कर्णालीमा मुख्यमन्त्री कप सुरु
सुर्खेत: कर्णाली प्रदेशस्तरीय मुख्यमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको शनिवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यो प्रतियोगिताले महŒवपूर्ण भूमिका खेल्ने बताए । कर्णालीका क्रिकेट खेलाडीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दुई अंकको गोल्ड मेडल जित्ने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री कँडेलले त्यसको लागि सबै खेलाडीहरूलाई आफ्नो तयारी थाल्न निर्देशन दिए । कर्णाली प्रदेश सरकारले खेलकुदको क्षेत्रमा पर्याप्त मात्रामा बजेट अहिले दिन नसकेको भएपनि सरकारले आवश्यकताको आधारमा थप खेल क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए ।
असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कालीकोट, जुम्ला, रूकुम–पश्चिम, जाजरकोट, सल्यान, दैलेख र सुर्खेत गरी कर्णाली प्रदेशका ७ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिता विजेता टिमले एक लाख एक हजार र उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने जनाइएको छ । त्यस्तै प्रत्येक खेलको उत्कृष्ट खेलाडीले एक हजार पाँच सय पाउने छन् ।
प्रकाशित मितिः १० असार २०८१, आईतवार ०५:०१
साझा बिसौनी ।