‘सोल्टिनीहरूसँग खुब दोहोरी खेल्थें’

यज्ञबहादुर गुरुङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, शाखा सुर्खेतका निवर्तमान अध्यक्ष हुन् । गीतकार एवम् संगीतकार गुरुङ्गले सरकारी पेसामा प्रवेश गरी ३१ वर्षसम्म सेवा गरे । अहेबको रूपमा स्वास्थ्य सेवामा प्रवेश गरेका उनी स्वास्थ्य शिक्षा अधिकृत हुँदै अवकाश लिए । वि.सं. २०१६ साउन १ गते बुबा कृष्णबहादुर गुरुङ्ग र आमा गौरी गुरुङ्गको माइला छोराको रूपमा जन्मिएका उनी बाल्यकालदेखि नै संगीतमा रुचि राख्थे । बहुप्रतिभाका धनी गुरुङ्गले सुर्खेतको लोक संस्कृति संरक्षणमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपाल स्वास्थ्यकर्मी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका संस्थापक सदस्य गुरुङ्गले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः

मेरो जन्म वि.सं. २०१६ साउन १ गते लेखफर्साको फर्सा गाउँमा (हालको लेकवेशी नगरपालिका) मा भएको हो । म पाँच भाइ र दुई बहिनीमध्ये माइलो छोरा हुँ । मेरो बुबाले दुई विवाह गर्नुभएको थियो । हाम्रो परिवार ठूलो थियो । त्यस बेलामा अहिलेको जस्तो जताततै सडकको सुविधा थिएन् । कहिले काहीं नेपालगन्ज–सुर्खेत प्लेन उडेको हेर्न पाइन्थ्यो । हामी त पैदल नै हिँड्ने गर्दथ्यौं । चप्पल जुत्ता लगाउने जमना थिएन् । खाली खुट्टा पैदल हिँड्नुपथ्र्यो । कपडा पनि हाप पाइन्ट मात्र लगाउन पाइन्थ्यो । टेलिङको सट लगाउँथ्यौं ।
जमाना अनुसार मेरो बाल्यकाले राम्रोसँग नै बित्यो । घरमा खानलाउन दुःख थिएन् । मेरो बुबा पूर्वी क्षेत्रको जिम्मवाल हुनुहुन्थ्यो । सुर्खेतको पूर्वी क्षेत्र जग्गाको तिरो उठाउने जिम्मा बुबालाई पञ्चायतकालमा दिइएको थियो । उहाँ नै मालपोत कार्यालय भने पनि हुन्थ्यो । जग्गाहरू पास गर्ने काम पनि बुबाले गर्नुहुन्थ्यो । यो काम हाम्रो पुर्खाले पहिलेदेखि नै गर्दै आउनुभएको हो रे । त्यसकारण पनि दुःख भने भोग्नु परेन ।
पढ्न जाँदा धेरै टाढाको बाटो हिँडेर पढ्न जानुपर्दथ्यो । माध्यमिक तह मैले गुमीको आनन्द माविमा पढेको हुँ । त्यहाँ जान धेरै टाढा थियो । दाइ र म बेसी गुयलाघारीमा बसेर पढ्थ्यौं । बिहानै हिँड्नुपथ्र्यो र साँझ मात्र आइपुगिन्थ्यो । विद्यालय जान त्यस्तै ३ घण्टा जति लाग्थ्यो । म पढाइमा राम्रो थिएँ । २०३३ सालमा एसएलसी पास गरेको हुँ । बाल्यकालमा म अलि गम्भीर स्वभावको थिएँ र चनाखो पनि थिएँ । मानिस भए पछि एउटामा मात्र होइन सबै विषयमा ज्ञान राख्नुपर्छ र सबै विषयमा जान्ने हुनुपर्छ भन्ने मेरो भावना थियो । व्यवहारिक बन्नुपर्छ भन्ने सोचेको थिएँ । हामी दाइ र म एक्लै बस्दा पनि धेरै व्यवहारिक कुराहरू सिकेको थिएँ । बिहान खाना पकाएर खाएर विद्यालय जाने र साँझ आएर खान पकाउने काम हामी आफैले गथ्र्यौं ।
अहिलेको समाज र पहिलेको जमाना धेरै फरक छ । पहिलेको समाजमा इमान्दारिता थियो । अरुको बिर्गानु हुँदैन, चोर्नु हुँदैन भन्ने सोच सबैमा हुन्थ्यो । गाउँमा पहिले सदरी लगाउने चलन थियो । काठले बनाएको घरहरू हुन्थे । बाहिर दलानमै सदरीहरू मान्छेहरूले झुण्डाएका हुन्थे । सदरीमा नै पैसा राख्छन् भन्ने हामीलाई थाहा हुन्थ्यो तर हामीले पैसा चार्ने काम कहिल्यै गरेनौं । गाउँमा कसैले पनि चोर्दैनथे, सबै इमान्दार थिए । अहिले समय त्यस्तो छैन ।
