अराजक यात्रा

 

आवधिक निर्वाचनलाई लोकतन्त्रको एक सुन्दर पक्ष भनिन्छ । निर्वाचन परिणामबाट आएका ठूलाठूला दललाई तिगडमबाट लाखापाखा पार्दै र पटकपटक समीकरण फेर्दै तेस्रो दलले नै अवैधानिक ढंगबाट सरकार चलाएर दुनियाँमा तमासा देखाउनु त्यही लोकतन्त्रको कुरूप पक्ष हो कि होइन ?

भाषण गर्न मन नपराउने चुपचाप काम गरेर परिणाम देखाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह विश्व मञ्चमा चर्चित छन् । सत्ता राजनीतिले तिनै शाहलाई थुन्नका लागि सुरक्षा निकायलाई समेत डाकेर गोप्य बैठक गर्छ । ‘सिंहदरबार जलाउँछु भनेर के भयो ? जलाएको त छैन नि । लोकतन्त्रमा बोल्ने मान्छेलाई थुन्न पाइन्न’ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले असहमति जनाए । देउवासँगै जनमतका अध्यक्ष डा. सिके राउतले पनि ठाडो विरोध गरेपछि सत्ता राजनीति हच्किएको थियो भनेर डा. राउतबाट नै यो विषयको सार्वजनिक रूपमा उजागर भइसकेको छ । देशको प्रधानमन्त्रीले सार्वजनिक रूपमा पाँच हजार मान्छे मारेको जिम्मा लिने तर बोलेको अभियोगमा मेयरलाई थुन्न तम्सने कति सम्मको अराजकता ! यस्तो अराजक गतिविधिले सत्तासँग आफ्नो आलोचना सहने तागत रहेनछ भन्ने पुष्टि हुँदैन र ?

प्रदेश सरकार गठन र विघटनको मामिलामा सभामुख समेत विश्वासको मत दिएको विषयमा सर्वोच्च अदालतले अवैधानिक ठहराइ फैसला गरेको अवस्था विद्यमान हुँदाहुँदै केन्द्रीय सत्ताको निकृष्ट इशारा बमोजिम अन्य प्रदेशमा फेरि त्यस्तै गतिविधि दोहोरीनु भनेको कानुन नटेर्नु हो कि होइन ? सत्ताको इच्छा र आदेश बमोजिम प्रदेश सरकार ढल्नु र घरीघरी समीकरण फेरबदल भइरहनु भनेको संविधान लत्याउनु हो कि होइन ?

बालुवामा पानी हाले बराबर राज्यको ढुकुटी बर्बाद पार्नु हो कि होइन ? जसको शक्ति उसकै भक्तिमा संविधान, ऐन, कानुनलाई तमासा बनाइदिँदा अराजकता मौलाउँछ कि मौलाउँदैन ? यी तमाम जायज प्रश्नको उचित जवाफ दिने ल्याकत राजनीतिक दलसँग छैन ।

संघीयताको अवधारणाको तथ्य बुझ्दा केन्द्रतिर भाग हिस्सा खोज्ने दोस्रो तहका नेतालाई टाकुरे राजा बनाएर थन्काउने रणनीति मात्रै हो भनी जनसाधारणले हिजो भन्दै आएको कुरा समयले आज सत्य सावित गरिदिएको छ । राजनीतिक दलका केही जिम्मेवार नेताहरूले संघीयता यो देशका लागि बोझ मात्रै रहेछ खारेजभागी छ भनिरहेको अवस्थामा ठूला दलपतिहरू प्राय चुपचाप छन भने माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मात्र बचाउका नाममा निरन्तर खण्डन गरिरहन्छन् । देश विकासमा संघीयताको ठूलो महŒव छ भनी शब्द–शब्दमा जतिसुकै फुलबुट्टा भरे पनि अब कोही पत्याउन तयार छैनन्, किन कि आफन्तलाई व्यवस्थापन गर्न चोरबाटोबाट ल्याइएको अवधारणा हो भन्ने बुझाइ छ सबैमा । आर्थिक रूपमा देश जतिसुकै जर्जर भएपनि दाहाललाई संघीयताको आवश्यकता हुनसक्छ । किन भने दाहाल परिवारका कारण माओवादीमा निरन्तर पहिरो गइरहेको अवस्थामा कार्यकर्तालाई अड्याउन थाम्न भाग पु¥याउन र राजनीतिक गतिविधि देखाउन पार्टीलाई जसरी पनि जोगाइराख्नु पर्ने अवस्था छ ।

