दुल्लूको साहित्य महोत्सवमा रमाउँदा

२०६९ साल जेठ ३० गतेको बिहान मोबाइलको घण्टी बज्यो । फोन थियो, सुर्खेती प्रगतिशील साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. दिपक गौतमको । ‘दैलेखको दुल्लूमा राष्ट्रिय साहित्य महोत्सव, मध्यपश्चिमस्तरिय भाषा संस्कृति एवम् इतिहास सम्बन्धी कार्यशाला गोष्ठी छ’ उहाँले फोनमै भन्नुभयो, ‘गोष्ठीमा सहभागी हुन अतिथिहरू आउँदै हुनुहुन्छ, उहाँहरूको स्वागत गर्न मंगलगढी आउनुहोला ।’
साथै उहाँले उक्त कार्यक्रममा मलाई पनि सहभागी गराउने सल्लाह भएको जानकारी दिनुभयो । गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौं, मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाण्डौ र भेरी साहित्य समाज बाँके नेपालले आयोजना गरेका थिए । त्यो गोष्ठीमा सहभागी हुन प्रज्ञा प्रतिष्ठानका उपकुलपती गंगा उप्रेति, प्राज्ञ सदस्य डा. जिवेन्द्रदेव गिरी, नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति शिवहरी मरहठ्ठाका साथै केही प्राज्ञसहितको टोली आउँदै थियो । उहाँहरूको स्वागतका लागि म लाटीकोइलीको दिपनगरबाट ५ बजेतिर मंगलगढी पुगें । ६ बजे पाहुनाहरू आइपुग्नु भयो । अभिवादनसहित हामीले परिचय आदानप्रदान ग¥यौं ।
प्रजातन्त्र पुनः प्राप्ती भएको जनआन्दोलन–२ पछिको यो नै मध्यपश्चिममा हुन लागेको दोस्रो साहित्य इतिहासको पहिलो गोष्ठी थियो । गोष्ठीमा सहभागी हुन पाउँदा म हर्षित थिएँ । दुल्लू मध्यकालीन सिंजा साम्राज्यको शितकालीन राजधानी हो । गोष्ठी त्यही हुँदै थियो र म त्यसमा सहभागी हुँदै थिएँ । त्यसैले भित्रैदेखि मन उचालिएको थियो, मेरो । डा. जिवेन्द्रदेव गिरीले न्यानो सिम्ताली माया साट्दै भन्नुभयो, ‘सिम्ताली साहित्यकार, पत्रकारजीको हाल खबर के छ ?’ म पनि उचालिएर ‘सिम्ताली, जन सुख आरामी छन् म पनि जीवन ऐनकेन प्रकारले घचेटी रहेको छु’ भनि उत्तर बिसाएको थिएँ ।
सुर्खेत उपत्यकामा गर्मीले थकित थियो । सन्ध्या हुन लागेको सन्देश स्वरूप कुखुरा र काग बासीरहेका थिए । वर्षा लाग्न थालेकोले बजारमा मानिस आउने जानेक्रम घट्दो थियो । काठमाडौंदेखि सुर्खेतसम्म लामो बसको यात्राबाट आएका प्राज्ञ मित्रहरू थकानले आरामको अनुभूति गर्नुभएको थियो । उहाँहरूलाई सत्कार होटल पु¥याएर ७ बजे बिहान आउने गरी म र डा. दीपक गौतम घरतिर लाग्यौं । म भने सिंजा सम्राज्यको राजधानी तथा लोकसाहित्य इतिहासका अनेकौं विद्याले भरिएको दुल्लू दैलेख यो पटक प्रत्यक्ष देख्न तथा सुन्न पाउने कुराको कल्पना गर्दै सुतें । आफू पुग्नुभन्दा पहिला सपनामा नै दुल्लू पुगेछु ।
