विद्यालय छोड्ने समस्या

अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा आइतवारदेखि कक्षा ९ को वार्षिक परीक्षा सुरु भएको छ । तर उक्त कक्षामा भर्ना भएकामध्ये सात जना विद्यार्थी परीक्षा दिन आएनन् । सातमध्ये पाँच जना दलित समुदायका बालबालिका थिए । यो त एक दृष्टान्त मात्रै हो, हरेक वर्ष बीचमै पढाइ छोड्ने दर हेर्दा धेरैजसो दलित समुदायका बालबालिका हुने गरेका छन् । आर्थिक रूपमा विपन्न, सिकाई उपलब्धी कमजोर भएका बालबालिकाले बीचमै पढाइ छोड्ने गरेका हुन् ।

दैलेखको दुल्लू नगरपालिका–१०भाल्कमा तीन दर्जन बढी दलित परिवारको बसोबास छ । तर उक्त बस्तीबाट एसईई उत्तीर्ण गर्नेको संख्या ६ जना मात्रै छ । अन्य कसैले पनि माध्यमिक तहको पढाइ पूरा गरेका छैनन् । ४० घरधुरी रहेको भाल्कस्थित दलित बस्तीमा तीन छात्रा र तीन छात्रले मात्र माध्यमिक तहसम्मको अध्ययन गरेका छन् । अधिकांश दलित विद्यार्थीहरू प्राथमिक तहमै पढाइ छोड्ने गरेको पाइएको छ । घरखर्च टार्नकै लागि मजदुरी गर्न भारतमा जानुपर्ने बाध्यता छ । गाउँमा रोजगारी पाइदैन । गरिबीका कारण बालबालिका पढाइ छोडेर मजदुरी गर्दछन् । आर्थिक उपार्जनका लागि दलित बस्तीका विद्यार्थीहरू आधा पढाइ छोडेर ज्यालादारी काममा जाने प्रवृत्ति बढेको छ । अभिभावकसँगै बालबालिका पनि भारतमा जान्छन् । अभिभावकमा जनचेतना समेत छैन । आमाबाबु शिक्षित नहुँदा घरमा पनि पढ्न नपाउने, आर्थिक अवस्था कमजोर हुँदा अधिकांशलाई सानो उमेरमै घरधन्दामा व्यस्त हुनुपर्ने बाध्यता पनि छ ।

शिक्षा हरेक बालबालिकाको आधारभूत र मौलिक अधिकार हो । तर अहिले पनि सबै बालबालिकाले शिक्षा पाउन सकेका छैनन् । कैयौं बालबालिकाले पढाइ पूरा गर्न पाउँदैनन् । आर्थिक अवस्था कमजोर हुनु, परिवारकै भूमिका बलियो नहुँनु, जनचेतनाको कमी लगायतले बीचमै पढाइ छोडने दर बढेको छ । कर्णाली प्रदेशमै यसरी बीचमै पढाइ छोड्ने दर उच्च छ । शैक्षिक सत्र २०७८ को शैक्षिक तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार दशमलव सात प्रतिशतले बीचमै पढाइ छोडेका छन् । कक्षा १ मा चार दशमलव पाँच प्रतिशत, कक्षा दुईमा तीन दशमलव चार, कक्षा तीनमा दुई दशमलव चार, कक्षा चारमा दुई दशमलव तीन र कक्षा ५ मा दुई प्रतिशतले बीचमै पढाइ छोडेका हुन् । प्रदेशभर कक्षा १–५ सम्म बीचमै पढाइ छोड्ने दर तीन दशमलव एक प्रतिशत रहेको छ । यसैगरी कक्षा ६ मा दुई दशमलव तीन प्रतिशतले बीचमै पढाइ छोडेका छन् भने कक्षा ७ मा तीन दशमलव चार र कक्षा ८ मा तीन दशमलव ६ प्रतिशतले पढाइ पूरा नगरेरै विद्यालय छोडेका छन् ।

प्रकाशित मितिः   ८ चैत्र २०७९, बुधबार ०५:०३