वैकल्पिक शक्तिको रूपमा जनताको विश्वास बढ्दै गएको माओवादी गतिविधि र आस्थामा दाहालको महŒवकांक्षा तथा परिवारवादले कसरी तहसनहस पा¥यो भन्ने सवालमा जरैदेखि संक्षिप्त चर्चा गरौं ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि राष्ट्रिय जनमोर्चाबाट सांसद भएर बौद्धिक व्यक्तित्वको पहिचान बनाइसकेका डा. बाबुराम भट्टराई समेतले माओवादी पार्टीका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रीय मागसहितको विज्ञप्ति बुझाएर २०५२ सालदेखि भूमिगत भएको थियो । कुनै बुँदामा गणतन्त्रको माग पनि थियो जो प्रधानमन्त्रीले चाहेर पनि पूरा हुन सक्दैनथ्यो । माओवादीलाई यो थाहा नभएको होइन, उसलाई उसलाई जसरी पनि युद्धमा जाने बहाना मात्र चाहिएको थियो । पुनः प्रजातन्त्र प्राप्तपछि पनि जनजीविकाको सवाल र विकासले गतिलिनु पर्नेमा सत्ता खोसाखोस र छिनाझपटिमा नै राजनीति अल्झिदा देशले पटक्कै सुख पाएन । मैमत्त सत्ताले सर्वमान्य नेता गणेशमान सिंह श्रेष्ठ र सन्त नेता कृष्णप्रसाद भट्टराईको मात्रै मन दुखाएन सरल जीवनका नेता मनमोहन अधिकारीलाई पनि अपमान ग¥यो । चर्चित धमिजा काण्ड र लाउडा काण्डले राजनीति सिनो झैं गनायो । जनता छलेर धूर्त राजनीतिले देशघाती महाकाली सन्धि गरेको भनी आलोचना बढ्दै गयो । एमालेका जाजुल्यमान उम्दा नेता मदन भण्डारीको रहस्यमय हत्या भयो तर हत्यारा पत्ता लागेन बरु ड्राइभरलाई पनि पछि दिनदाहाडै सडकमा गोली ठोकियो । राजनीतिका यस्ता तमाम कुकर्मका कारण माओवादीलाई मध्यम वर्गीय जनता समेतको ठूलो समर्थन थियो भन्ने कुरा संविधानसभाको पहिलो निर्वाचनले नै पुष्टि गरिसकेको छ ।

युद्धमा मान्छे मर्छन्–मारिन्छन् युगौंदेखि यही परम्परा कायम छ, तर युद्धभन्दा टाढाको कोही निर्दोष मान्छे मारिनु हुँदैन । यदि मारेको खण्डमा कारबाहीको भागिदार हुनुपर्छ यो विश्वव्यापी मान्यता हो । द्वन्द्वकालिन अवस्थामा अन्य जिल्लामा जस्तै सुर्खेतमा पनि सामाजिक प्रतिष्ठा आर्जन गरेका निर्दोष व्यक्ति गंगाप्रसाद सुवेदीको गोली हानी अनाहक हत्या गरियो । एक इमानदार व्यक्तिको बेकसुर त्यसरी हत्या गरिँदा मनमा ठूलो चोट लागेर असैह्य पीडाबोध भएको थियो । आमसञ्चार माध्यमबाट माओवादीले हत्या गरेको भनी खबर प्रशारण भइरहे पनि मनले स्वीकार्न सकेन । माओवादीलाई बदनाम गर्नका लागि अवश्य पनि यो शाही सेना वा प्रहरीकै भित्री षड्यन्त्र र प्रपञ्च हो भन्ने विश्वासले मनमा जरा गाढिरहेको थियो । जाली फटाहा र सुदखोरहरू बाहेक कोही सामान्य नागरिकलाई माओवादीले मार्छ भन्ने कल्पनासम्म गर्न पनि मान्दैनथ्यो मनले । त्यसकारण माओवादतर्फ समर्थन र क्रूर राज्यतर्फ पूरापूर विद्रोही बन्दै गएको थियो स्वभाव ।

