रणनीति बनाउँदै कांग्रेस

सुर्खेत, २० चैत ।
आसन्न वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पकड जमाउनका लागि नेपाली कांग्रेस सुर्खेतले चुनाव लक्षित रणनीति बनाउन सुरु गरेको छ । आइतवारदेखि कांग्रेसले आप्mना भ्रातृ तथा शुभेच्छुक संघहरूसँग बसेर छलफल गरी स्थानीय तहको चुनावलाई कांग्रेसको पक्षमा पार्न परिचालित हुने जनाएको छ ।
नेपाल प्रेस युनियन, प्राध्यापक संघ, उद्योगी व्यवसायी, कानुन व्यवसायी लगायतसँग कांग्रेसले व्यापक छलफल गरेको छ । संविधानसभाको निर्वाचनमा कांग्रेस एक भएर जसरी जिल्लाका तीन वटै क्षेत्र कब्जा गर्न सफल भएको थियो, त्यसैगरी यसपटकको स्थानीय तहको निर्वाचनमा पनि पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकालाई कांग्रेसकै पक्षमा पार्न सबै आ–आफ्नो स्थानबाट परिचालित हुनुपर्ने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।
विपक्षीहरूले कांग्रेसलाई हतोत्साहित बनाउन विभिन्न षड्यन्त्रहरू गर्नसक्नेतर्फ इंगित गर्दै सभापति रेग्मीले रत्तिभर विचल्लित नभइ कांग्रेसलाई विजयी बनाउन लाग्न सुझाव दिए । कांग्रेसले यही चैत २५ गतेदेखि वडा तहबाट उम्मेदवार छनौट सुरु गर्ने र वैशाख ७ गतेभित्र केन्द्रमा बुझाउने भन्दै उनले पार्टीको आधिकारिक उम्मेदवारहरूका पक्षमा सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे । कांग्रेस सुर्खेत क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति नारायण कोइरालाले अनावश्यक विषयवस्तुलाई महŒव नदिन सुझाव दिँदै कांग्रेसको विरासतलाई कायमै राख्न सबैले जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । कांग्रेसले यसपटकको निर्वाचनमा सामाजिक सञ्जाललाई पनि सशक्त बनाउने भएको छ ।
यसैबीच कांग्रेसले यही चैत महिनाभित्र सुर्खेतमा प्रदेशस्तरीय सभा गर्ने भएको छ । केन्द्रीय समितिले सात वटा प्रदेशका मुख्य सहरमा चुनाव लक्षित सभा गर्ने निर्णय अनुसार सुर्खेतमा प्रदेश नं. ६ को सभा यही चैत महिनाभित्र गर्ने भएको हो । सभामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७३, सोमबार १३:४७