विश्वकपको बाटोमा नेपाल

विगतमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को विश्वकपको छनौटको विषयलाई लिएर केही आलोचना समेत भएको थियो । यसमा तल्लो क्रममा रहेका देशहरूलाई मौका नै नदिइएको तथा क्रिकेटमा बलिया राष्ट्रको सिन्डिकेट रहेको भनि टिकाटिप्पणी भएको पाइन्छ । सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकप छनौटका लागि आइसीसीले केही सुधारिएका प्रक्रियाहरू कार्यान्वयनमा ल्यायो, जसले कम्तीमा पहिलो वरीयता क्रमदेखि ३२औँ वरीयतामा रहेका राष्ट्रहरूको लागि विश्वकपको ढोका खुल्ला भयो । हालको छनौट प्रक्रियाले टेस्ट मान्यता देशले पनि लिग–२ खेल्नुपर्ने हुन सक्छ र एक दिवसीय मान्यतासमेत नपाएको राष्ट्रले पनि विश्वकप खेल्न सक्छ भन्ने सुनिश्चित गरेको छ । यस लेखमा विश्वकप २०२३ मा खेल्ने दश राष्ट्रहरू कसरी छनौट हुन्छन् र नेपालको अवस्था के कस्तो छ भन्ने बारे सरल भाषामा उल्लेख गरिन्छ ।

 

छनौटका पाँच चरण

यो पटक आइसीसीले छनौटको केही अलग तरिका अपनाएको छ । जसमा तीन वटा लिगहरू मार्फत वरियतामा पहिलोदेखि ३२ नम्बरमा रहेका देशहरूले प्रतिस्पर्धा गरी विश्वकप खेल्न सक्छन् । तर तुलनात्मक रूपमा तल्लो क्रममा रहेका राष्ट्रहरूलाई केही कठिन भने छ । जस्तो कि सुपरलिगको तुलनामा लिग खेल्नेलाई र लिगको तुलनामा च्यालेन्ज लिग खेल्नेलाई बढी कठिन देखिन्छ । किनकि जति तल गयो त्यति नै कम खेलहरू खेल्ने अवसर पाउँछन् । तल्लो क्रममा रहेकाले धेरै खुट्किला पनि पार गर्नुपर्छ । उदाहारणका लागि सुपर लिग खेलमा एक चरणको छनौटमा राम्रो नतिजा निकाले पुग्छ र उक्त समूहका आधाभन्दा धेरै सोझै विश्वकपका लागि छनौट हुन्छन् । तर २१–३२आँै वरियताका राष्ट्रहरूले अन्तिम छनौट चरण खेल्न कम्तीमा दुई वटा खुट्किलामा बलिया राष्ट्रहरूलाई पराजित गर्दै शीर्ष २ मा रहेर क्वालिफाएरमा पुग्नुपर्ने हुन्छ ।

विद्यमान ढाँचाअनुसार छनौट प्रक्रिया सुरु हुँदा सुपर लिगमा १ देखि १३औँ वरियतामा रहेका १२ ओटा पूर्ण सदस्य÷टेस्ट मान्यता पाएका राष्ट्रहरू र नेदरल्याण्डलाई राखियो । यस्तै १४–२० सम्म रहेका एक दिवसीय मान्यता पाएका एसोसिएट राष्ट्रहरूलाई लिग–२ मा राखियो । क्रिकेटको आधारभूत भौतिक र अन्य पूर्वाधारसम्बन्धी आइसीसीको मापदण्ड पूरा गरेका र २१–३२औँ वरियतामा रहेका राष्ट्रहरूलाई च्यालेन्ज लिगमा राखियो । यस प्रकार सन् २०२३ को एक दिवसीय विश्वकपको लागि कूल ३२ ओटा राष्ट्रहरूले भाग लिएका छन् ।

 

