‘विकासका लागि कर्मचारीको योगदान उच्च’

सुर्खेत: कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशको विकासका लागि कर्मचारीहरूको योगदान उच्च रहने बताएका छन् । सोमवार प्रदेश लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री सिंहले कर्मचारीले उच्च मनोबलका साथ काम नगर्दासम्म विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् ।
मन्त्री सिंहले कर्मचारीको मनोबल बढाउन आफूले सहयोग गर्ने समेत बताए । ‘कानुनी र विधिसम्मत हुने कुरामा म तपाईंहरूको पहरेदार बन्न तयार छु । अभिभावक बन्न तयार छु’, उनले भने, ‘तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुहोस् । तपाईं–हामी मिलेर नै कर्णालीलाई समृद्ध बनाउने हो ।’ अब बजेट निर्माणको तयारीमा जुट्ने समय आएको भन्दै मन्त्री सिंहले कार्यक्रम तर्जुमा गर्ने तर सञ्चालन गर्न नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने काम नगर्ने हो भने चरम निराशा उत्पन्न हुने उनको भनाइ थियो । जनतालाई प्रत्यक्ष राहत महसुस हुनेगरि नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए । ‘जनतालाई भ्रममा राखेर अघि बढ्ने छुट छैन । कार्यान्वयन गर्न नसक्ने योजना तर्जुमा नगरौँ । प्रदेशलाई नमूना बनाउने हो । त्यो जिम्मेवारी तपाईं–हाम्रै काँधमा छ । जनतामा देखिएको निराशालाई कम गर्दै अघि बढ्ने हो’, मन्त्री सिंहले भने । मन्त्री सिंहले जेठ १५ गतेपछि हुने रकमान्तर रोक्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
प्रकाशित मितिः १२ बैशाख २०८०, मंगलवार ०५:०२
साझा बिसौनी ।