घुमनी थारुको ढकिया

सुर्खेत: घुमनी थारू ७२ वर्षकी भइन् । उमेरले त काम होइन, आराम गर्नुपर्ने समय हो । तर उनीभित्रको जाँगर सुस्ताएको छैन । यो बुढ्यौलीमा पनि उनका हात खाली हुँदैनन् । पुख्र्यौली सीपले पोख्त घुमनीका हातले ढकिया बुन्न थालेको ६ दशक भयो, अझैँ रोकिएका छैनन् ।
खेतबारी, मेलापात, चुलोचौकोबाट बचेको समयमा घुमनी ढकिया बुन्छिन् । सानै उमेरदेखि सीप सिकेकी उनले अहिलेसम्म हजारौँको संख्यामा ढकिया बुनिसकेकी छिन् । भन्छिन्, ‘उमेरमा त दुई÷तीन दिनमै एउटा ढकिया बुन्थेँ । बेच्ने पनि गर्थेँ, अहिले १२ ÷१३ दिनमा एउटा बुन्ने गरेको छु ।’
उमेरले उकालो चढिरहँदा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० निवासी घुमनी थारु परम्परागत पहिचानसहितको ढकिया बुन्ने पेसा संकटमा पर्ने हो कि भन्ने चिन्ताले पिरोलिन्छिन् । त्यसो त पछिल्लो समय थारू समुदायको परम्परागत सीप हराउँदै गएको आभास उनलाई भइरहन्छ । ६० वर्षदेखि ढकिया बुनिरहेकी उनी आफ्नो समुदायको सीपलाई जोगाउनुपर्छ भन्ने पक्षमा छिन् । त्यसैले पछिल्लो पुस्ताले पनि सिके हुन्थ्यो भन्ने लाग्छ । तर उनको घरमा छोरी–बुहारीलाई ढकिया बुन्न आउँदैन । उनले नसिकाएकी पनि होइनन् । तर उनीहरूले यसप्रति चासो दिएनन् । ‘छोरी बुहारीले ढकिया बुन्न जान्दैनन् । चासो पनि लिँदैनन् । हाम्रो चलनमा बिहे, भोजभतेरमा समेत ढकिया प्रयोग हुन्थ्यो । अहिले हराउँदै गएको छ’ उनले भनिन् ।
‘ढकिया थारू जातीको पहिचानसँग जोडिएको छ, नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।’
वनमा पाइने काँस र मुज घाँसबाट आकर्षक र परम्परागत ढकिया बुन्नेगरेको उनले बताइन् । थारूले भनिन्, ‘ढकियाले थारू समुदायको पहिचान पनि झल्काउँछ । अन्य समुदायका महिला यसप्रति लोभिन्छन् ।’ प्रविधिको विकाससँगै कला–संस्कृतिको धनी थारू समुदाय आफ्नो पहिचान भुल्दै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । थारू कला, परम्परा र संस्कृति जोगाइराख्न पनि ढकिया बुन्न छोडेकी छैनन् । सेतै कपाल फुलेकी घुमनीले आफ्नो परम्परा भुलेकी छैनन् । घरायसी सामान राख्नका लागि ढकियाको प्रयोग गर्दै आएको उनले बताइन् । आफूले सीकेको सीपलाई पुस्तान्तरण गर्न नसकिएको घुमनी बताउँछिन् । पाहुनाहरूलाई उपहारका रूपमा उनी ढकिया नै दिन्छिन् । लोप हुन लागेको ढकियाको संरक्षणका लागि नयाँ पुस्तालाई यससम्बन्धी तालिम दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘ढकियाले थारू समुदायको पहिचान झल्काउँछ’ उनी भन्छिन्, ‘तर थारू समुदायका युवाले ढकिया बुन्नतर्फ ध्यान नदिएकाले उनीहरूलाई तालिमको आवश्यकता छ ।’
थारू समुदायमा पछिल्लो समय ढकिया लोप हुन थालेको छ । उक्त समुदायको पहिचानसँग जोडिएको ढकिया बनाउने परम्परागत थारू सीप हराउँदै गएपछि लोप हुन थालेको थारू अगुवा दीपबहादुर चौधरीले बताए । ‘ढकिया थारू जातीको पहिचानसँग जोडिएको छ’ उनले भने ‘नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।’ नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान जोगाउनतर्फ कुनै ध्यान नदिँदा लोप हुने अवस्थामा रहेको अर्का थारू अगुवा धनबहादुर चौधरी बताउँछन् । नयाँ पुस्तालाई ढकियाको महŒव बुझाएर प्रेरित गर्नुपर्ने समेत उनको तर्क छ ।
पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने र विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानको रूपमा ढकिया दिने थारू समुदायको चलन रहेको थारू अगुवा रूपलाल चौधरीले बताए । साथै थारु समुदायको कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि यसको प्रयोग गर्ने गरिएको छ । अतिथिलाई उपहारका रूपमा ढकिया दिने चलन रहँदै आएको छ । लोप हुन लागेको ढकियाको संरक्षणका लागि नयाँ पुस्तालाई यससम्बन्धी तालिम दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
अर्का थारू अगुवा मानबहादुर चौधरी ढकियालाई सुर्खेतको चिनोको रूपमा विकास गर्नुपर्ने मत राख्छन् । उनले भने, ‘प्रदेश र स्थानीय सरकारको समन्वयमा ढकियालाई सुर्खेतको चिनोका रूपमा विकास गर्नुपर्छ ।’ वनमा पाइने बाँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ ।
प्रकाशित मितिः २७ श्रावण २०८०, शनिबार ०५:०५
रजनी याेगी ।