बिहान ५ बजे ब्यूँझिदा मेरो सपनाको दुल्लूयात्रा ताजै थियो । हतार–हतार कपडा र पुस्तकहरूको झोला तयार पारें । छोरी गीता सिंहलाई ठूलो झोला बोकाएँ, सानो झोला आफै बोकी ७ बजे मंगलगढीनजिक रहेको सत्कार होटल पुगें, जहाँ पाहुनाहरू बसेका थिए । तत्कालीन सिंजाली राजाहरूले देश दर्शन गर्न हो वा अन्य राज्यहरूमा हमला गर्न जानेक्रममा सलामी लिने मंगलगढीमा बिहान घामले खुट्टा पसारिरहेको थिएँ । यात्रा सफल गर्नु है भनि दक्षिणमा रहेको गढीमाइ तिर फर्केर सलामी टक्र्याएँ । बिहानको ८ः३० बजिसकेको थियो । हामी पजेरो गाडीबाट उकालोतिर हुईकियौं । गन्तव्य थियो, दैलेखेको दुल्लू ।
पहिलो गाडीमा डा. दीपक गौतम, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति शिवहरी मरहठ्ठा, रजिस्ट्रार जगत उपाध्याय, सोमराज रावत, भागवत शर्मा, राजेन्द्रराज अधिकारी लगायत हुनुहुन्थ्यो । पछिल्लोमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेती, डम्मर बिसी, कविराज रेग्मी, गोपाल अधिकारी, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष इन्द्रबहादुर बस्नेत, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहप्राध्यामक पुरुषोत्तम खनाल र म थियौं । गाडी गणेशचौक, घण्टाघर, ईत्राम हुँदै उकालो लाग्यो । कटकुवा, लादे, गोठीकाँडा उकालो चढ्दै थियो । बिहानैदेखि तुलायो डम्म थियो । तुवाँलोले तल सुर्खेत उपत्यका छर्लङ्ग देखिएको थिएन । अघिल्लो दिनको ४२० डिग्री तातोको सम्झनाले पनि उकुसमुकुस बनाउँथ्यो । कतिबेला रानीमत्ता पुगिएला र चिसो बतासको स्वाद चाखिएला भन्नेमा थियो, धेरै मित्रहरूको मन । रानीमत्तामा बाटो वरिपरि लालीगुराँस फुलेका थिए । राताम्मे पखेराहरूले मनै लोभ्याउँथे । लाग्थ्यो, यात्रुहरूको स्वागतका लागि मुस्कुराइरहेका छन् लालीगुराँस । गुराँसेमा आलुको तरकारी र सेल रोटी चिसो हावाको सितलासँगै मिठो गरी खायौं । सुदूर उत्तरको हाउडी महाबु उच्च पर्वतमा लाले स्वागतको हात हल्लाइ रहेको थियो । घोडावास तालपोखरीको सुख्खा ताल हेर्दै गाडी ओरालो लर्कदै थियो । तलको डुङ्गेश्वर खोला दक्षिणमा आतुर भएर स्वागतको लागि उभिएको दुल्लू डाँडो हेर्दै हामी हुइकियौं ।
मेरो गुरु जनकप्रसाद रेग्मी छोरा कविराज रेग्मीसँगै बसेको थिएँ । उहाँसँगको परिचयपछि मैले हाम्रो दैलेखको कट्टी दरा र सिम्ता दरा नजिक रहेका स्थान भएको र लोकसाहित्य, लोकभाषीका मिल्ने भएकोले सिम्तामा पनि कट्टी दराको लोक गीत गाउँछन् भनि देउडा टुक्का गाएँ ः
कट्टीका उकाला लाग्या परालका बिटा ।
काँबाट मै मति पन्दा सुनपानीका छिटा ।।
कविराज जीले पनि हाम्रो आमाले पनि सिम्ताली पहिचान दिने गीत गाउनु हुन्थ्यो नि भनेर सटार हान्नुभयोः
सिम्ता खोला चिसो पानी अलैची दानाले ।
हेर्दौन यो गती भइ गो रोजी फल खानाले ।।
