मदन भण्डारी राजमार्ग स्तरोन्नतिले लियो गति
सुर्खेत: मदन भण्डारी राजमार्गअन्तर्गत सुुर्खेतको पूर्वी क्षेत्रमा पर्ने सडक स्तरोन्नतिको कामले गति लिएको छ । धुलियाबिट–भेडाबारी सडक खण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सडक निर्माणको काम भइरहेको हो । सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ । बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्टक्चरको काम ९० प्रतिशत सकिएको छ । उक्त खण्डमा ८० प्रतिशत ग्रावेलको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । अब मेसिनको काम मात्र बाँकी छ । राजमार्गमा कालोपत्रे भइरहेको सडक दुई लेनको बन्नेछ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाउन लागिएको हो ।
५२ प्रतिशत भौतिक प्रगति
धुलियाविट–भेडाबारी सडक खण्ड निर्माणमा करिब ५२ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडक खण्डमा अहिले निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहका अनुसार दसैँ अगाडि नै तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । वर्षाले असर नगरे कालोपत्रेको काम सम्पन्न हुने उनले बताए । धुलियाविट–भेडाबारीसम्मको ३५ किलोमिटर सडक निर्माणमा करिब आधाभन्दा बढी काम सम्पन्न गरिएको उनको भनाइ छ । उनले भने, ‘अब करिब २५ किलोमिटर सडक कालोपत्रे गर्नका लागि तयार भएको छ । थोरै मात्र स्टक्चरको काम बाँकी छ । समयमा नै काम सक्नेगरी तयारीमा जुटेका छौँ ।’ निर्माण कम्पनीले समेत कामलाई तीव्र रूपमा अघि बढाएको उनले जानकारी दिए । सकेसम्म आयोजनाको म्याद थप्न नपर्नेगरी काम अघि बढेको उनको भनाइ छ ।
रुख कटानको काम अन्तिम चरणमा
सुर्खेत र गुर्भाकोट खण्डमा रुख कटानको काम सकिएको आयोजनाले जनाएको छ । रुख कटानको काम सकिएलगत्तै निर्माणको कामले गति लिएको आयोजनाका इन्जिनियर शाहले जानकारी दिए । लेकवेशी खण्डमा समेत काम भइरहेको छ । काम गर्ने जनशक्ति पर्याप्त भए तोकिएकै समयमा काम सम्पन्न गर्न सकिने शाहले बताए । अहिले दुई सय जनाको जनशक्तिले काम गरिरहेको छ । जनशक्ति बढाएर चार सय पु¥याउन सकिए काम गर्न सहज हुने उनको भनाइ छ ।
दुई वटा ठेक्कामार्फत पुल निर्माणको काम
मदन भण्डारी राजमार्गको धुलियाविट–भेडाबारी सडकखण्डमा १२ वटा मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । जसमध्ये दुई वटा पुल निर्माण सम्पन्न भएका छन् ।
छुट्टा–छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको छ । पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुलको ठेक्का भएकोमा दुई वटा पुल निर्माणको काम सकिएको छ भने पाँच वटा पुलको फाउन्डेसनको काम सम्पन्न भएको बताइएको छ । अबको तीन महिनामा पाँच वटा पुल निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको इन्जिनियर शाहले बताए । अर्को पाँच वटा पुल निर्माणको काम पनि धमाधम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘१२ वटा पुलमध्ये दुई वटाको निर्माण सम्पन्न भएको छ । उक्त पुलमा गाडी गुडाउन थालिएको छ । बाँकी रहेका पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।’
सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुुमान गरिएको छ । ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको छ । लागत अनुुमानभन्दा ४१ प्रतिशत कममा निर्माण कम्पनीसँग सम्झौता भएको हो । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । स्तरोन्नतिका लागि वि.सं. २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । वि.सं. २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको हो । पर्याप्त जनशक्ति र सामग्री भए समयमा नै निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोेड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकवेशी र गुुर्भाकोट नगरपालिकाका भू–भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नतिको काम भइरहेको हो ।
साझा बिसौनी ।