बाह्य स्रोत जुटाउँदै स्थानीय तह

सुर्खेत: स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । पुँजीगत बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुनेगरेको हो । तर केही स्थानीय तहहरूले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षहरूमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नुपरेको नगर प्रमुख हस्त पुनले बताए । हरेक वर्ष कुनै न कुनै निकायबाट गरी गुर्भाकोट नगरपालिकाले अर्बौ बजेट जुटाएर विकासमा खर्चने गरेको छ । नगरले आवश्यकताका आधारमा उक्त बजेट परिचालन गर्दै आएको हो । बाह्य स्रोतबाट आउने सहयोगलाई भौतिक पूर्वाधार, सडक, भवन निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिमा लगानी गरिरहेको नगर प्रमुख पुनले जानकारी दिए ।

गुर्भाकोट नगरपालिकाले प्रदेश र संघीय सरकार तथा गैरसरकारी संस्थाहरूसँग विकासका लागि साझेदारी गर्ने प्रस्ताव गर्दै स्रोतको जोहो गर्ने गरेको उनले बताए । चालु आर्थिक वर्षमा मात्र दुई अर्ब बाह्य लगानी भिœयाएको नगरप्रमुख पुनले जानकारी दिए । नगरपालिकाले वडा नं. १०, ११, १२, १३ र १४ वडासम्म जोड्ने सहायक कृषि सडक निर्माण गर्न लागेको छ । संघीय सहरी विकास मन्त्रालयको २५ करोड बजेटमा सहायक कृषि सडक निर्माण गर्न लागिएको हो । यसैगरी नगरपालिकाले संघन सहरी विकास आयोजना सञ्चालनका लागि काम अघि बढाएको छ । संघिय सहरी विकास मन्त्रालयकै २० करोड लगानीमा काम अघि बढाएको हो ।

गुर्भाकोट नगरपालिकाको वडा नं. ८, १० र १२ को सिमानामा तीनमुखे पुल निर्माणको काम पनि अघि बढाइएको छ । चालु आर्थिक वर्षबाट काम सुरु गर्नेगरी तयारी थालिएको छ । तीनमुखे पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख पुनले जानकारी दिए । स्थानीय पूर्वाधार विकास मन्त्रालयको २५ करोड लगानीमा पुल निर्माण हुनेछ । नगरपालिकाको वडा नं. १३ , १४ हुँदै चिङ्गाड र सिम्ता गाउँपालिका जोड्ने ११ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । संघीय भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड बजेटमा सडक कालोपत्रे गरिने छ । सडक कालोपत्रेका लागि टेण्डर प्रक्रिया सुरु भएको नगरपालिकाले जानकारी दिएको छ ।

अघिल्ला आर्थिक वर्षहरूमा समेत बाह्य लगानी जुटाएर पूर्वाधार निर्माण गरिएको नगरप्रमुख पुनले जानकारी दिए । उनले भने, ‘यो वर्ष साना–ठूला गरेर दुई दर्जनभन्दा बढी योजना सञ्चालनका लागि लगानी जुटिसकेको छ । अब सम्झौता गरेर काम सुरु गर्छौं ।’ चालु आर्थिक वर्षमा नगरपालिकाको जम्मा बजेट एक अर्ब हो । जसमा विकास बजेट ३० करोड मात्र रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच अर्ब बाह्य लगानी जुटाइसकेको छ । यो वर्ष नगरपालिकाले ठूला दुई आयोजना सञ्चालन गर्ने भएको छ । जसमा भेरी पम्पिङ आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको आयोजनाको पहिलो चरणको कामका लागि टेन्डर आह्वान गरिएको हो ।

दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत चार अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् उपत्यकामा खानेपानी ल्याउने लागिएको जनाइएको छ ।

यसैगरी पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत संघ, प्रदेश र विभिन्न साझेदारी संस्थाहरूबाट एक अर्ब लगानी सुनिश्चित भएको नगरपालिकाले जनाएको छ । जसमा सडक निर्माण विद्यालय भवन निर्माण, ल्याण्ड फिल्ड साइट अन्तर्गतका पूर्वाधार निर्माणलगायतका काम गरिनेछ । चालु आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार विकास कार्यक्रमकका लागि ३१ करोड बजेट विनियोजन गरेको छ । नगरले दातृ निकायको सहयोग जुटाएर समाजिक तथा भौतिक विकासमा खर्च गरिरहेको छ । संघीय र प्रदेश सरकारका साथै गैरसरकारी निकायको सहकार्यमा नगरभित्रै विकास योजना अघि बढाइएको नगरप्रमुख ढकालले बताइन् ।

बाह्य लगानी ल्याएर विकासमा लगाउने गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिका प्रतिनिधिमूलक स्थानीय तह हुन् । यीबाहेकका पालिकाहरूमा पनि बाह्य स्रोतकै सहायताले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका पूर्वाधार बनाइएको छ । बाह्य आर्थिक स्रोत जुटाउने कसरतमा स्थानीय तह लागिपरेका छन् । आन्तरिक स्रोत साधनकै भरमा विकास आयोजना सञ्चालन गर्न निकै चुनौती रहेको पालिका प्रमुखहरू बताउँछन् । स्थानीय तहको पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ । केही स्थानीय तह आफैले बनाएको बजेट कार्यान्वयनमा नै असफल हुने गरेका छन् भने केहीले बाह्य लगानी जुटाएर विकास निर्माणका काम गरिरहेका छन् ।

प्रकाशित मितिः   १६ कार्तिक २०८०, बिहीबार १२:३८