उपप्रध्यापक राजेन्द्रराज अधिकारी, उपकुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय भाषिकाको खास शब्द र लोक गीत टिपेर जतीसक्दो दिनुहोला है भन्दै ओठे जवाफ गीत सुनाउन उक्साउँदै अगाडि बढिरहेका थियौं । डुङ्गेश्वर पुगेपछि जगतजीले त्यहींबाट होटल राजन दैलेखमा खानाको व्यवस्थापन गर्न आदेश गर्नुभयो । बाटोभरी सिंजा साम्राज्यको राजधानी अनेकौं अध्यात्मिक तीर्थस्थलको स्थापना गरी विभिन्न विद्याको लोकसाहित्य प्राकृतिक सुन्दरता साम्राज्यले राज्य विस्तारक्रममा पूर्वी नेपालतिर बस्ती सरेका मानिसहरूलाई यही दैलेखका स्थान विशेषका नामबाट जातीहरू नामकरण गरिएकोबारे व्यापक छलफल गरेका थियौं । १२ बजे हाम्रो गाडी दैलेखगढी पुग्यो । मध्यकालीय सिंजा साम्राज्यको सामरिक हिसाबले निर्माण गरिएको अत्यन्त बलियो ढंगैढुंगाको दैलेख गढी अवलोकन ग¥यौं । सिंजा साम्राज्यलाई सिंजाली दरवारले भाइ भाग गरी अलग–अलग भएपछि यो गढी बेलासपुर शाही राजाहरू राज्यलाई पनि बहादुर शाहको पश्चिम एकीकरण गर्दा पराजय हुन गइ रैकरमा परिणत भएर केन्द्रीय शासन चलेको केही इतिहासकारले बताउँदै आएको कुरा मैले उक्काएँ । त्यहाँपछि हामीहरू राजन होटल पुगेर खाना खायौं । समय अझै बाँकी नै भएकोले नजिकका महŒवपूर्ण हेर्ने लायक स्थानहरू अवलोकन गरिहालौं भनी कविराज रेग्मीको अगुवाइमा विलासपुरे राजाले निर्माण गरेको शिव भैरव मन्दिर गयौं । उकालो ३६५ सिमेन्ट सिडी चढेर मन्दिर पुग्यौं । यो मन्दिर शनिवार र मंगलवार खुल्नेरहेछ । मन्दिर बाहिर बाख्राका पाठा, कुखुरा देवताका वानलाई चढाइदो रहेछ । मन्दिर वारिपरि काटिएका वलीलाई वरिपरि घुमाउँदा रगतका टाटाहरू देखिएका थिए ।
सल्ली कुसुममा बसी दैलेखबाट राजधानीदेखि अन्य जिल्ला वस्ती सरेर गएकाहरूले आ–आफ्नो गाउँठाउँ जंगल पहाड खोलानालाहरू देखाउँदै हुनुहुन्थ्यो । म पनि उत्सुक्ताका साथ यो रमाइला बस्ती सदरमुकामबाट चौरतिर पहाड, घना बस्ती हेरेर रमाइरहेको थिएँ । मलाई दैलेखका एउटा डाडाँमा पुगर पूरै दैलेखका बस्ती र पहाडहरू, खोलानाहरू देखिने भएकोले अत्यन्त सुन्दरताको दृश्य हेर्दा खुशीको अनुभूति हुन्छ । आज पनि माथि सबैभन्दा अग्लो टुप्पो महावुलेक, तल लोरेखोला, छाम खोला सुन्दर दृश्य हेर्दै आल्लादित भएको थिएँ । यही समय कविराजले २०३६ सालको जनआन्दोलन गर्दा पञ्चयातकाल भरी केन्द्रीय शासन सत्ता पहुँच बनाएर पारी दुल्लू वारी दैलेखमा बोलवाला शक्ति दबाब काम गराउने गीत बनाएर गाएका थिए भनि कविराज रेग्मीले गीत सुनाउनुभएको थियो ।
दैलेख सर्पराज थापा दुल्लू कालुगिरी ।
तिम्रा दिन गयैगयाँ अब आउने छैन्न फेरि ।।
