कांग्रेसको अवरोधपछि बैठक स्थगित

सुर्खेत: बजेट पुनर्लेखनको मागसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । बुधवारको बैठक कांग्रेसको अवरोधका कारण स्थगितसमेत भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै गर्दा कांग्रेसका सभा सदस्यहरू उठेर बैठक अवरुद्ध पारेका हुन् । कांग्रेसका प्रदेशसभा सदस्य घनश्याम भण्डारीले मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए । सदस्यहरूले उठाएका प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिनुपर्नेमा उल्टै अल्मल्याउन खोजिएकाले बैठक अवरुद्ध गर्नुपरेको उनले जनाए ।

कांग्रेस अर्का सदस्य बेदराज सिंहले बजेटमा धेरै समस्या देखिएको भन्दै पुनर्लेखन गर्नुपर्नेमा जोड दिए । छलफलमा दिइएका सुझावका आधारमा योजना र कार्यक्रमहरू सुधार र संशोधन गर्नुपर्ने उनको भनाइ थियो । ‘अबण्डा रकम राख्न पाइन्न, समपूरक र विशेष अनुदान छुटेका क्षेत्रमा सशर्त अनुदानमार्फत् सम्बोधन हुनुपर्दछ’ उनले भने, ‘सरकारले जवाफमा अट्काउनभन्दा दस्ताबेजीकरण गरेर हाम्रा माग सम्बोधन गरोस् ।’ सिंहले थपे, ‘हामीले उठाएका मागलाई दस्तावेजीकरणसहित पुनर्लेखन भएर नआएसम्मका लागि सदनका कुनै पनि कारबाही अघि नबढाउन आग्रह गर्दछु ।’ कांग्रेसको अडानपछि सभामुख नन्दा गुरुङले बैठक स्थगित गरेकी हुन् ।

प्रकाशित मितिः   ६ असार २०८१, बिहीबार ११:२१