एकद्वार प्रणालीले राहतमा ढिलाइ

सुर्खेत: जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितलाई सोमवारदेखि स्थानीय तहमार्फत राहत वितरण सुरु गरिएको छ । शनिवार र आइतवार राहत नपाएको गुनासो बढेपछि सोमवार बिहानैदेखि जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल पीडित समक्ष राहत सामग्री पुग्नेगरी वितरण थालेको हो ।

यसअघि समितिले एकद्वार प्रणालीमार्फत् स्थानीय तहका जनप्रतिनिधिलाई, जनप्रतिनिधिले स्थानीय तहको विपद् व्यवस्थापन समितिलाई र स्थानीय तहको विपद् व्यवस्थापन समितिले वडास्तरको संयन्त्रलाई दिएर संयन्त्रले राहत वितरण गर्ने मापदण्डमा सर्वदलीय सहमति भएको थियो । त्यसरी वितरण गर्दा पीडितसम्म सामाग्री पुग्न ढिलाइ भएपछि पीडितको आक्रोश बढेको थियो । चिसोमा त्रिपाल र ओढ्ने–बिच्छ्याउने अभावमा पीडितहरू खुल्ला आकाशमुनी चामलका बोरा र प्लाष्टिकले शीत छेकेर सुत्न बाध्य भएका थिए ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले राहत सामग्रीमध्ये पहिलो चरणमा त्रिपाल, ब्ल्यांकेट स्थानीय तहको वडास्तरमै पठाउन थालिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूमा धमाधम सामग्री पठाउने काम भइरहेको छ । ‘मंगलवारसम्म सबै स्थानीय तहका वडामार्फत् पीडितसमक्ष त्रिपाल, ब्ल्यांकेट र प्राप्त अन्य राहत सामग्री पुग्ने गरी व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिप्रति पनि आक्रोश बढिरहेकाले सबै एकजुट भएर सामग्री वितरणमा जुटेका छौँ । मंगलवारसम्म जसरी पनि पुग्छ ।’

राहत सामग्री सदरमुकाममै थुप्रिएको र पीडितसम्म नपुगेको गुनासो बढेपछि स्थानीय तहमार्फत राहत वितरणलाई तीव्र पारिएको हो । शर्माले सोमवार झण्डै चार हजार सात सय बढी त्रिपाल र ब्ल्यांकेट वितरण भइसकेको जानकारी दिए । उनका अनुसार भेरी नगरपालिकामा एक हजार नौ सय ८४ ब्ल्यांकेट, एक हजार हजार सात सय ७७ त्रिपाल, नौ सय ४२ बोरा चाम वितरण भएको छ ।
यस्तै नलगाड नगरपालिकामा आठ सय ३० ब्ल्यांकेट, आठ सय ८३ त्रिपाल र एक सय १५ बोरा चामल पुगेको छ । छेडागाड नगरपालिकामा एक सय २२ ब्ल्यांकेट र एक सय ७२ त्रिपाल, बारेकोट गाउँपालिकामा तीन÷तीन सय त्रिपाल र ब्ल्यांकेट, कुशे गाउँपालिकामा तीन सय ४५ ब्ल्यांकेट, दुई सय ४५ त्रिपाल र एक सय ३२ चामलका बोरा वितरण भएको छ । त्रिपाल, ब्ल्यांकेट, चामल, बिस्तारा, भाँडा वर्तनसहित ६५ प्रकारका सामग्री संकलन भएको र ती धेरै वितरण भइसकेको शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय रकुमपश्चिमले पनि स्थानीय तहमार्फत राहत वितरण सुरू गरेको छ । राहत सामग्रीमध्ये पहिलो चरणमा त्रिपाल, ब्ल्यांकेट स्थानीय तहको वडा तहबाट वितरण थालिएको हो । आवश्यकताका आधारमा आइतवारबाट राहत वितरण गर्न थालिए पनि स्थानीय तहमार्फत सोमवारदेखि वितरण सुरु गरिएको हो । भूकम्पबाट बढी प्रभावित चौरजहारी, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा सोमवार बिहानैदेखि राहत वितरण थालिएको हो । रूकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले सोमवारदेखि स्थानीय तहहरूमा राहत सामग्री पठाउन थालिएको बताए । जिल्ला विपद् व्यवस्थापन समितिमा जम्मा भएका राहत सामग्री पालिकामा पठाउने काम भइरहेको उनको भनाइ छ ।

मृतकमध्ये ७८ जना बालबालिका

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार भूकम्पबाट मृत्यु भएका एक सय ५३ मध्ये ७८ बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रूकुमपश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटमा मृत्यु भएका मध्ये बालक २७ र बालिका २३ जना रहेका छन् । रूकुमपश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकोमा २८ बालबालिका रहेका छन् । दुई जना दश महिनाका बालबालिका समेत रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

मृत्यु हुनेमा महिला धेरै

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटमा मृत्यु भएका एक सय एकमध्ये ५७ जना महिलाको मृत्यु भएको छ । जसमा ३४ महिला र २३ बालिका रहेका छन् । यसैगरी रूकुमपश्चिममा ३३ जना महिलाको मृत्यु भएको छ ।

दुई सय ४८ विद्यालय भत्किए

भूकम्पबाट जाजरकोट र रूकुम (पश्चिम) मा गरेर दुई सय ४८ विद्यालय भत्किएका छन् । सोमवारसम्म संकलन भएको तथ्याङ्क अनुसार दुई सय ४८ विद्यालय भवन भत्किएका हुन् । एक सय ६ विद्यालय भवन पूर्णरूपमा क्षति भएको छ । जाजरकोटमा पूर्णक्षति भएका विद्यालयहरू भवन ९१ वटा, तीन सय ६६ वटा कक्षाकोठा, ४३ वटा शौचालय, ११ वटा कम्प्यूटर कक्षा, एउटा वटा पुस्तकालय, सात वटा घेरवार पर्खाल, चार वटा सोलार सिस्टम रहेको छ ।
त्यसै आंशिक क्षति भएका विद्यालय भवनहरू एक सय २२ वटा, चार सय ७६ वटा कक्षा कोठा, ३५ वटा शौचालय रहेको शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार भूकम्पमा परि एक शिक्षक, ११ विद्यार्थीको मृत्यु भएको र दुई शिक्षक र २० विद्यार्थी घाइते भएका छन् ।

रूकुमपश्चिममा पूर्ण रूपमा १५ विद्यालय भवन भत्किएका छन् । आंशिक २० वटा भवन भत्किएको विवरण आएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा पुनले जानकारी दिए । उनका अनुसार रूकुमपश्चिममा १४ विद्यार्थीको मृत्यु भएको छ । एक विद्यार्थी र एक शिक्षक घाइते भएका छन् । उनका अनुसार विकट भूगोलका कारण विद्यालयको क्षतिको विवरण अझै आउन बाँकी छ ।

मृतकको संख्या एक सय ५३

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र एक सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले चार जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् ।
यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्याङ्क प्रशासनले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन गरिएको छ । रूकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा एक सय ५३ मात्र निश्चित भएको हो । यसअघि स्थानीय प्रशासनले एक सय ५७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो ।

प्रकाशित मितिः   २१ कार्तिक २०८०, मंगलवार ०५:०५