सघन सहरी विकास कार्यक्रम: योजना सम्पन्न गर्न म्याद थप्ने तयारी
सुर्खेत: संघीय सरकारले वीरेन्द्रनगरमा कार्यान्वयन गरेको सघन सहरी विकास कार्यक्रमको ६० प्रतिशत भौतिक प्रगति भएको छ । कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १३ सम्म एकीकृत सहरी पूर्वाधार विकासका काम भइरहेको छ ।
१३ वटा वडाका ४७ वटा टुक्रे सडकका योजनालाई एकै ठाउँमा राखेर काम थालिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यक्रमअन्तर्गत १६ किलोमिटर सडक निर्माण हुनेछ । सडक स्तरोन्नति र कालोपत्रेसम्मको काम थालिएको हो । हालसम्म चार किलोमिटर सडक कालोपत्रे भएको छ भने सात किलोमिटर सडकको सव–वेसको काम सकिएको छ । पूर्वाधार निर्माणको ६० प्रतिशत काम सकिएको कार्यालयका इन्जिनियर गोकर्ण थापाले बताए । अब मेसिनले गर्ने काम मात्र बाँकी रहेको उनको भनाइ छ ।
४७ वटै सडकको स्तरोन्नतिका लागि सम्झौता भएको छ । २०७९ माघ १० गते खड्का के.एस बाँकेले सघन सहरी विकास कार्यक्रम अन्र्तगतको एकीकृत सहरी पूर्वाधार विकासका सडक निर्माणको जिम्मा लिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले खड्का के.एस बाँकेसँग ३० करोडमा साना–ठूला गरी ४७ योजनाको ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०८१ भदौ १० गते ४७ योजना निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ । असोजसम्म पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको जनाइएको छ । कार्यालयका अनुसार पूर्वाधार निर्माणको ६० प्रतिशत काम सकिएको छ भने ४० प्रतिशत काम बाँकी छ । अधिकांश काम मेसिनले गर्ने भएकाले अब रफ्तारमा काम हुने कार्यालयका इन्जिनियर थापा बताउँछन् ।
म्याद थपका लागि निवेदन पेस
खड्का के.एस बाँकेले म्याद थपका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतमा निवेदन पेस गरेको छ । पूर्वाधार निर्माणको ४० प्रतिशत काम बाँकी नै रहेका लागि म्याद थपका लागि कार्यालयमा निवेदन पेस भएको कार्यालयका इन्जिनियर थापाले बताए । उनका अनुसार कार्यालयले कामका आधारमा म्याद थप गर्ने तयारी भइरहेको छ । ‘अब ४० प्रतिशत काम बाँकी छ, करिब ६ महिना म्याद थप्दा काम सम्पन्न हुने देखिन्छ, कार्यालयले कामका आधारमा म्याद थप गर्ने तयारी गरिरहेको छ’ थापाले भने ।
जाजरकोटको छेडागाडमा सघन सहरी विकास कार्यक्रम
यसैबीच जाजरकोटको छेडागाड नगरपालिकामा पनि सघन सहरी विकास कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि कार्यक्रम कार्यान्वयन हुनेछ । एकीकृत पूर्वाधार निर्माण गर्ने संघीय सरकारको नीति अनुरूप कार्यक्रम सुरु गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
अहिले ठेक्का सम्झौता भइ निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ । २०८१ असार २५ गते पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता गरिएको कार्यालयका इन्जिनियर थापाले जानकारी दिए । २०८२ फागुन २५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । ११ करोड ९४ लाखमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । नगरपालिकाका तीन वटा वडामा पूर्वाधार निर्माण गरिनेछ । वडा नं. १३ को वडा कार्यालयको भवन निर्माण गरिने कार्यालयले जनाएको छ । अन्य वडामा एक÷एक किलोमिटर सडक निर्माण गरिनेछ ।
संघीय सरकारले झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सघन सहरी विकासको योजना बनाएको हो । आर्थिक वर्ष २०७९÷०८० देखि उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण, स्तरोन्नति, सतह नाली, ढल निर्माण, बसपार्क निर्माण, सार्वजनिक पार्क÷खुला क्षेत्र विकास तथा संरक्षणलगायतका आर्थिक, सामाजिक र भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।
प्रकाशित मितिः २९ श्रावण २०८१, मंगलवार १०:२९

रजनी याेगी ।