क्यान्सर उपचार सेवा
सुर्खेत जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको छ । संघीय सरकारको ‘एक प्रदेश, एक जिल्ला’ बाट सेवा विस्तार गर्ने लक्ष्य अनुरूप जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने भएपछि कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट क्यान्सरका रोगीले उपचार पाउने भएका हुन् । संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको छ । क्यान्सर सरुवा रोग नभए पनि यसको प्रकोप बढ्दो छ । बिरामीको चाँप कम गर्न सबै प्रदेशमा सेवा विस्तार गर्न लागिएको भरतपुर क्यान्सर अस्पतालले जनाएको छ । सात वटै प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङ्ग सेवा विस्तार गर्ने योजना बनाएको हो ।
सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा सुर्खेत जिल्लामा एक सय दश जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो । गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ । सहुलियतका लागि गत वर्ष प्रदेश सरकारले कार्यालयलाई दश लाख बजेट पठाएको छ । यसैगरी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत् रकम दिने गरिएको निर्देशनालयले जनाएको छ ।
क्यान्सरका विरामी बढिरहेको मयमा हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शैड्ढयाका क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने भएको छ । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो । कर्णाली प्रदेशको सुर्खेतबाट उक्त सेवा दिइनेछ । हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ । भौगोलिक विकटताका कारण कर्णालीका अधिकांश बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका छन् । भौगोलिक विकटताका कारण समयमै क्यान्सर रोगको पहिचान नहुनु प्रमुख कारण रहेको देखिन्छ । अन्य प्रदेशको तुलनामा कर्णालीका अधिकांश बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका छन् । उक्त समस्यालाई समाधान गर्न पनि क्यान्सर अस्पतालको सेवा विस्तारले सघाउ पु¥याउनेछ ।
प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार १०:३३
सम्पादकीय ।