म सानैदेखि नाँच्न र गाउनमा रुचि राख्थें । कसैको विवाह होस् या पूजा नाँच्न र गाउनका लागि अघि सरिहाल्थें । दोहोरी खुब गाइयो । तीजमा, गाउँघरमा हुने विवाह र पूजामा रातभर दोहोरी खेलेको याद अझै पनि आउँछ, त्यो सम्झिंदा रमाइलो लाग्छ । सोल्टिनीहरूसँग दोहोरी खेलेको पनि सम्झना छ । ती दिन अत्यन्तै रमाइलो थिए । नाटकहरू खेल्ने, गाउँघरमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने गर्दथ्यौं । गोठालो जाँदा रमाइलो हुन्थ्यो । मलाई खेलकुदप्रति पनि रुचि थियो । म विद्यालयको सबै खेलको टीम क्याप्टेन थिएँ । मेरो नेतृत्वमा खेलकुद प्रतियोगिताहरू हुन्थे । म आफै हाइजम्प, लमजम्प र त्रिपलजम्पको जिल्लामा नै सेकेण्ड खेलाडी थिएँ । हाइजम्प, लमजम्प र त्रिपलजम्पमा चक्र केसी प्रथम हुनुहुन्थ्यो । मेरो बुबा बक्सर हुनुहुन्थ्यो । दाइहरू पनि खेलाडी । त्यसकारण पनि म खेलाडीमा राम्रो थिएँ । बुबाले हामीलाई भलिबल घरमै सिकाउनुहुन्थ्यो ।
बुबाले घोडा पाल्नुभएको थियो । मैले घोडा चराउने गर्थें । खेतहरू ठाउँ–ठाउँमा थिए । एक दिन आमाले खेतमा काम गर्ने मान्छेहरूलाई खाजा पु¥याउन पठाउनुभयो । म त जहरेमा रहेको खेतमा गएछु । त्यहाँ खेतमा काम गर्ने मान्छेहरूलाई भेटाइनँ । अनि घोडा चराएर साँझ घर फर्किदा काम गर्ने मान्छेहरूले खाना समेत खाइसके छन् । आमाले गाली गर्नुभयो ।
साथीभाइहरू मिलेर गाउँघरमा काँक्रा र केरा चोरिन्थ्यो । कहिले काहीं केरा चोर्दाचोर्दै कुकुरले थाहा पाएर भुक्दै आउँथे । कुकुरको डरले केराकै बुटामा चढिन्थ्यो तर चिप्लो भएको कारणले धेरै बेरसम्म रुखमा टिक्न सकिदैन्थ्यो । चिप्लेर भुइँमा खसिन्थ्यो अनि कुकुर आफै तर्सिएर भाग्थे । बर्खामा सर्पको डर हुन्थ्यो तर पनि झाडीमा ढुङ्गा हानेर पनि फलफूल, काँक्रा चोरेर खाइहाल्थ्यौं । त्यसरी अरुको सबै सखापै पार्ने गरी त चोरेनौं, अलि–अलि मात्र हो चोरेको । रमाइलोको लागि । त्यसबेलाको बाल्यकाल त स्वर्ग जस्तै लाग्थ्यो । कहिले काहीं स्वर्ग भनेको यही जस्तो लाग्थ्यो ।
विभिन्न विधामा मेरो रुचि र ज्ञान भए पनि मलाई सानैदेखि डाक्टर बन्न मन लाग्थ्यो । समाज सेवाप्रति रुचि थियो । तर हाम्रो समुदायमा भर्ती हुनुपर्छ, लाहुरे हुनुपर्छ भन्ने गर्थे । मेरो मन भने त्यतातिर गएन । केही परिवर्तन गर्नुपर्छ भन्ने भावना मेरो थियो । डाक्टर पढ्न भनेर एसएलसीपछि काठमाडौं गएको थिएँ तर नाम ननिस्केर आएँ । पछि सीमए पढेर केही समयसम्म हेल्थपोष्टमा काम पनि गरें । २०४१ सालमा अहेबमा नाम निकालेर सेवा पनि गरें । पछि बढुवा भएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य शिक्षा अधिकृतको रूपमा काम गरें । अहिले अवकाश लिएर बसेको छु । सबैबाट सम्मान र प्रशंसा पाउँदा खुशी लाग्छ । जिन्दगीको लामो कालखण्ड पार गरिसक्दा कहिले काहीं विगतको सम्झना आउँछ । त्यो बालापन सम्झिँदा आनन्दानुभूति हुन्छ ।

प्रकाशित मितिः   २१ चैत्र २०७३, सोमबार १३:४६