दरबार हत्याकाण्ड भयो । काण्डको सत्यतथ्य जे जस्तो भएपनि राजा वीरेन्द्रको वंश विनाश हुन्, अरु भाइ र नातेदार पनि मारिनु र ज्ञानेन्द्र राजाका परिवार सकुशल रहनुले जनताको सिधा शंका ज्ञानेन्द्रतिरै सोझिएको अवस्था थियो । गद्दीको मातले राजा ज्ञानेन्द्रमा अहंकार पलायो । अहंकारले प्रजातन्त्र खोसेर सत्ताको लगाम समायो । सुझबुझले देश चलाउनु भन्दा पनि हिटलर बन्ने आकांक्षाले ज्ञानेन्द्रलाई बर्बादीको डिलमा पु¥यायो । दिल्लीलाई किनारमा साक्षी राखेर कांग्रेस एमाले लगायतका तत्कालीन सात दल र माओवादी बीच १२ बुँदे सम्झौता भयो । त्यसले ऐतिहासिक जनआन्दोलन निर्माण ग¥यो, आन्दोलनको रापतापले राजालाई गद्दीहीन पारेर देशमा गणतन्त्रको स्थापना ग¥यो ।

संविधानसभामा सबैभन्दा ठूलो दल भए बापत प्रधानमन्त्रीको कुर्सी पाएका दाहालको मनमा सदाकाल देशको सर्वेसर्वा हुने सपना पलाएको थियो भन्ने कुरा उनको गतिविधिले पुष्टि गर्दै गयो । परिवेश अनुकूल पार्नका लागि उनले सेनामा हात हाले । बदनियत बुझेर राष्ट्रपतिले उनको अभियान रोकिदिएबाट सेनाका प्रधान सेनापति यथावत कायम रहेभने नैतिकता को आधारमा दाहालले राजिनामा दिन बाध्य भए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्रीको कुर्सीमा बसेको दाहाललाई कतै सैह्य हुन सकेन । माधवलाई हुत्याएर फेरि सत्ता हथ्याउन माओवादी कार्यकता र मतदातालाई समेत राजधानीमा खेड्दै न्वारानदेखिको बल झिकेर आन्दोलन गरे तर कुनै उपाए र सीप लागेन । सत्ता बाहिर छटपटाएर तिगडम का गोटि चाल्न थाले । त्यतिञ्जेल चितवनको शक्तिखोरमा दाहालले बोलेको एउटा विवादित भिडियो पनि सार्वजनिक भैसकेको थियो  । त्यो भिडियोले पहिलो पटक दाहालको राजनीतिक मुकुण्डो मात्रै उतारेन हाम्रो अन्धविश्वासलाई पनि उक्काउन थाल्यो । हिजो राज्यले मात्र होइन रहेछ माओवादी ले पनि चन्दा नदिएको आरोपमा कैयन निर्दोषलाई कत्लेआम गरेको रहेछ । डेकेन्द्र थापा गंगाप्रसाद सुबेदी, यदुनाथ गौतम, मुक्तिनाथ अधिकारी लगायत धेरै जनता माओवादीको सिकार भएका रहेछन् । प्रचण्डको नियत भेद र वास्तविकता खुल्दै गएपछि मनमा एकाएक घृणा र वितृष्णा मात्र भरिन थाल्यो ।