सुन्दरताको आलोक हटाउँदै हामीहरू तल झरेर नजिक रहेको कविराज रेग्मीकी फुपुको घरमा पुग्यौं । उनको फुपुले चिसो पानी, हरिया काँक्रा र आरु खान दिनुभयो । मन फुकाएर वोल्ने र स्वागत गर्ने दैलेखी महिलाहरू फरासीला लाग्छन् मलाई । कविले थप्नुभयो मेरो फुपुले कति राम्रा लोकगित सुरिलो भाषामा गाउनुहुन्छ । गीतको त खानी हुनुहुन्छ भन्दा म ती गीतहरू सुन्न पाए हुन्थ्यो भनि मनमनमा कति लोभिएको थिएँ । कुनै दिन लोक गीत संग्रह गर्नुप¥यो भने आउँला गीत सुन्न, लिपिबद्ध गर्न आउला भनि फुपुलाई भनिहालें । आउनु के फरक पर्छ र मरेपछि बोकेर लैजाने होइन सके दिएर त जाने हो भतिज भनि नाता नै जोडी हाल्नुभयो ।
जिवेन्द्र जिले यहाँको पहिलोे भाषा पाठशाला अहिलेको क्याम्पस पनि हेरेर जाउँ भन्दा ओरालो लागेर गयौं । वि.सं. १९९२ सालमा स्थापना गरिएको नारायण भाषा पाठशालाा प्रावि, निमावि, उच्च मावि हुँदै हाल क्याम्पस समेत पदोउन्नति भएको जानकारी क्याम्पस प्रमुख खगेन्द्रबहादुर मल्लले गराउनुभयो । उहाँ आफू निमावि हुदाँ प्र.अ. हँुदै अहिले क्याम्पस प्रमुख समेत भएको जानकारी गराउनुभयो । तीन तले ढुंगैढुंगाबाट निर्मित भव्य भवन भारतको सहयोगमा निर्माण गरिदिएको पढाइ सुरु भए पनि उद्घाटन भएको रहेनछ । मल्ल जिले भन्नुभयो, ‘निमाविबाट अहिले क्याम्पस हुदाँसम्म यसको प्रमुख प्रशासक म नै छु । जुनसुकै पार्टी सरकार आए पनि मलाई नै प्रशासनको जिम्मेवारी दिनेमा मत भिन्नता कुनै पनि व्यवस्थापन समिति भए पनि विवाद छैन ।’ मैले भनें, ‘तपार्इं इमान्दार निष्पक्ष भएर त होला सबै आस्थाका मानिसहरूले मान्ने ।’ यस्तै हुनुपर्छ सामाजिक संघ–संस्था चलाउने प्रमुख प्रशासक व्यक्तिहरू । यस्तो त नेपालमा तपाईं मात्र होला जस्तो लाग्यो । अहिले त आस्थाको छाता ओढी जागिर खाने प्रशासक प्रमुखहरू हुने भिखारी दलालहरूकोे देशभरमै लर्काे लागेको छ । यसले प्रजातन्त्रलाई अस्थिरतामा धकेल्छ । यही भएर त शिक्षा गतिशील स्वस्थ्य हुन सकिरहेको छैन भन्दै धन्यवाद पनि टक्र्याएँ । हामीहरूलाई उहाँले जुस, बिस्कुट, चिया खुवाउनुभएको थियो । त्यसपछि मैले थप भनें, ‘भेरी अञ्चलमा सबैभन्दा बढी प्राकृतिक सुन्दरताले सजिएको जिल्ला हो दैलेख । विभिन्न प्रकारका खेती, पशुपालनलाई गुजरामुखीबाट व्यवसाय गर्न प्राकृतीको गर्भमा रहेका धातु अन्य पदार्थहरू उत्खनन् प्रशोधन गर्न कक्षा ८ बाट नै रोजगारमूलक व्यवसायी शिक्षा दिने प्राविधिक शिक्षालयहरू र क्याम्पस पनि खोल्नु जरुरी छ । त्यसतर्फ दैलेखीहरूले पहल गर्नुपर्छ । त्यसरी जनशक्ति उत्पादन गरी राज्यले पनि भाडा नागरिक वैदेशिक रोजगार पठाउनु भन्दा स्वदेशमा आत्मनिर्भर हुने नीति निर्माण गरी रोजगारीको अवसर यहीको माटो, पानी र घामबाट गराउन थाले आज जस्तो दैलेखी युवाहरू भाडामा विदेशीने छैनन् । एउटा आत्मनिर्भर जिल्ला हुनेछ ।’ हाम्रो ग्रुपका केहिले दैलेख जन्मेको माया बिसाए । कसैले यो भुमिमा पुनः फर्किएर विभिन्न सेवा लाग्ने बताए । त्यही समयमा थप काठमाडौं र अन्य भागबाट आउने प्राज्ञ मित्रहरू पुग्नुुभयो । आउनुहुनेमा डा.मधुसुदन गिरी, डा. राजाराम सुवेदी प्रज्ञा सदस्य सचिव तुल्सी भट्टराई, साहित्यकार हेम सुवेदी, साहित्यकार अमर शाह, सुदूरपश्चिम साहित्य समाज अध्यक्ष रामप्रसाद जोशी, सचिव हरिहर कडायत, खगेन्द्र गिरी कोपिला, वर्दियाली साहित्य समाजका अध्यक्ष इन्द्रराज पौडेल, स्थानीय विकास मन्त्रालय अन्तर्गत खेलाडी प्राशिक्षक निर्मला गिरीले क्याम्पस प्रमुखसँग परिचय आदान प्रदान गर्नुभयो ।
उहाँहरूले पनि क्याम्पसको अवलोकन गरिसकेपछि हामी सबै चार वटा पजेरो जीपमा ठेलिएर दैलेख बजार हुँदै तलतिरको कुइकाना गाउँ कच्ची ट्रयाकको धुलैधुलो साघुँरा घुम्तीहरू छिचोल्दै कही ओर्लेर हिँड्ने बस्ने गर्दै १ घण्टापछि छामघाट पुगियो । हामी सबै गाडीबाट ओर्लेर युगौयुगदेखि अध्यात्मिक आस्था बिसाउने प्रख्यात हिन्दुपिठ श्रीस्थानका ज्वाला बल्ने मन्दिर गयौं । तल खोलामा रहेका साना–साना तालमा पनि पानीमा बुलबुल गरी फोहरा उठिरहेका थिए । मन्दिरमा बसेका पूजारी टिकानाथ योगीले ज्वाला बलेको तवामा लागेको धुँवाको ध्वाँसो टीका सबै प्राज्ञ मित्रहरूलाई लगाइदिनुभयो । प्रायः सबै मित्रहरू दक्षिणा टक्र्याउनुभयो । मैले लगाउन दिएँ दक्षिना भने दिइन् । सबै प्राज्ञहरू ज्वाला बलेको स्थानमा गएर ढोग्नुभयो मैले ढोगीनँ । यही समय म सोचमग्न हुन पुगें । यो जलनशील पदार्थ तेल हुनसक्छ । यही तेल खरबौं रूपैयाँ विदेश पठाएर ल्याउछौं । ज्ञान विज्ञानले कैयौं प्रकृतिको गर्भमा रहेका अनेकौं खनिज पदार्थ प्रकृतिको नियमसँग मिलेर उत्खनन् गरी अध्यात्मिक रूपले मानि आएका मान्यता तोडेर बस्ती विकासमा विकट मानिएका भू–भागमा समेत अनेकौ बहुमूल्य खनिज पदार्थ समेत पत्ता लगाइ सुगम मात्र बनाएनन् उच्च मानवीय विकास गरी संसारलाई चुनौती दिइरहेका छन् । हामी भने यस्ता जलनशील तेल वा ग्यासको पूजा गरिरहेका छौं । राज्य नागरिक चेतना आए यो अपार तेल भण्डार उत्खानन् गर्नसके खरबौं आम्दानीको स्रोत होला । यसको लागि राज्य र नागरिकको पहल कहिले लाग्न सक्लान भन्नेमा पुगेको थिएँ । निर्मला गिरी, तेजबहादुर चन्द र म तल तालमा बुलबुल उठेका स्थान पुगी निर्मला जिले सालको पातमा सलाई कोेरेर लगाउनु भएपछि आगो बलेको थियो त्यो पानी माथी पनि । म भने यो ज्वलनशील तेल ग्यास भएकोमा निर्धक्क हुन पुगेको थिएँ । यो ज्वलनशील तेल निकाल्न राज्य र विदेशी कम्पनी समेत लगाउनुपर्छ भन्नेमा पुगेको थिएँ ।
(बाँकी अर्को साता)

प्रकाशित मितिः   ५ चैत्र २०७३, शनिबार १३:३४