विश्वविद्यालय सभाका सभासद्हरू मनोनित

साझा बिसौनी संवाददाता

सुर्खेत, २८ माघ । 
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको विश्वविद्यालय सभाका सभासद्हरू मनोनित गरिएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालय सभाको नयाँ तीन वर्षे कार्यकालका लागि सभासद्हरू  मनोनित गरेका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ अनुसार शिक्षाप्रेमी एवम् समाजसेवीहरू मध्यबाट यामलाल कँडेल, चन्दादाता एवम् समाजसेवीहरू मध्येबाट मोतीप्रसाद सापकोटा, प्राज्ञिक निर्देशकहरू मध्येबाट विज्ञान तथा प्रविधि केन्द्रीय महाविद्यालयका प्राज्ञिक निर्देशक तारणी प्रसाद यादव र इन्जिनियरिङ केन्द्रीय महाविद्यालयका प्राज्ञिक निर्देशक ओपेन्द्र हमाल, विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू मध्येबाट सहप्राध्यापक गणेश बहादुर कार्की र उपप्राध्यापक भिउसिं बुढा, विश्वविद्यालयका उपकुलपतिहरू मध्येबाट पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवि शर्मा र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठलाई मनोनित गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको ऐन अनुसार राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य, अर्थमन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका सचिव, विश्वविद्यालयका रजिस्ट्रार र पाँचवटा सङ्कायका डीनहरू, क्षेत्रीय प्रशासक,  नेपाल प्राध्यापक संघका अध्यक्ष, विश्वविद्यालय प्राध्यापक संघका सभापति र स्वतन्त्र विद्यार्थी युनियनको सभापति  पदेन सदस्य हुने व्यवस्था छ । बिहीवार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले नवनियुक्त सभासद्हरूलाई सम्मानसहित नियुक्ति पत्र प्रदान गरेका छन् । उक्त कार्यक्रममा बोल्दै उनले विश्व–विद्यालयको संस्थागत विकासका लागि नीतिगत तहमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
विश्वविद्यालय रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले विश्व–विद्यालयलाई अगाडि बढाउन नवनियुक्त सभासद्हरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा विश्वविद्यालय पूर्व उपकुलपति प्रा.डा. पदमलाल देवकोटाको पनि 
उपस्थिति रहेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । यसैबीच बिहीवार नै विश्वविद्यालय कार्यकारी परिषद्को आकस्मिक बैठक बसी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व कुलपति, पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आकस्मिक निधनमा शोक प्रस्ताव पारित गर्दै समवेदना प्रकट गर्ने निर्णय विश्वविद्यालयले गरेको खड्काले जनाए ।
प्रकाशित मितिः   २९ माघ २०७२, शुक्रबार ०८:४९