सुपरलिगबाट आठ राष्ट्र सिधै छनौट

सबैभन्दा माथि सुपर लिगका देशहरू छन् । यसमा आयोजक भारत स्वतः छनौट भएको छ भने यस समूहमा १ देखि १३औँ वरियतामा रहेका देशहरू छन् । यस सुपर लिगबाट १३ मध्ये आयोजकसहित आठ देशले विश्वकपको टिकट काट्नेछन् । त्यसका लागि उनीहरूलाई निश्चित समयमा निश्चित म्याचहरू आइसीसीले खेलाइरहेको छ । यसमा १ देखि आठौँ नम्बरमा परेकाहरू सिधै विश्वकपमा जान्छन् । तर भारत भने आठमा नपरेमा पनि जान्छ । यसो भएमा बाँकी सात देशहरू छनौट हुन्छन्, यो सुपर लिगबाट । अर्थात् सुपरलिगका देशका लागि विश्वकपको टिकट एक पाइला मात्रै अगाडि हुन्छ । उनीहरूले एउटा लिगमा मात्रै राम्रो गर्न सकेमा सहजै विश्वकप खेल्छन् । किनकि यसमा रहेका १३ मध्ये ८ राष्ट्रले त जसरी पनि विश्वकपमा स्थान बनाउँछन् । अहिले आठ टिम मध्ये सात छनौट भइसकेका छन् । अब सुपरलिगबाट वेस्ट इन्डिज, दक्षिण अफ्रिका, आएरल्याण्ड र श्रीलङ्का मध्ये एउटा देश छनौट हुने पक्का जस्तै छ । सुपरलिग चरणमा स्लो ओभर गरेको अवस्थामा सजायको समेत व्यवस्था छ ।

माथिको कुराबाट यो स्पष्ट हुन्छ कि, यसपालिको विश्वकप २०२३ मा जम्मा १० राष्ट्रहरू खेल्ने छन् । ती मध्ये सुपरलिगबाट सात र आयोजक भारत गरी आठ ओटा छनौट हुन्छन् । बाँकी दुई वटा छनौट हुने प्रक्रिया अलि लामो छ । किनकि यसमा च्यालेन्ज लिग र लिग–२ मा राम्रो गर्नेले मात्रै स्थान बनाउँदैनन्, सुपरलिगबाट छनौट हुन नसकेकाहरू पनि मौका पाउँछन् । यसर्थमा सुपरलिगका राष्ट्रलाई दुई वटा र च्यालेन्ज तथा लिग–२ का देशलाई एक मात्र मौका दिइएको छ विश्वकपमा छानिन् ।

 

आइसिसि च्यालेन्ज लिग

सन् २०१९ देखि सन् २०२२ सेप्टेम्बरसम्ममा एक दिवसीय मान्यता नपाएका तर क्रिकेटको भौतिक पूर्वाधार तयार गरेका राष्ट्ररहरूमध्ये १२ वटालाई समेटेर च्यालेन्ज लिग खेलाइएको थियो । उक्त लिगलाई दुई समूहमा विभाजन गरेर हरेक टिमले तीन वर्षको अवधिमा १५–१५ खेल खेले । दुवै समूहका शीर्ष एक–एक टोली आइसीसी क्वालिफाएर प्ले–अफ खेल्न छनौट भएका छन् । यदि ती राष्ट्रले राम्रो प्रदर्शन गरे र क्वालिफाएर प्ले–अफको शीर्ष ४ मा परेको अवस्थामा उनीहरूले एक दिवसीय मान्यता पाउनेछन् । यस पटक च्यालेन्ज लिगबाट क्यानडा र जर्सी छनौट भएका छन् ।

आइसीसी लिग–२ (२०१९–२०२३)

यसमा छनौट सुरु हुँदाको बखतमा एकदिवसीय मान्यता पाएका १४ देखि २० वरियताका नेपाल सहित सात देश छन् । जसमध्ये स्कटल्याण्ड, ओमान, अमेरिका र नामिबियाले सबै ३६ वटै खेल खेलिसकेका छन् । यसमा स्कटल्याण्ड लिग विजेता बनेको छ । ओमान दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेर सोझै विश्वकप छनौट (आइसीसी क्वालिफाएर) खेल्न तेस्रो राष्ट्रको लागि नेपाल र संयुक्त अरब इमिरेट्स प्रतिस्पर्धामै छन् । नामिबिया भने पर्ख र हेरको अवस्थामा छ ।

