ठेकेदारको लापरबाहीले चारवटा भवन अलपत्र

सुर्खेत: चौकुने गाउँपालिकाका चार वटा वडा कार्यालयका भवन बेवारिसे बनेका छन् । निर्माणाधिन वडा कार्यालयका भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका हुन् । निर्माणको जिम्मा पाएको अमन एण्ड इशा कन्ट्रक्सनले काम अधुरै छोडेर सम्पर्कविहीन भएको छ । आधा काम नसकिँदै निर्माण व्यवसायी सम्पर्कविहीन भएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारको समपूरक कोषको रकमबाट चौकुने गाउँपालिका १, ५, ७ र ९ नम्वर वडा कार्यालय निर्माणाधीन छन् । चारवटै वडा कार्यालयको भवन निर्माणका लागि अमन एण्ड इशा कन्टक्सन कैलालीले ठेक्का लिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा अमन एण्ड इशा कन्टक्सन कैलालीसँग गाउँपालिकाले निर्माणको सम्झौता गरेको थियो । २०७६ फागुन २१ गते भएको सम्झौता अनुसार २०७७ मंसिर ३० गते चार वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा भवन अलपत्र बनेको गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले बताए ।
वडा नं. १ को भवन निर्माणका लागि ८८ लाख ८० हजार नौ सय, वडा नं. ५ को भवन निर्माणका लागि ८६ लाख ४८ हजार, वडा नं. ७ को भवन निर्माणका लागि ८३ लाख ११ हजार र वडा नं. ९ को भवन निर्माणका लागि ८३ लाख २४ हजार बजेट संघीय सरकारको समपूरक कोषबाट पालिकामा आएको थियो । काम नै नभएपछि वडा कार्यालय निर्माणका लागि प्राप्त रकम भने फ्रिज भएको छ । निर्माण कम्पनीले समयमा भवन निर्माण सम्पन्न नगर्दा संघीय सरकारको समपूरक अनुदानको रकम फ्रिज भएको हो ।
गाउँपालिकाले पटक–पटक भवन निर्माणका लागि ताकेता गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेको उपाध्यक्ष बान्तोलाले बताए । भएको रकम पनि फ्रिज भएर जाँदा गाउँपालिकाले ठेकदारका कारण क्षति व्यहोर्नु परेको उनको भनाइ छ । भवन निर्माण अलपत्र हुँदा वडा कार्यालयको सेवा प्रवाहमा समेत असर परेको छ ।
स्वास्थ्य चौकी भवनबाट वडा कार्यालय
आफ्नै भवन नहुँदा चौकुने गाउँपालिका वडा नं. ७ को वडा कार्यालय स्वास्थ्य चौकीको भवनबाट सञ्चालन गरिएको छ । वडाध्यक्ष धनिराम धमलाले भने ‘भवन निर्माण थालेको चार वर्ष पुग्यो । काम छोडेर ठेकेदार भाग्दा अलपत्र छ । स्वास्थ्य चौकीको दुई वटा कोठाबाट सेवा दिइरहेका छौँ ।’ भवन अभावमा कार्यालयको दैनिक कार्यसम्पादनमा कठिनाइ भएको उनले बताए । ‘कार्यालयमा छुट्टै शाखा सञ्चालन गर्नुपर्छ’ धमलाले भने, ‘सबै शाखा एकै ठाउँमा राखेर काम गरिरहेका छौँ ।’
यस्तै ९ नम्बर वडा कार्यालयले समेत सामुदायिक भवनबाट सेवा दिइरहेको छ । ठेकेदारको लापरबाहीले गर्दा निर्माणाधीन भवन अलपत्र परेको वडा अध्यक्ष कविराम खनालले बताए । ‘ठेक्का प्रक्रिया भएर भवन निर्माणको काम अघि बढ्यो’ उनले भने, ‘चार वर्षदेखि भवन अलपत्र अवस्थामा छ ।’ भवनको निर्माणाधीन स्थलमा निर्माण सामग्री यत्रतत्र फालिएको छ । वडा कार्यालयको आफ्नै भवन नहुँदा काम गर्न समस्या भइरहेको उनको भनाइ छ ।
वडा नं. १ को कार्यालयले आफ्नै भवन नहुँदा साविकको गाउँ विकास समितिको महिला भवनबाट सेवा दिइरहेको छ । निर्माणाधीन वडा कार्यालय भवनको जग मात्र बसालिएको चार वर्ष बित्यो । वडा अध्यक्ष जिरक बडुवाल ठेकेदारको लापरबाहीले भवन निर्माण अलपत्र परेको बताउँछन् ।
त्यसैगरी ५ नम्बर वडा कार्यालयले भाडाको घरबाट सेवा दिइरहेको छ । मासिक पाँच हजार भाडा तिरेर भाडाको घरबाट सेवा दिइरहेको वडा अध्यक्ष तुलाराम हिस्की मगरले बताए । उनले भने, ‘भवन निर्माण थालिएको चार वर्ष बितिसक्दासमेत भवन निर्माण अधुरै छन् । बीचमै काम छोडेर ठेकेदार फरार हुँदा थप समस्या भइरहेको छ ।’ विशेष पहल गरेर अलपत्र भवनको निर्माण पूरा गर्ने गाउँपालिकाले जनाइएको छ ।


रजनी याेगी ।