समयमै पुस्तक
कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुन्छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । विकट हिमाली जिल्लाहरूमा मात्रै होइन, सुगम मानिने सुर्खेतसहितका जिल्लाहरूका विद्यार्थीले समेत समयमै पुस्तक पाएनन् । हिमाली जिल्लाहरूका साथै सुर्खेत, दैलेख र जाजरकोटलगायतका जिल्लाहरूमा पनि पर्याप्त पुस्तक पुगेको थिएन । व्यवसायीहरूका अनुसार गत वर्षको आधा शैक्षिक सत्र सकिँदासम्म पनि ठूलो संख्यमा विद्यार्थीहरूले पुस्तक पाएका थिएनन् । व्यवसायीहरूले अग्रीम रकम बुझाउँदा समेत जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध गराउन सकेको थिएन । आधा शैक्षिक सत्र सबै पुस्तक नपाएर बित्यो । तर यसवर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्नेगरी तयारी गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेको जनाएको छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको केन्द्रको दाबी छ ।
हिमाली जिल्लाहरू हुम्ला, डोल्पा र मुगुसहित जुम्ला र कालीकोटमा पनि पुस्तक गइसकेको छ । वैशाखको पहिलो साताभित्रै सबै जिल्लामा पुस्तक पु¥याउने योजना सुर्खेतस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले बनाएको छ । कार्यालयले जिल्लाअनुसार पालो निर्धारण गरेको छ । पालो अनुसार वैशाखको ६ गतेसम्म सबै जिल्लामा पुस्तक पु¥याउने जनाइएको छ । दुर्गम जिल्लाहरूको पहिले पाइलो तोकिएको छ भने अलिक सुगम जिल्लाहरूलाई पछाडि राखिएको छ । कार्यालयका अनुसार यो वर्ष कर्णालीमा तीसदेखि पैतिस हजार पुस्तकको माग रहेको छ । गोदाममा तीस हजार पुस्तक आइसकेको छ । बाँकी रहेको पाँच हजार पुस्तक केही दिनमा केन्द्रबाट ल्याउने तयारी छ । कार्यालयबाट पुस्तक व्यवसायीहरूले किताब खरिद गरी विद्यालयहरूलाई बिक्री गर्नेछन् । पालो ढिलो आउने र पुस्तकसमेत नपुग्ने समस्या सुर्खेतले विगतदेखि नै झेल्दै आएको छ । यो वर्ष पनि त्यस्तै हुनेमा सुर्खेतका व्यवसायीहरूको चिन्ता छ । कर्णालीका दुर्गम जिल्लामा समयै पुस्तक पुगे पनि सुर्खेतलगायतका सुगम जिल्लाका पुग्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको व्यवसायीहरू बताउँछन् ।
विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु भइसकेको छ । भर्नासँगै विद्यार्थीहरूको हातहातमा पुस्तक पुर्याउन ध्यान दिन जरुरी छ । समयमै विद्यार्थीले पुस्तक नै नपाउने र पढाई सुरु हुनाले पठनपाठनमा समस्या हुने गरेको छ । यद्यपि, यस वर्ष भने भर्ना अभियान सँगसँगै विद्यार्थीलाई पुस्तक वितरण गर्ने तयारीले उक्त समस्यालाई भने समाधान गर्ने देखिन्छ ।
प्रकाशित मितिः ४ बैशाख २०८०, सोमबार ०५:०३
सम्पादकीय ।