दुई महिनापछि आज प्रदेशसभा बैठक

सुर्खेत: दुई महिनायता स्थगित रहेको कर्णाली प्रदेशसभाको बैठक आज(आइतवार) बस्दैछ । दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको छ ।

लामो समयपछि बस्न लागेको बैठकका लागि अघिल्लो दिनसम्म कार्यसूचि तय भने भइसकेको छैन । सचिवालयका अनुसार सभामुख नन्दा गुरुङले आइतवार दिउँसो १ बजे सर्बदलीय बैठक राखेकी छिन् । सोही बैठकले कार्यसूची तय गर्ने जनाइएको छ । कार्यव्यवस्था परामर्श समिति गठन नभइसकेकाले सर्बदलीय बैठकबाट कार्यसूची तयार गर्न थालिएको हो ।

गत माघ ६ गते यता सभाको बैठक बसेको थिएन । उक्त बैठकबाट मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका थिए । त्यसपछि भने अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । सरकारले ‘विजनेश’ दिन नसक्दा संसद् सञ्चालन हुन नसकेको हो । कानुनतः प्रदेशसभालाई सरकारले काम दिने हो । सरकारले आवश्यक विधेयक टेबुल गरेपछि संसद्मा त्यसमाथिको छलफल हुन्छ । आवश्यक छलफलसहित पारित भएपछि कानुन बन्छ । तर नयाँ बनेको सरकारले भने प्रदेशसभालाई लामो समय कामविहीन बनाएको छ ।

संसद् अधिवेशन सुरु भएयता सभाको ६ वटा बैठक मात्रै सम्पन्न भएका छन् । ति बैठकहरूबाट सभामुख र उपसभामुखको चयनसँगै मुख्यमन्त्रीले विश्वासको मत लिनेबाहेक अन्य कुनै काम हुन सकेको छैन । नयाँ कार्यकालमा सरकारले नयाँ विधेयक बनाएर संसद्मा टेबुल गर्न सकेको छैन । सरकारले न नयाँ विधेयक पेस गरेको छ न त अहिलेसम्म सभाका संसदीय समितिहरू गठनसमेत हुन सकेका छन् ।

प्रकाशित मितिः   १२ चैत्र २०७९, आईतवार ०५:०२