सञ्चारमाध्यमको संकटबारे छलफल
सुर्खेत: कर्णाली प्रदेशमा सञ्चालित सञ्चारमाध्यमले भोगेको संकटको बारेमा सरकारको ध्यानाकर्षण गराइएको छ । कर्णाली मिडिया सोसाईटीले बुधवार वीरेन्द्रनगरमा प्रदेश सरकारका मन्त्रीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेर सञ्चारमाध्यमको संरक्षणमा सरकारलाई ध्यानाकर्षण गराएको हो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सञ्चारमाध्यम सञ्चालनमा देखिएका संकटहरू समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले मिडिया विकास कोष बनाएर राहतमूलक कार्यक्रम ल्याउन लागिएको जनाए । साथै विपद्बाट क्षति भएका सञ्चारमाध्यमहरूले कार्यविधिअनुसार राहत पाउने समेत जानकारी दिए ।
यस्तै आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले मिडिया क्षेत्रको हितमा सरकारले योजनावद्ध रूपमा काम गर्ने बताए । नीतिगत रूपमै सम्बोधन हुनेगरी सरकारले पहल गर्ने मन्त्री सिंहको भनाइ थियो ।
कर्णाली मिडिया सोसाईटीका संयोजक सुशीलराज शर्माले समाजमा सञ्चारमाध्यमको भूमिका निकै महŒवपूर्ण रहेको भन्दै संकटमा परेको समयमा सरकारले संरक्षण गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव दिपक बुढाले सरकारको विज्ञापन प्रकाश प्रर्णालीलाई व्यवस्थित र समानुपातिक बनाउनुपर्नेमा जोड दिए । महासंघकै कोषाध्यक्ष गणेशकन्चन भारतीले कोभिड महामारीपछि सञ्चारमाध्यम धरासायी बन्दै गएको भन्दै सरकारले यसतर्फ चासो दिनुपर्ने सुझाव दिए ।
अन्तरक्रियाका सहभागीहरूले सञ्चारमाध्यमहरूले भोगेका विभिन्न समस्याका बारेमा मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै समाधानका लागि सुझाव दिएका छन् । प्रदेश सरकारले पनि स्थानीय सञ्चारमाध्यमको संरक्षणका लागि लोककल्याणकारी विज्ञापनलाई नियमित गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
प्रकाशित मितिः १८ आश्विन २०८०, बिहीबार १६:५९
साझा बिसौनी ।