काँक्रेविहारलाई जिल्लास्तरीय ‘ए’ डिभिजन लिगको उपाधि
सुर्खेतः सुर्खेत जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि काँक्रेविहार क्लबले जितेको छ । बिहीवार पेनाल्टी सुटआउटमा बाबियाचौर स्पोर्टस् क्लबलाई पराजित गर्दै काँक्रेविहारले उपाधि उचालेको हो ।
बुधवार भएको फाइनल खेलको निर्धारित समयमा २–२ को बराबरी भएको थियो । प्रतिकूल मौसमका कारण बुधवार पेनाल्टी सुटआउन हुन नसकेपछि बिहीवार विहान गराइएको हो । जसमा ४–२ गोलअन्तरले काँक्रेविहारले बाजी मा¥यो । उपाधिसँगै क्लबले एक लाख रुपैयाँ नगद पुरस्कार पनि पाएको छ । उसले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । दोस्रो भएको बाबियाचौर स्पोर्टस् क्लबले नगद ५० हजार रुपैयाँ पाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाबियाचौरका महेन्द्र बिकले पाए । उनी नगद सात हजार पाँचसयसहित पुरस्कृत भएका छन् । यस्तै काँक्रेविहारका तिलक खड्का उत्कृष्ट गोलकिपर हुँदा काँक्रेविहारकै दिपेन्द्र चुनाराले सर्वाधिक गोलकर्ताको अवार्ड पाए । उनीहरु दुवैले पाँच/पाँच हजार नगद पुरस्कार पाएका छन् । जी–अल क्लबका पुरन श्रेष्ठ इमर्जिङ युवा खेलाडीको रुपमा पुरस्कृत भएका छन् । उनले तीन हजार पाए ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष आयोजना हुने जिल्लास्तरीय ‘ए’ डिभिजन लिगमा सुर्खेतका १२ वटा क्लबको सहभागिता रहेको थियो । जसमध्ये दुईवटा क्लब रेलिगेसनमा परेका छन् । जीवन ज्योति क्लब र वीन्द्रनगर स्पोर्ट्स क्लब रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा घटुवा भएको सुर्खेत जिल्ला फुटबल संघका कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक तेजबहादुर पन्तले जानकारी दिए ।
उपाधि विजेता काँक्रेविहार क्लबले अब प्रदेश लिगको प्रतिस्पर्धा गर्नेछ । प्रदेश लिगमा जुम्ला जिल्लाको ‘ए’ डिभिजन लिग विजेता क्लबसँग काँक्रेविहारले खेल्ने सुर्खेत जिल्ला फुटबल संघका महासचिव सुनिल देवकोटाले जानकारी दिए । कर्णाली प्रदेशमा सुर्खेत र जुम्लाले मात्रै एन्फाको मान्यता पाएका छन् । त्यसैले मान्यताप्राप्त दुई जिल्लाका लिग विजेताले प्रदेश लिग खेल्नेछन् । उक्त लिग ‘होम एण्ड अवे’ मैदानमा खेलाइनेछ ।प्रदेश लिग विजेता क्लब एन्फा प्रेसिडेन्ट कपमा छनोट हुनेछ । प्रेसिडेन्ट कपमा छनोट हुने टिमले एन्फाबाट तयारीका लागि सात लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रदेश लिगमा छनोट भएका क्लबले एक÷एक लाख रुपैयाँ प्रतियोगिता तयारी खर्च पाउनेछन् ।
प्रकाशित मितिः ७ असार २०८१, बिहीबार २०:३६
साझा बिसौनी ।