मनोगत स्वार्थ बाँझिएर हो वा दाहालको हैकम सहन मञ्जुर नभएर हो माओवादीका उपल्ला नेता मात्र होइन कैयन जुझारु कार्यकर्ता पनि पाखा लाग्दै गए । माओवादीको कार्य शैलीबाट जनताको भावना विचार र दृष्टिकोण बदलिएको छ–छैन भन्ने विषयमा पटक्कै मुल्यांकन नगरी बर्खामा आँखा फुटेको गोरुले सधँै हरियो नै देख्छ भने झैं प्रचण्ड दोस्रो संविधान सभाको निर्वाचनमा हाम फाले । फेरि सबैभन्दा ठूलो दल भएर सत्तामा हालीमुहाली गर्न आतुर थिए ऊनी ।

निर्वाचनको अनपेक्षित परिणामले दाहालको सातो उडेको थियो, किनकि काठमाडौंबाट उमेदवार बनाइएकी आफ्नी छोरी रेणु दाहाल मात्र हारेकी थिइनन् यहाँ त पिता दाहाल पनि काठमाडौं र सिराहा दुबै क्षेत्रबाट उत्तानो पछारिएका थिए । पार्टीलाई समेत तेस्रो हैसियतमा ओरालो झारेर दाहालको अहंकारमा जनताले पानी खन्याइदिए । संविधान निर्माण भएपछि सत्ताको दुरूपयोगबाट समेत विपक्षी उम्मेदवारलाई पराजित गर्न नसक्ने अवस्थामा भरतपुर नगरपालिकामा रेणु दाहाललाई मेयर जिताउनका लागि मतपत्र च्यातेका कारण माओवादीको विश्वासमा फेरि आगो लाग्यो । माओवादीसँग जनताको आशा मर्दै गएको तथ्य बुझेका दाहालले निर्वाचनमा कसैसँग एक्लै डटेर प्रतिस्पर्धा गर्ने हिम्मत हार्दै गए । सत्तामा पुग्न जसरी पनि निर्वाचनको सामना गर्नैपर्ने हुन्छ त्यसकारण कुनै एउटा बलियो राजनीतिक दलको भर पर्नैपर्ने विकलाङ्ग जस्तै भएको छ दाहालको माओवादी केन्द्र ।

हिजो सात दलका प्राय खुंखार पात्रहरू नै गणतन्त्रमा नयाँ अवतार लिएर आएका छन् । कोही मरेर गए कोही जिउँदै छन र वाइडबडी जहाज खरिद काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार सरकारी जग्गा काण्ड, गिरीबन्धु टि इस्टेड काण्ड जस्ता अनेकन काण्डमा डामिएका छन् । तर पनि आज सत्ता फुत्काउने दाउमा दौडिरहेका छन् । विकृति र विसंगतिमा ती पुराना राजनीतिक खलनायकहरूलाई पनि उछिनेर अगाडि गएका छन् क्रान्ति नायकको बिल्ला लगाइएका पुष्पकमल दाहाल प्रचण्ड । सिद्धान्त नैतिकता निष्ठा र विचार खरानी पार्दै आफ्नो पद जोगाइ राख्न कहिले एमाले त कहिले कांग्रेसमा छलाङ हान्नु नै दाहालले पराक्रम ठानिरहेका छन् भने अर्कोतिर प्रधानमन्त्रीको मान मनितो पटक्कै भएन भनेर आफैंले गुनासो पोखिरहेका छन् । उनको हर्कत र चित्त दुखाइमा जस्तो काम त्यस्तै परिणाम भन्ने उखान चरितार्थ भएको छ । पदका लागि जे पनि गर्ने मानक बनाएका दाहलको अराजक यात्रा, अब कुन दिशातर्फ मोडिन्छ हेर्न बाँकी छ ।

-उमालाल आचार्य

प्रकाशित मितिः   ९ असार २०८१, आईतवार ०५:०३