प्रहरीमा मुद्दा दर्ता

सुर्खेत, २० चैत ।
भान्सा छोएको निहुँमा दलित बालकलाई कुटेको आरोप लागेकाहरूविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । बराहताल गाउँपालिका अन्तर्गत कुनाथरीका–९ वर्षीय बालकमाथि कुटपिट भएको थियो । सोही ठाउँ निवासी बाटु शाही र उनका छोरो भरत शाहीविरुद्ध आइतवार प्रहरीमा मुद्दा दर्ता भएको हो ।
गत बुधवार भान्सा छोएको भन्दै दलित बालक भीमबहादुर विकमाथि कुटपिट भएको थियो । पीडित बालकका आमा जयसरा किकले आइतवार पीडकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । बाटुलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने भरत शाही फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मुद्दा दर्ता भएसँगै कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीको
भनाइ छ । जातीय भेदभाव तथा छुवाछुत शीर्षकमा मुद्दा दर्ता भएको हो । यसैबीच उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । नेपाल दलितमुक्ति मोर्चाले विज्ञप्ती निकालेर घटनाको विरोध गरेको हो । मोर्चाले तत्काल घटनाको न्यायिक छानविन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो ।

प्रकाशित मितिः   २१ चैत्र २०७३, सोमबार १३:४७