नेपाल सोझै विश्वकपमा छनौट हुन असफल

साझा बिसौनी संवाददाता
काठमाडौं, २८ माघ । 
१९ वर्षमुनी (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताको ‘प्ले अप’मा नेपाल बिहीवार नामिबियासँग १५ रनले पराजित भएको छ । पराजयसँगै नेपाल सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनौट हुन असफल भएको छ ।
बङ्गलादेशको फतुल्लाहमा सातौं स्थानका लागि भएको खेलमा टस जितेर व्याटिङ गरेको नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी व्याटिङमा उत्रेको  नेपालले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै २१० रन मात्र बनायो । नेपालका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । उनले ८४ बल खेल्दै ५९ रन जोडे । त्यस्तै, योगेन्द्र कार्कीले ३५, प्रेम  तामाङले ३२, दीपेन्द्र ऐरीले ३१ र आरिफ शेखले ३० रन बनाए । 
नामिवियाका मिचेल भान लिङ्गेनले ४, फ्रिट्ज कोइट्जीले ३ तथा बुर्टन जाकोब्स्ले २ विकेट लिएपछि नेपाल लक्ष्यमा पुग्न सकेन । यसअघि नामिवियाका लागि लोहान लरेन्स्ले सर्वाधिक ५९ रन बनाएका थिए । यस्तै लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे । नामिबियालाई मध्यम स्कोरमा समेट्न नेपालका  सन्दीप लामिछानेले तीन, सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले एक÷एक विकेट लिए । बिहीवारको खेलमा नेपालले विजय हासिल गरेको भए सातौं स्थानमा रहँदै सन् २०१८ मा हुने यु–१९ विश्वकपका लागि सोझै छनौट हुने थियो । 
प्रकाशित मितिः   २९ माघ २०७२, शुक्रबार ०८:४८