कर्णालीमा स्वास्थ्य जनशक्तिको चरम अभाव

आधा भन्दा बढी पद रिक्त, करारको भरमा स्वास्थ्य संस्था

सुर्खेत: कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । स्थायी दरबन्दीतर्फ आधाभन्दा पनि कम कर्मचारी मात्रै पदपूर्ति गरिएको छ भने ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन् । विशेषज्ञ चिकित्सक नै निकै न्यून छन् । जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा १२ हजार पाँच सय ९२ जनाको स्वास्थ्यको जिम्मा पर्ने देखिन्छ ।

प्रदेशमा स्वास्थ्य सेवातर्फ नौ सय नौ जना कर्मचारीको दरबन्दी छ । तर त्यसमध्ये हाल तीन सय २७ जनाको मात्रै पदपूर्ति भएको छ, पाँच सय ८२ जनाको स्थायी दरबन्दी रिक्त छ । कार्यरतमध्ये चिकित्सक एक सय ३५ जना छन् । रिक्त पदमध्ये विशेषज्ञ चिकित्सकको पद धेरै छ । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको छ । प्रदेशभर झन्डै आठ सयको संख्यामा अस्थायी र करार जनशक्ति भर्ना गरिएको छ । करार दरबन्दीमा दुई ५२ जना कार्यरत छन् भने अस्थायी र अन्य करारमा गरेर पाँच सय ४६ जना कर्मचारी छन् ।

कर्णालीका दशमध्ये आठ जिल्लामा जिल्ला अस्पताल छन् । त्यसबाहेक सुर्खेतमा प्रदेश अस्पताल, मेहेलकुना अस्पताल र जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । प्रदेशमा विशेषज्ञ चिकित्सक अभाव रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् । उनले भने, ‘सम्बन्धित जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुने गरेको छ । जिल्लामा नै हुनुपर्ने उपचार हुन सकेको छैन । करारको भरमा सेवा सञ्चालन भइरहेको छ ।’ जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य प्रवाह हुन सकेको छैन ।

नसर्ने रोगको प्रकोप बढ्दो

स्वास्थ्य जनशक्तिको अभाव त छँदै छ, प्रदेशमा नसर्ने रोगको प्रकोप बढिरहेकाले यसलाई नियन्त्रण गर्न थप चुनौती रहेको निर्देशक खड्काले बताए । नसर्ने रोगको रोगथाम, नियन्त्रण तथा पर्याप्त उपचारका लागि सुविधा सम्पन्न व्यवस्था हुन नसक्दा उपचारमा समस्या हुने गरेको छ । उनले भने, ‘सर्ने रोगकोे प्रकोप छँदैछ । दिनानुदिन नसर्ने रोगको प्रकोप बढ्दै छ । यसले थप समस्या निम्त्याएको छ । नसर्ने रोगको खतरा दिनप्रतिदिन बढ्दै गएकाले समयमै सचेत हुन आग्रहसमेत उनले गरे । पछिल्लो दुई÷चार वर्षको अवधिलाई आधार मान्ने हो भने नसर्ने रोग भयावह स्थितिमा बढिरहेको भन्दै डा. खड्काले रोग नियन्त्रणमा चासो दिन नसके थप समस्या आउने बताए । नसर्ने रोगमध्ये असाध्यै बढिरहेको क्यान्सर रोग नियन्त्रण गर्न सबैको प्रयास आवश्यक रहेको उनले बताए । क्यान्सर लागिसकेपछि उपचार गर्न लाखौँ खर्चिनुभन्दा यसलाई रोक्नका लागि समयमै जनचेतना जगाएर स्वास्थ्यप्रति सजग हुनुपर्नेमा खड्काको जोड छ ।

बिरामीलाई अस्पताल लैजानै समस्या

प्रदेशको विशेष भौगोलिक अवस्थाका कारण हरेक वर्ष प्राकृतिक प्रकोप, सडक दुर्घटना, चोटपटकको उचित उपचार हुन सकेको छैन । बिरामीलाई उपचारका लागि अस्पतालसम्म पु¥याउनै समस्या हुन्छ । अझ हुम्ला, मुगु, डोल्पाका बिरामीलाई सुुविधासम्पन्न अस्पताल पु¥याउन त जहाजको विकल्प छैन । जिल्लामा उपचार हुन नसक्दा बिरामीले सास्ती खेप्नुपरिरहेकै छ । निर्देशक डा. खड्काका अनुसार हिमाली जिल्लाका बिरामीलाई सुर्खेत वा नेपालगञ्ज उपचार गर्न ल्याउन मात्रै कम्तीमा एक लाख रूपैयाँ खर्चिनुपर्छ । ‘जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी हुँदा दुई÷तीन हजारमा उपचार हुने बिरामीलाई नेपालगञ्ज वा सुर्खेत ल्याएर उपचार गर्दा बिरामी र कुरुवासमेतको खर्च कम्तीमा एक लाख पर्न आउँछ,’ उनले भने । दीर्घ तथा गम्भीर प्रकृतिको रोगको उपचार व्यक्ति स्वयम्ले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अलपत्र

कमजोर गुणस्तर, झन्झटिलो प्रक्रिया लगायतले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पर्ने खतरा बढेको निर्देशक खड्काले बताए । उनका अनुसार पछिल्लो समय बीमा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी बीमितले बीमा सुविधा लिन धेरै नै दुःख भएको गुनासो गर्ने गरेको उनको भनाइ छ । अस्पतालको फार्मेसीमा बीमा योजनामा निःशुल्क तोकिएको औषधि नपाइने, सेवा लिन निकै झन्झटिलो भइरहेको सेवाग्राहीको भनाइ छ । उनले भने, ‘बीमामा काम गर्ने जनशक्ति अभाव छ । अहिले जिल्ला–जिल्लामा एक–एक जना र प्रदेशमा तीन जनाको भरमा कार्य सञ्चालन भइरहेको छ ।’ कर्मचारी अभावले गर्दा बीमा कार्यक्रम अलपत्र परेको हो ।

कुपोषण बढ्दै

प्रदेशमा पछिल्लो समय कुपोषण जनस्वास्थ्यको समस्या बन्दै गएको छ । डा. खड्का भन्छन, ‘पोषण तŒवको कमी, अधिक पोषण र न्यून पोषणका कारण कुपोषण समस्याका रूपमा देखा परिरहेको छ ।’

प्रकाशित मितिः   २५ चैत्र २०७९, शनिबार ०५:०८