चुनावअघि पुनस्र्थापना नभए मतदानमा भाग नलिने चेतावनी

सुर्खेत, २० चैत ।
सुर्खेतका बाढीपीडितले आउँदो स्थानीय तहको चुनाव बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरूले आफूहरूको पुनस्र्थापना नभएसम्म चुनावमा नो भोट को (कसैलाई पनि मतदान नगर्ने) चेतावनी दिएका हुन् । जिल्लाका विभिन्न अस्थायी शिविरमा पाल टाँगेर बस्दै आएका उनीहरूले पुनस्र्थापनामा राजनीतिक दलहरूले बेवास्ता गरेकाले चुनावमा कसैलाई पनि मतदान नगर्ने बताए ।
जिल्लामा स्थानीय चुनावको रौनक बढी रहँदा बाढीपीडितहरू भने बिहान र बेलुकीको छाक टार्ने जोहो गर्नमै व्यस्त छन् । विगत तीन वर्षदेखि आफूहरू शिविरमा भोकभोकै रात बिताउँदासमेत दलहरूले कुनै चासो नदिएको भन्दै विस्थापितहरू आक्रोशित बनेका छन् । कुनै पनि दल र नेताले आफूहरूको पुनस्र्थापनामा ध्यान नदिएकाले चुनावमा भोट हाल्नुको कुनै अर्थ नभएको विस्थापितहरू बताउँछन् । चुनाव नजिकिंदै गर्दा दल र तिनका नेताहरू भोट माग्न आउन थालेको भन्दै बाढीपीडितले आफूहरूको पुनस्र्थापना नहुँदासम्म कसैलाई पनि मत नदिने अडान लिएका हुन् ।
आगामी वैशाख ३१ गतेको स्थानीय चुनावको लागि दलहरूले उम्मेदवार घोषणा गर्ने र प्रचार–प्रसारलाई पनि तीव्रता दिएका छन् । तर जिल्लाका विभिन्न अस्थायी शिविरमा बस्दै आएका सयौं परिवारलाई चुनावको रौनकले छुन सकेको छैन । शिविरका अधिकांश पुरुषहरू छाक टार्ने उपाय नभएपछि मजदुरीका लागि भारत गएका छन् । महिला र बालबालिकाहरू पनि शिविरमै गिट्टी कुट्ने काममा व्यस्त छन् । तीन वर्ष पहिले साउनमा भेरीमा आएको बाढीले घरबारी बगाएपछि गिरीघाटस्थित शिविरमा बस्दै आएकी सुश्मा नेपालीले भनिन्, ‘हामीलाई के को चुनाव ? कसैलाई पनि भोट हाल्दैनौं । कुन पार्टीले हाम्रो घर बनाइ दिएको छ र, अब चुनावमा भोट हाल्न जानु ?’ दुई छाक टार्न मुस्किल भएको र जंगलको बासले गर्दा जीवन नै कष्टकर बनेको भन्दै उनले स्थानीय चुनावमा कुनै पनि दल र कुनै पनि नेतालाई मत नदिने बताइन् ।
आफूहरूको पुनस्र्थापनामा बेवास्ता गरेको भन्दै विस्थापितहरू दलहरूप्रति आक्रोशित बनेका छन् । उनीहरूले दलहरूलाई भोट माग्दै शिविरमा नआउनसमेत आग्रह गर्ने गरेका छन् । समयमा नै पुनस्र्थापना नहुँदा बाढीपीडित परिवार अहिले जिल्लाको छिन्चु, वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्र, गिरीघाटस्थित जंगल र बावियाचौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । दाताले तीन वर्ष पहिला दिएका त्रिपाल पनि च्यातिएका छन् । जसको परिणाम उनीहरूले वर्षातमा थप हैरानी भोग्नु परेको छ । सरकारले केही समय पहिला बाढीपीडितलाई पनि भूकम्पीडित सरह राहत दिने घोषणा गरेको थियो । यद्यपि उनीहरूले हालसम्म पाएका छैनन् । ‘हामीलाई समस्या पर्दा दलहरू गुमनाम भए, आजसम्म एक जना नेता पनि शिविरमा फर्केर आएनन्’ विस्थापित कौशीला नेपालीले भनिन्, ‘अब उनीहरूलाई भोट दिएर के फाइदा ? भोट दिएर हाम्रो पेट भरिने छैन । भोट चाहिने भए पहिला हाम्रो पुनस्र्थापना गर, नत्र भोट हाल्न जान्नौं ।’
बढ्दो गर्मीले शिविरमा त्रिपालको बास थप कष्टकर बन्दै गएको छ । छाक टार्ने अर्को उपाय नभएपछि विस्थापित रामबहादुर सुनारले शिविरमै आरन व्यवसाय सुरु गरेका छन् । गर्मीले उनको निधारबाट पसिना बगिरहेको थियो । उनले भने, ‘छाक टार्नलाई खाद्यान्न छैन, बास बस्ने त्रिपाल पनि च्यातिए । जंगलमा छोराछोरीको भविष्य अन्धकार बनेको छ, खै कुन दल र नेताले हाम्रो समस्या देखे ?’ उनले आफूहरूलाई चुनाव र राजनीतिक दलको कुनै मतलब नभएको सुनाए । ‘जबसम्म हाम्रो पुनस्र्थापना र गाँसबासको टुङ्गो लाग्दैन, तबसम्म हामी भोट हाल्दैनौं’ उनले थपे, ‘हामीलाई कुनै दलप्रति मोह छैन, हाम्रा समस्या कसैले बुझ्दैनन् । बरु जसले पुनस्र्थापना गर्छ, उसैलाई मत दिनेछौं ।’ उनले त्यसका लागि पहिला आफूहरूको पुनस्र्थापना हुनुपर्ने अनि मात्र मतदानमा भाग लिने जनाए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले पनि करिब आठ सय परिवार अस्थायी शिविरमा बसिरहेका छन् । अधिकांशले जग्गा र घर निर्माणका लागि पहिलो किस्ता लिएको भए पनि उक्त रकम जग्गा खरिदको साटो ऋण तिरेर सकेका छन् । समयमा नै पुनस्र्थापना नहुँदा विस्थापितहरूले छिमेकीसँग ऋण सापटी गरेर छाक टार्दै आएका छन् । पुरुषहरू कालापहाड पसेका छन् भने महिलाहरू शिविरमै गिट्टी कुटेर जीविका चलाइरहेका छन् ।
पछिल्लो समय गिट्टी पनि बिक्री हुन छोडेको भन्दै उनीहरूले छाक टार्न समस्या भएको गुनासो गरे । पुनस्र्थापनामा ढिलाइ भएपछि विस्थापितहरूले स्थानीय चुनावमा भाग नलिने साझा धारणा बनाएका छन् । यद्यपि त्यो भन्दा पहिला नै आफूहरूको पुनस्र्थापनाको प्रक्रिया सुरु भएमा भने मतदानमा भाग लिनसक्ने उनीहरू बताउँछन् ।

प्रकाशित मितिः   २१ चैत्र २०७३, सोमबार १३:४९