१६ वडामा लैंगिक समानतासम्बन्धी तालिम

सुर्खेत: वीरेन्द्रनगरको १६ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम दिइने भएको छ । सुर्खेत अपाङ्ग समाजको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको समन्वय र संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा वीरेन्द्रनगरका १६ वटै वडामा सञ्चालन हुने गरी शनिवार तालिमको उद्घाटन गरिएको हो ।
शनिवार वीरेन्द्रनगरको वडा नं. १०, ११ र १२ का सहभागीहरूलाई तालिम दिइएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीको प्रमुख आथित्यता तथा सुर्खेत अपाङ्ग समाजका अध्यक्ष मयाराम जैशीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो ।
उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले सामाजिक विकास र चेतनाको विकास नै ठूलो विकास भएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण र अन्य विषयमा तालिमको आयोजना गर्नु त्यसैको उदाहरण भएको भन्दै प्रशंसा गरे । अपाङ्गता क्षेत्रमा निर्माण गर्नुपर्ने नीति तथा कार्यक्रमका विषयमा समेत वीरेन्द्रनगर नगरपालिका सकारात्मक भएको उनले जनाए ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य घनश्याम केसीले अपाङ्गता समस्या नभइ एउटा अवस्था भएकोले यसमा दयाको पात्रभन्दा पनि अधिकारका विषयमा कुरा गरिनुपर्ने र राज्यले पनि त्यसैगरी बुझ्नुपर्ने बताए । सुर्खेत अपाङ्ग समाजका अध्यक्ष मयाराम जैशीले राज्यले पूर्वाधार क्षेत्रमा मात्रै लगानी नगरी सामाजिक विकासमा समेत लगानी गर्न सके राम्रो हुने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो अधिकारका विषयमा समेत जान्ने अधिकार भएकोले यसमा सबैको सहयोग र समन्वय आवश्यक रहेको औंल्याए ।
सहभागिहरूलाई प्रशिक्षकद्वय टिका विष्ट र सीता वलीले तालिम दिएका हुन् । वीरेन्द्रनगरका १६ वटै वडालाई समेटेर आठ दिनसम्म तालिम सञ्चालन हुने जनाइएको छ ।
प्रकाशित मितिः १२ चैत्र २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।