आइसिसि लिग–२ मा रहेका सातै ओटा देशहरूले हरेकले ३६ ओटा एक दिवसीय खेलहरू एक अर्कासँग खेल्छन्, जसमा शीर्ष तीनमा रहने टोलि एक दिवसीय विश्वकप क्वालिफाएरका खेलमा छनौट हुन्छन् । यि लिग–२ का आधि खेल घरेलु मैदानमा र आधि खेल विदेशी मैदानमा खेल्नुपर्छ । नेपालले हालसम्म ३६ मध्ये ३२ खेल खेलेको छ र उसको ३२ अङ्क छ । यसमा १५ जित र दुइ बराबरी समावेश छन् । हाल नेपाल लिगको पाचौँ स्थानमा छ ।

आइसीसी क्वालिफाएर प्ले–अफ

आइसीसी लिग–२ का सबै खेल खेलिसकेपछि पुछारमा रहने बाँकी चार देशहरूले च्यालेन्ज लिगका विजेतासँगै आइसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्छ । यसमा लिग–२ का पुछारमा रहेका चार देशहरू बाहेक च्यालेन्ज लिगबाट क्यानडा र जर्सी यसअघि नै छनौट भएर खेल्न तयार छन् । आइसीसीले २१–३२ नम्बरका देशलाई दुई समूहमा बाँडेर च्यालेन्ज लिग ए र च्यालेन्ज लिग बी खेलाएको थियो । यसमा ए र बी का विजेताहरू विश्वकपको यात्राका लागि आइसीसी प्ले–अफ क्वालिफाएरमा लिग–२ का पुछारका चार देशसँग भिड्नुपर्छ । आइसीसी च्यालेन्ज लिगमा हरेक समूहले १५ खेल खेलेर शीर्ष २ मा स्थान बनाउँदै क्वालिफाएर प्ले–अफमा पुगेका हुन् ।

लिग–२ का चार र च्यालेन्ज लिगका २ गरी ६ ओटा देशको बीचमा राउण्ड रोबिन प्रतियोगिता हुन्छ । यसमा शीर्ष २ मा पर्ने टोली आइसीसी क्वालिफाएर खेल्न छनौट हुन्छ । आइसीसी क्वालिफाएरका खेलहरूमा जसले शीर्ष २ मा स्थान बनाउँछ, त्यो देश विश्वकपका लागि छनौट हुन्छ । लिग–२ मा एक मात्रै सिरिज बाँकी रहँदा पपुवा न्यू गिनी, अमेरिका र संयुक्त अरब इमिरेट्स क्वालिफाएर प्ले अफ खेल्ने निश्चित भएको छ । नेपालले भने आगामी चार मध्ये चारै खेल जितेमा सिधै विश्व कप खेल्न पाउने सम्भावना कायमै छ । यस्तो अवस्थामा आगामी नतिजाले नामिबिया वा नेपाल मध्ये क्वालिफाएर प्ले अफ खेल्नुपर्ने टुँगो लाग्नेछ ।

आइसीसी क्वालिफाएर

आइसीसी क्वालिफाएर समूहमा सुपरलिगबाट विश्वकपमा छनौट हुन नसकेका पुछारका (९–१३ नम्बरमा रहेका राष्ट्रहरू), लिग–२ बाट सात मध्ये शीर्ष तिनमा परेका राष्ट्रहरू र आइसीसी क्वालिफाएर प्ले–अफका खेलबाट शीर्ष दुइमा परेका टोली गरी १० टोली विश्वकपमा छनौटका लागि प्रतिस्पर्धा गर्छन् । आइसीसी क्वालिफाएर केही कडा प्रतिस्पर्धा हो । किनकि यसमा टेस्ट मान्यता पाएका चार राष्ट्रहरू खेल्ने पक्का छ । एसोसिएट राष्ट्र नेदरल्याण्ड पनि विश्वकपको टिकटका लागि अन्तिम कोशिस गर्नेछ । आइसीसी क्वालिफाएर खेल्ने १० मध्ये शीर्ष दुइमा रहने टोलिहरू यसै वर्ष भारतमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्न छानिनेछन् । क्वालिफाएरको पुछारमा रहने टोलीले सन् २०२७ को विश्वकप छनौटको लागि आइसिसि लिग–२ खेल्नुपर्नेछ ।

