महिला वकिललाई अवरोधै अवरोध

सुर्खेत: राजन चन्द हुम्ला जिल्ला अदालतमा वैतनिक वकिलको रूपमा काम गर्छिन् । नेपाल कानुन व्यवसायी परिषद्बाट २०७५ सालमा परीक्षा पास गरेर अधिवक्ताको लाइसेन्स लिएपछि राजन वकालत् पेसामा संलग्न भइन् । उनले वकिल बनेर कालो कोट लगाउने सपना पूरा गरिन् । तर, महिलालाई कालो कोट लगाएर हिँड्न कति चुनौतीपूर्ण छ भन्ने कानुन व्यवसायमा आएपछि मात्र उनलाई महशुस भयो । पुरुषसरह अध्ययन गरेर पेसामा संलग्न भएपनि उनले महिला भएकै कारण विभिन्न विभेद र प्रश्नको सामना गर्नुप¥यो ।

आफ्नो पेसा, गरिने कार्यशैलिप्रति बारम्बार प्रश्न उठ्ने गरेको चन्द बताउँछिन् । पुरुषलाई अब्बल अधिवक्ताको रूपमा हेर्ने र महिलालाई कमजोर रूपमा हेरिने गरेको उनले सुनाइन् । महिला र पुरुषबीच हुने विभेदका अनेकौ अनुभव बटुलेकी चन्दले आफ्नो काम भने निरन्तर अघि बढाएकी छिन् । पुरुष अधिवक्ताले उनका बारेमा गरेको टिप्पणी सम्झदा अहिले पनि उनको मन कटक्क खान्छ । सार्वजनिक सरोकार, घरेलु हिंसा र अंशबन्डालगायतका मुद्दामा बहस गर्दै आएकी उनलाई महिला अधिवक्तालाई सेवाग्राहीले पत्याउन नसक्नु पितृसत्तात्मक समाजको दोष हो भन्ने लागेको छ । अधिकार, न्याय र कानुनका जानकार भएर पनि यस क्षेत्रका पुरुष पितृसत्तात्मक घेराबाट बाहिर निस्कन नसकेको उनले बताइन् । महिलालाई सहयोग गरेर अगाडि पढाउनु पर्नेमा उल्टै उनीहरूलाई निरुत्साहित गर्ने प्रवृतिका कारण वकिल पेसामा महिलाले स्थान बनाउन कठिन रहेको राजनको बुझाइ छ ।

यस्तै मनिषा भण्डारीले रूकुमपश्मि जिल्ला अदालतमा वैतनिक वकिलको रूपमा काम गर्छिन् । उनले महिलामाथि भएका हिंसाविरुद्ध आफू नै अधिवक्ता भएर काम गर्ने उद्देश्यका साथ कानुनी विषय रोजिन् । समाजमा गरिने नकारात्मक टिप्पणीको बेवास्ता गर्दै उनले अध्ययनलाई पूरा गरेर २०७७ सालबाट व्यावसायिक रूपमा यो पेसामा लागिन् । जिल्ला अदालतलाई कार्यक्षेत्र बनाएर उनले काम गर्दै आएकी छिन् । महिलाले मुद्दा लड्न सक्छन् भन्ने सोच नहुँदा सेवाग्राहीलाई विश्वास दिलाउनै कठिन भइरहेको उनको भनाइ छ । महिला हिंसाका मुद्दामा बहस गरेकी उनीसँग तीता अनुभव पनि छन् । पहिलेभन्दा अहिलेको वकालती पेसा केही हदमा सहज हुँदै गइरहेको उनले बताइन् । चुनौतीको सामना गर्दै पेसालाई निरन्तरता दिएकी भण्डारी आफ्नो पेसामा निरन्तर लागिरहेकी छन् । वकालती पेसा महिलाहरूका लागि पारिवारिक, सामाजिक, लैङ्गिक दृष्टिकोणले अझै सहज बन्न नसकेको अनुभव भण्डारीको छ । ‘पुरुषको तुलनामा महिला यस पेसामा निकै कम छन् । त्यस्तै पारिश्रमिक पनि महिला र पुरुष अधिवक्तामा फरक छ । उनले भनिन्, ‘पुरुष र महिलाले गर्ने काम उही भएपनि पारिश्रमिकमा विभेद छ ।’ उनका अनुसार एउटै प्रकृतिको मुद्दामा पनि पुरुष साथीहरूले मागे बमोजिम नै पारिश्रमिक पाउँछन् तर महिलालाई कम पैसा दिनका लागि अनेकन कुरा गर्ने गरिएको उनले सुनाइन् ।

सविता शाह सुर्खेतमा रहेर वकालत गर्छिन् । कानुन विषय अध्ययन गरेपनि व्यावहारिक रूपमा महिलाहरूले यसलाई पेसा बनाउन नसकेको उनको अनुभव छ । महिला भएकै कारण अधिवक्ता भएर काम गर्न असहज हुने गरेको उनले बताइन् । उनले भनिन, ‘नागरिकले विश्वास कम गर्ने, धेरै समय दिन नसकिने, विभिन्न धम्की आउने, पुरुष अधिवक्ताबाट असयोग हुने हुँदा काम गर्न समस्या हुने गरेको छ ।’

सुर्खेतमा सक्रिय रूपमा वकालत गरिरहेकी अधिवक्ता गिता कोइराला महिलाका लागि यो पेसा चुनौतीपूर्ण रहेको बताउँछिन् । महिलाले लडेका मुद्दा हारिन्छ, काम गर्न सक्दैनन् जस्ता कार्यसम्पादनमा प्रश्न उठ्ने गरेको उनको भनाइ छ । पीडितको मुद्दा हेरिरहँदा विभिन्न किसिमका धम्कीको सामना गरिरहेको कोइरालाले बताइन् । उनी भन्छिन्, ‘पीडितको पक्षमा मुद्दा हेर्दाहेर्दै आफै पीडित बन्नुपर्ने अवस्था छ । महिलाको कामको उचित मूल्याङ्कन हुन सकेको छैन ।’ कोइराला उच्च अदालत सुर्खेतमा वैतनिक वकिलको रूपमा काम गर्छिन् ।

प्रकाशित मितिः   २२ बैशाख २०८०, शुक्रबार ०८:२९