बेतन कर्णाली जलविद्युत आयोजना

निर्माणपूर्वको तयारी अन्तिम चरणमा

सुर्खेत: आगामी वर्षदेखि निर्माण सुरु हुने बेतन कर्णाली जलविद्युत आयोजनाको पूर्वतयारी अन्तिम चरणमा पुगेको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भएसँगै आयोजना निर्माण अघिका तयारी अघि बढाइएको हो । अहिले निर्माणपूर्वको तयारी धमाधम चलिरहेको छ ।

चार सय ३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजना निर्माणका लागि आयोजना निर्माणपूर्वका काम अन्तिम चरणमा पुगेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख उपेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार आयोजनाका मुख्य संरचनाहरू अछामको ढकारी गाउँपालिका वडा ६ मा निर्माण हुनेछन् । ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ । आउँदो आर्थिक वर्ष २०८०÷०८१ देखि मुख्य आयोजनाको काम सुरु हुने न्यौपानले जानकारी दिए ।

हाल आयोजना पहुँच–मार्ग विस्तार, क्याम्पहाउस र विद्युत विस्तार लगायतका काम भइरहेका छन् । निर्माणपूर्व तीन मिटर व्यास र ७० मिटर लम्बाइका दुई तथा एक सय र दुई सय मिटर लम्बाइका एक÷एक गरी चार वटा अडिट टनेल निर्माण सम्पन्न भएका छन् । अछाम खण्डबाट आयोजनास्थलसम्म पहुँचमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ । उक्त खण्डमा १६ किलोमिटर पहुँचमार्ग विस्तार भइ बाँधस्थल र विद्युतगृहसम्म सडक पुगेको छ । यसैगरी सुर्खेत खण्डमा १६ किलोमिटर पहुँमार्ग निर्माण गर्नुपर्नेमध्ये १२ किलोमिटर निर्माणको काम सम्पन्न भएको छ । बाँकी रहेको चार मिलोमिटर निर्माणको काम चलिरहेको छ । सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट बाँधस्थलसम्म १६ किलोमिटर पहुँच–मार्ग निर्माण हुनेछ ।

आयोजनास्थलमा विद्युत विस्तारको प्रक्रिया पनि सुरु भएको छ । विद्युत विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सकिएको छ । अब कन्ट्रक्सनको काम सुरु हुनेछ । अध्ययनको काम सम्पन्न भइ कन्ट्रक्सनको काम सुरु हुन लागेको हो । विद्युत खरिद–बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँगको सम्झौताको तयारी समेत अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले अब भेरी नदीमा पुल निर्माण गर्न बाँकी छ । त्यसैगरी कैलालीको सुगरखालदेखि ३३ केभिए विद्युत प्रसारण लाइन विस्तारको काम अगाडि बढाइएको आयोजनाले जनाएको छ । यसरी आवश्यक पूर्वाधारहरू तयार गरेर मुख्य आयोजना निर्माणको काम आउँदो वर्षबाट अघि बढाइने छ ।

प्रभावित क्षेत्रमा जग्गाको मुआब्जा वितरण गर्ने कामको समेत थालनी गरिएको छ । आयोजनाको प्रभावित क्षेत्रका स्थानीयले १० प्रतिशत शेयर पाउने छन् । आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका ६, पञ्चपुरी नगरपालिकाको वडा नं. ७ तथा अछामको ढकारी गाउँपालिकाको वडा नं. ६/७ र तुर्माखाँद गाउँपालिकाका वडा नं. ३, ४ र ५ वडाका बासिन्दा प्रभावित हुनेछन् । अछामको दुई पालिकामा अबको केही दिनमा मुआब्जा वितरणको काम सुरु गर्ने तयारी रहेको आयोजना प्रमुख न्यौपानेले बताए । आयोजना सञ्चालन हुँदा सुर्खेत र अछामको झन्डै २२ हजार दुई सय ९४ रोपनी जग्गा अधिग्रहणमा परेको छ ।

आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो । आयोजनास्थल, अतिक्रमित हुने क्षेत्र र लागत अनुमान पनि टुँगो लागेको छ । यो आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पु¥याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र तीन सय ४५ मिटर लामो पेनस्टल पाइपबाट टरवाइनमा खसालिने छ । आयोजना २०८० मा सुरु भइ पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यो आयोजना सम्पन्न गर्न ८८ अर्ब बजेट लाग्ने छ । निर्माण पूर्वको काममा करिब ७० करोड बजेट खर्च भएको छ ।

प्रकाशित मितिः   ८ चैत्र २०७९, बुधबार ०५:०५