 

विश्वकप छनौटमा नेपालको स्थिति

नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय मान्यता पाएको थियो । त्यस यता विभिन्न मितिमा अन्तराष्ट्रिय सिरिजहरू खेल्दै आएको छ । हाल नेपाल आइसीसी लिग–२ को छनौट चरण खेलिरहेको छ । यस लिगमा नेपालले ३६ मध्ये ३२ खेलहरू खेलेको छ जसमा १५ जित, २ बराबरि÷नतिजाहिन र १५ हार बेहोरेको छ । अब खेल्न बाँकी चार खेलहरू छन् । ती मध्ये दुई वटा संयुक्त अरब इमिरेट्ससँग र दुई पपुवा न्यू गिनीसँग छन् । अहिलेको अवस्थामा नेपाल, युएइ र पिएनजीले समान चार खेल खेल्न बाँकी छ । तर नेपालको ३२ अङ्क र संयुक्त अरब इमिरेट्सको ३१ अङ्कसहित क्रमशः पाँचौँ र छैठौँ स्थानमा छन् । यहि प्रदर्शन दोहो¥याएमा पिएनजीको भने विश्वकप खेल्ने सम्भावना लगभग सकिएको मान्न सकिन्छ । तर उसको लागि क्वालिफाएर प्ले अफका सबै खेल जित्ने र अन्तिम छनौट (क्वालिफाएर) चरणमा बलिया देशलाई हराएर विश्वकप खेल्न पाउने सम्भावना बाँकी छ । पहिलो स्थानको स्कटल्याण्डको ५० अङ्क छ भने ओमानको ४४, नामिबियाको ३९ र अमेरिकाको ३५ अङ्क छ । यस्तो अवस्थामा नेपालका लागि विश्वकपको बाटो केही कठिन देखिएको छ । किनकि क्वालिफाएर खेल्न गणितीय आधारमा अबका चारमध्ये ४ वटैमा जित निकाल्नुपर्छ । क्वालिफाएरमा जिम्वावेजस्ता टेस्ट मान्यता पाएका राष्ट्रलाई हराएर १० मध्ये शीर्ष दुइमा रहनुपर्ने हुन्छ । नेपाललाई विश्वकप खेल्न यो निकै कठिन परीक्षा हो ।

यदि नेपालले बाँकी चार खेलमा शतप्रतिशत जित निकाल्न नसकेमा लिग–२ को पुछारका ४ मा रहँदै आइसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्ने लगभग निश्चित जस्तै छ । त्यहाँ उसले पिएनजी, क्यानडा, जर्सी, अमेरिका र संयुक्त अरब इमिरेट्ससँग खेल्नुपर्ने छ । त्यो समूहका खेलमा जित निकाल्दै शीर्ष दुईमा परेमा नेपालसहित स्कटल्याण्ड र ओमान लगायतका १० ओटा राष्ट्रहरू सम्मिलित क्वालिफाएर खेल्न पाउनेछ । यदि ती १० मध्ये नेपाल शीर्ष २ मा रहेको अवस्थामा आगामी एक दिवसीय विश्वकपमा स्थान बनाउनेछ । अर्थात् नेपालले विश्वकप खेल्ने हो भने लिग–२ का अबका चारमध्ये ४ मा जित निकाल्नुपर्छ । यस्तै क्वालिफाएरमा कम्तिमा आफ्नो समूहका सबैलाई जित्नुपर्छ । तर नेपालले लिग–२ का बाँकी खेलमा राम्रो नतिजा हासिल गर्न नसकेमा आइसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्नेछ ।

नेपालले विश्वकप खेल्न क्वालिफाएरका ६ मध्ये शीर्ष दुईमा रहँदै क्वालिफाएरमा पुग्नुपर्छ । त्यहाँ अघि उल्लेख गरेजस्तै आफ्नो समूहका सबै टिमलाई पराजित गरेर वा राम्रो रनरेटमा खेलहरू जितेर शीर्ष दुईमा रहनुपर्ने हुन्छ । यद्यपि, एउटा केहि वर्ष अगाडि मात्रै एक दिवसीय मान्यता पाएको र प्रशिक्षकसमेत खेलको केहि दिन अघि मात्रै नियुक्त हुने गरेको सन्दर्भमा विश्वकपको यात्रा केहि कठिन देखिएको छ ।

