सिसी क्यामेरा मर्मत गर
वीरेन्द्रनगरलाई प्रविधियुक्त ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने योजना नगरपालिकाले अघि सारेको छ । सोही योजनाको आधार तयार गर्न भनेर केहीवर्षयता विभिन्न प्रयासहरू पनि थालिएका छन् । बजार क्षेत्र तथा उपत्यकाका मुख्यचोकमा सिसी क्यामेरा जडान त्यही योजनाअनुसारकै एक कार्य हो । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर पनि भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यहाँ सिसी क्यामेरा राखिएका थिए । अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएकाले सञ्चालनमा ल्याइए पनि त्यसको सदुपयोग हुन सकेको छैन । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । मर्मत सम्भारमा ध्यान नदिँदा सिसी क्यामेरा बेबारिसे बनेका छन् ।
२०७३ सालमा पहिलो पटक सुर्खेत उद्योग वाणिज्य संघको पहलमा नगरमा सिसी क्यामेरा जडान सुरु गरिएको थियो । बजार क्षेत्रको निगरानी र नागरिकको सुरक्षाका लागि त्यतिबेला ३१ स्थानमा सीसी क्यामेरा जडान गरिएका थिए । त्यसपछि प्रदेश सरकारको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सिसी क्यामेरा थप गरेको थियो । करिब एक करोड खर्चिएर ९२ स्थानमा क्यामेरा जडान गरिएका हो । तर ९२ स्थानमा सिसी क्यामेरा जडान भएकोमा हाल तीमध्ये आठ वटाले मात्रै काम गर्छन् । ठूलो लगानीमा जोडिएका ८४ वटा क्यामरा अहिले प्रयोगमा छैनन् । जसले गर्दा सुरक्षा चुनौती बढेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिकजसो सडक दुर्घटना हुने गरेका छन् । तर पछिल्लो समयमा सिसी क्यामेरा बिग्रिएसँगै अपराध र विभिन्न घटनाहरूको अनुसन्धानमा असहज भइरहेको छ । लामो समयदेखि लथालिङ्ग सिसी क्यामेराको मर्मतमा वीरेन्द्रनगर नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छ । प्रहरीका अनुसार अहिले आठ वटा क्यामेराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरु क्यामेराको कन्ट्रोल रुमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेका छन् । सुरक्षा दृष्टिकोणले संवेदनशील रहेको वीरेन्द्रनगरका विभिन्न ठाउँमा राखिएका क्यामेरा बिग्रदा चोरी, लुटपाट, दुर्घटना र विभिन्न अपराधको अनुसन्धानमा चुनौती हुने गरेको हो ।
विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् । सिसी क्यामेरा नगरपालिकाले मर्मत गर्ने गरेको छ । तर बजेट अभाव हुँदा पछिल्लो समय मर्मत गर्न नसकिएको जनाइएको छ । प्रदेश सरकारले राजधानीको सुरक्षाका लागि बजेट विनियोजन नगर्ने र नगरपालिकाको आफ्नो स्रोत नभएकाले सिसी क्यामेरा मर्मत गर्न नसकिएको नगरपालिकाको भनाई छ । प्रदेश राजधानीमा बढ्दो असुरक्षालगायतलाई ध्यानमा राखेर बजार क्षेत्रका सिसी क्यामेरा जडान र मर्मतका लागि नगरपालिका र स्थानीय सरकार गम्भिर हुन जरुरी छ ।
प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार १७:०१
सम्पादकीय ।