा हुने कूल मृत्युको ५७ प्रतिशत स्वास्थ्य संस्थामा पुगेपछि हुने गरेको तथ्यांकले देखाएको छ । त्यस्तै घरैमा सुत्केरी गराउँदा मृत्यु हुने महिलाको संख्या २६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

कर्णालीका बालबालिका कुपोषणको सिकार बनेका छन् । पछिल्ला केही वर्षयताको सरकारी तथ्यांक हेर्दा कर्णालीमा कुपोषणको दर पनि निकै डरलाग्दो देखिएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार ठूलो संख्यामा बालबालिका कुपोषण पीडित रहेको पाइएको हो । सर्वेक्षणअनुसार प्रदेशमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । नेपालभर २५ प्रतिशत बालबालिकामा उक्त समस्या देखिएकोमा कर्णाली अन्य प्रदेशकै तुलनामा समेत अग्रपंक्तिमा देखिएको हो । त्यस्तै नेपालभर आठ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ भने कर्णालीमा चार प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको छ । उक्त तथ्यांक्अनुसार १५ देखि ४९ वर्षका १५ प्रतिशत महिलाहरूमा ख्याउटेपनाको समस्या देखिएको छ । प्रजनन् उमेरका महिलाहरूमा शरिरको उचाई अनुसारको तौल कम भएको पाइएको हो ।

प्रकाशित मितिः   १३ भाद्र २०८१, बिहीबार १०:१७