मनसुनजन्य विपद्मा दश जनाको मृत्यु

सुर्खेत: मनसुन सुरु भएयता विपद्मा परेर कर्णालीमा दश जनाले ज्यान गुमाएका छन् । पछिल्लो दुई महिनामा बाढी र पहिरोलगायत मनसुनजन्य विपद्बाट १० जनाको मृत्यु भएको हो । यो गत जेठ २८ गतेयताको तथ्यांक हो ।

यस्तै विपद्का घटनामा ५५ जना घाइते भएका छन् भने एक सय ४५ परिवार विस्थापित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । यो अवधिमा दुई सय ५७ पशु चौपायको मृत्यु भएको छ भने अन्य भौतिक क्षतिसमेत भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशसभामा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यामलाल कँडेलले विपद् पूर्वतयारी कार्ययोजनाअनुसार विपद् न्यूनीकरणमा सरकारले काम गरिरहेको बताएका छन् । ‘विपद् न्यूनीकरण सबै तहका सरकार तथा सबै निकायहरूले ध्यान दिनुपर्छ,’ उनले भने, ‘हामी बिचको सरकार हौँ, कतिपय साधन, स्रोत र पहुँचको अभावमा विपद् न्यूनीकरणमा प्रभावकारिता हुन सकेको छैन । त्यसमा मेरो ध्यान गएको छ ।’

कँडेलले विपद् जोखिम सामूहिक दुर्घटना बिमा बापत ६ करोड ९० लाख रकम दिइएको बताए । यस्तै गत आर्थिक वर्षमा विपद् घटनामा परी ज्यान गुमाएका एक सय ६६ जनाका आफन्त तथा हकदारहरू तीन करोड ७२ लाख बिमा रकम भुक्तानी गरिएको छ । कँडेलले गत वर्ष मनसुनजन्य विपद्को आपतकालीन उद्धार तथा राहतका लागि भनेर नेपाली सेनालाई प्रदेश सरकारका तर्फबाट २२ लाख ७६ हजार भुक्तानी गरिएको पनि बताए । साथै गत वर्ष नै जिल्ला विपद् समितिहरूलाई विपद् उद्धार, राहत कार्यक्रमका लागि पठाइएको मध्ये चार करोड ४५ लाखभन्दा बढी रकम अहिले पनि कार्यालयमा रहेको र उक्त रकम पीडितहरूलाई वितरण गर्न ताकेता गरिरहेको पनि उनले जनाए ।

विपद्बाट घरबारविहीन भएका नागरिकका लागि यो वर्षदेखि सरकारले नयाँ योजना ल्याएको छ । मुख्यमन्त्री कँडेलका अनुसार विपद्बाट निजी आवास क्षतिका कारण नागरिक घरबारविहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि प्राथमिकताका आधारमा निजी घरको जोखिम बिमा कार्यक्रम ल्याइएको छ । उक्त कार्यक्रमका लागि पाँच करोड रकम समेत विनियोजन गरिएको बताए ।

प्रकाशित मितिः   २९ श्रावण २०८१, मंगलवार १०:३२