नौ महिनामा २६ प्रतिशत बजेट खर्च

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार वार्षिक बजेट विनियोजन गरेको थियो । चैत मसान्तसम्म आठ अर्ब ६३ करोड ३६ लाख ५९ हजार अर्थात् २६.४७ प्रतिशतमात्र बजेट कार्यान्वयन गरिएको हो ।

विकास बजेट खर्चमा प्रदेश सरकार अझ कमजोर देखिएको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष १९ अर्ब ५२ करोड १२ लाख २९ हजार वार्षिक विकास बजेट रहेकोमा चैत मसान्तसम्म जम्मा चार अर्ब ३१ करोड ७२ लाख ८२ हजार दुई सय नौ अर्थात् २२.१२ प्रतिशत मात्र बजेट कार्यान्वयनमा आएको छ । फागुन मसान्तसम्म विकास बजेट १६.६८ प्रतिशत कार्यान्वयन भएको थियो ।

चालु र पुँजीगत बजेट गरी ११ अर्बभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले नौ महिनामा २०.०८ प्रतिशतमात्रै बजेट कार्यान्वयन गरेको छ भने पाँच अर्ब ९६ करोड ३३ लाख ३० हजार वार्षिक बजेट रहेको सामाजिक विकास मन्त्रालयले ३८.७२ प्रतिशत बजेट कार्यान्वयन गर्न सकेको छ । त्यसैगरी ६७ करोड ३५ लाखभन्दा बढी वार्षिक बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७.५८ प्रतिशत, २१ करोड ५५ लाखभन्दा बढी बजेट रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले ४३.८२ प्रतिशत, दुई अर्ब १६ करोड ८९ लाख बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २५.६२ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् । तीन अर्ब ८१ करोड ९८ लाखभन्दा बढी बजेट रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले २८.२८ प्रतिशत, दुई अर्ब ४१ करोड ३१ लाख भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २२.७८ प्रतिशत र ३० करोडभन्दा बढी बजेट रहेको कानुन मन्त्रालयले २५ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् ।

यस्तै तीन करोड ६४ लाख ६५ हजार बजेट रहेको प्रदेश योजना आयोगले १९.५९ प्रतिशत, प्रदेश व्यवस्थापिकाले ३६.४२ प्रतिशत र ११ करोड ५४ लाखभन्दा बढी बजेट रहेको प्रदेश लोक सेवा आयोगले हालसम्म ५४.९५ प्रतिशत बजेट कार्यान्वयन गरेका छन् । एक करोड ८६ लाख ३६ हजार वार्षिक बजेट रहेको मुख्य न्यायाधिवक्ताको कार्यालयले ६१.४४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ ।

प्रकाशित मितिः   १२ बैशाख २०८०, मंगलवार ०५:०१