नाला निर्माणमा लापरबाही

सुर्खेत: वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको सडक विस्तारअन्तर्गत अहिले नाला निर्माणको काम चलिरहेको छ । नाला निर्माणमा भने लापरबाही भएको पाइएको छ । गणेशचोक नजिकैको बायाँपट्टीको नाला बाङ्गो बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । विद्युतको पोल जोगाउन मुख्य बजारकै नाला बाङ्गो बनाइएको हो । सो क्षेत्रमा नालाको डिलमा अव्यवस्थित जस्तो देखिने विद्युतको पोल छ । उक्त पोल र निर्माण भइरहेको नाला हेर्दा सरोकारवाला एकअर्का निकायबीचको समन्वय अभाव देखिएको छ । निर्माण कार्य थाल्नुअघि सम्बन्धित निकायले सडक विस्तारित क्षेत्रमा पर्ने टेलिफोन, विद्युत र खानेपानीका संरचना सारेका थिए । हचुवाका भरमा ‘साइड क्लियर’ गरिँदा अहिले सडकका पूर्वाधार गुणस्तरहीन बन्ने जोखिम बढेको हो । विद्युतका पोलहरू स्थानान्तरण गर्दा नाला निर्माण क्षेत्रको ख्याल नगरिएकाले नाला नै बाङ्गो बनेको स्थानीयको आरोप छ ।
यो सडक विस्तारको ठेक्का खड्का निर्माण सेवा बाँकेले लिएको छ । पूर्वाधार विकास निर्देशनालयको बजेटमा मंगलगढी चोकदेखि गणेश चोकसम्म सडक विस्तारको काम भइरहेको छ । विद्युतको पोलका कारण नाला बाङ्गिएको पूर्वाधार निर्देशनालयका निर्देशक रामसरण आचार्यले बताए । उनी भन्छन्, ‘निर्माण स्टमेटको नक्सामा नाला सोझो छ, विद्युुतको पोल ठीक ठाउँमा नर्सादा नाला नै बाङ्गो हुन पुगेको हो ।’ बाङ्गो बनेको नालाई सिधा बनाउन खोज्दा सोही ठाउँमा एउटा पोलसमेत ढलेको उनले बताए । उनका अनुसार जथाभाबी पोल चलाउँदा करेन्टको जोखिम हुने भएकाले नाला नै बँग्याइएको हो । निर्देशनालयले नेपाल विद्युत प्राविधिकरणलाई सडक विस्तार क्षेत्रको स्टिमेट र बजेट दिएर पोल हटाउन लगाएको थियो । विद्युतले पोल सार्दा निर्देशनालयसँग आवश्यक समन्वय नगरेकाले अहिले समस्या आएको बताइएको छ ।
नाला सोझो बनाउनलाई विद्युतका केही पोलहरू अझै सार्नुपर्ने देखिएको निर्देशक आचार्यले बताए । त्यसका लागि विद्युत प्राधिकरणलाई आग्रह गरिएको उनले जनाए । निर्माण व्यवसायी टेकबहादुर खड्का निर्देशनालयको स्टिमेटअनुसार नै नाला निर्माण भइरहेको बताउँछन् । ‘साइड क्लियर’ गर्ने काम आफ्नो नभएको भन्दै उनले निर्देशनालयले दिएको मापदण्डअनुसार काम भइरहेको दाबी गरे । सडक विस्तार क्षेत्रमा निर्माण भइरहेका संरचनाको वीरेन्द्रनगर नगरपालिकाले अनुगमन गरिरहेको छ । निर्माणधीन नाला बाङ्गो रहेकोबारे पूर्वाधार निर्देशनालयका प्राविधिकलाई जानकारी गराइसकिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए । उनी भन्छन्, ‘स्थानीयको खबरदारीलाई सकारात्मक रूपमा लिएका छौँ, प्राविधिकलाई फिल्डमा गएर काम सल्टाउन भनिसकिएको छ ।’
प्रकाशित मितिः १६ पुष २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।