कर्णालीका मन्त्री प्रभावित क्षेत्रमा परिचालन
सुर्खेत: कर्णाली प्रदेश सरकारले मन्त्रीहरूलाई भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्मा सोमवार बिहानैदेखि जाजरकोटमा छन् । अन्य मन्त्रीहरूलाई पनि जिम्मेवारीसहित खटाइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह जाजरकोटमा रहनेछन् । उनी शनिवार देखिनै जाजरकोटमा सक्रिय रहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र सामाजिक विकास मन्त्री खड्ग पोखरेल सुर्खेतमा बसेर आवश्यक राहतको व्यवस्थापनदेखि आपूर्ति लगायतका कामहरू गर्ने जनाइएको छ ।
जिसीले प्रदेशबाट गर्ने आवश्यक सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्लाहरूमा पठाउने छन् । उनी शनिवारदेखिनै सुर्खेत विमानस्थलमा रहेर आपूर्तिको काम गरिरहेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा रूकुमपश्चिम र सल्यानमा खटिने भएका छन् ।
यस्तै ऊर्जा तथा जलस्रोत मन्त्री उर्मिला विश्वकर्मा पनि खानेपानी लगायतका विषयमा रहेर प्रभावित क्षेत्रमै खटिने छिन् । भूकम्पले क्षति पुगेका खानेपानीका योजना मर्मतदेखि मन्त्रालयबाट गर्नुपर्ने काम उनले गर्नेछिन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाही भौतिक संरचनाको तथ्याङ्क संकलनदेखि अभिलेख राख्ने लगायतका कार्यमा सक्रिय हुने बताइएको छ । प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छुट्टयाएको रकम अबको केही दिनभित्र पालिका पठाइने छ ।
जसका कारण पालिकाहरूले सहज रूपमा राहत सामग्री खरिद गर्न सकिने सरकारका प्रवक्ता एवम् कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।
प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १६:०६
साझा बिसौनी ।