छनौटमा नेपालले राम्रो गर्न नसकेमा विश्वकप त खेल्न पाउँदैन । साथै उसले थप खराब प्रदर्शन गरेमा एक दिवसीय मान्यतासमेत खोसिनसक्छ । त्यसको लागि कम्तीमा क्वालिफाएर प्ले अफको शीर्ष ४ मा रहनुपर्ने हुन्छ । अर्थात् नेपालले आगामी खेलहरूमा राम्रो नतिजा निकाल्न सकेन र क्वालिफाएरमा पनि क्यानडा र अमेरिका जस्ता देशहरूसँग पराजित भएको अवस्थामा पाँचौँ या छैठौँमा रहेको अवस्थामा नेपालको आइसीसी एकदिवसीय मान्यता खोसिनेछ । यसले नेपाललाई क्रिकेट परिषद्बाट प्राप्त हुने आर्थिक सहयोग र अन्य अवसरहरूसमेत कटौति हुन सक्नेछन् । तर नेपालको पछिल्लो प्रदर्शन हेर्दा विश्वकपमा छनौट हुन नसके पनि एकदिवसीय मान्यता कायम रहन सक्छ भन्ने आँकलन गर्न सकिन्छ । किनकि एकदिवसीय मान्यता जोगाउने नेपालसँग तीन वटा विकल्प छन् । पहिलो आगामी चार मध्ये चारै खेल जितेर लिग–२ को शीर्ष तीनमा रहँदै क्वालिफाएर (विश्वकप छनौट) खेल्ने र एकदिवसीय मान्यता जोगाउने । दोस्रो विकल्प हो हाल चलिरहेको लिगको पाँचौ स्थान सुरक्षित गर्दै एक दिवसीय मान्यता आगामी चार वर्षका लागि सुरक्षित गर्ने । त्यसको लागि आगामी ४ मध्ये कम्तिमा २ खेल जित्नुपर्ने छ । यस्तो अवस्थामा अमेरिकाको एक दिवसीय मान्यता जोखिममा पर्नेछ । तेस्रो बाटो भनेको नेपालले पुछारका अरू तिन टोली र च्यालेन्ज लिगका दुइ टोली सम्मिलित आइसीसी क्वालिफाएर प्ले–अफ खेल्ने र त्यहाँ शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाउने । त्यति मात्र नभइ उक्त लिगको शीर्ष दुइमा रहेको अवस्थामा नेपालले फेरि पनि विश्वकप छनौट खेल्न पाउनेछ । यदि त्यसो हुन सकेमा मात्र पनि नेपालले टेस्ट मान्यता राष्ट्रहरू जिम्वावे बाहेकसँग पनि खेल देखाउने अवसर पाउनेछ । यस बाहेक एकदिवसीय मान्यता जोगाउने हो भने वार्षिक ८–१० करोड बराबरको आर्थिक सहायतासमेत अन्तराष्ट्रिय क्रिकेट परिषदले नियमित उपलब्ध गराउनेछ ।

सारमा उल्लेख गर्दा नेपाल क्वालिफाएरमा छनौटको सम्भावना जिवितै राखेर संघर्ष गरिरहेको छ । उसको लागि संयुक्त अरब इमिरेट्स (युएइ) मुख्य बाधक जस्तै छ । किन कि नेपालले बाँकी चार वटै खेल जित्नै पर्ने छ । बाँकी रहेका खेलमध्ये दुई खेल युएइसँगै छन् । यस्तो अवस्थामा विश्वकप छनौटमा स्थान पक्का गर्न कम्तीमा आइसीसी लिग–२ मा राम्रो प्रदर्शन गर्नुको विकल्प छैन । यद्यपि, यसअघि गरेको प्रदर्शनका आधारमा बाँकी खेलहरू घरेलु मैदानमै हुने भएकोले राम्रो प्रदर्शन गर्नेमा विश्वास गर्न सकिन्छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७९, बुधबार १६:५९