आवश्यकता कि पदलोलुपता ?

सुर्खेत: चौकुने गाउँपालिका–८ का इन्द्रबहादुुर सलामीले बण्डाली सामुुदायिक वन उपभोक्ता समितिको नेतृत्व गरेको ३२ वर्ष भयो । ७० वर्षीय उनी यो समितिमा लगातार अध्यक्ष बनिरहेका छन् । दुई वर्षअघि उनी समितिमा १०औँ कार्यकालका लागि चुनिएका हुन् । नयाँ नेतृत्व चयनका लागि २०७७ पुस ३ गते चुनाव गरियो । त्यसअघि सर्वसम्मत हुँदै आएका सलामीले चुनावमा पनि बाजी मारे । पाको उमेरका कारण अहिले उनी पहिलाजस्तो काममा खटिन सक्दैनन् । स्थापना कालदेखि उक्त समितिमा आवद्ध सलामी बुढ्यौलीले छोएपछि दौडधुुप गर्नै समस्या भइरहेको बताउँछन् । उमेर अवस्थाले समेत सामाजिक कामबाट विश्राम लिनेबेलाका उनलाई अझै पनि थुप्रै संघ–संस्थाबाट नेतृत्वका लागि प्रस्तावहरू आइरहन्छन् । सलामी भन्छन्, ‘मैले राम्रो काम गरेकाले होला गाउँघरमा सबैले रुचाउनु भएको छ, समुदायमा जुुनसुकै कामको नेतृत्व गर्नुपरे मलाई नै अघि सार्ने गरिन्छ ।’ समुदायले भरोसा गरेको योग्य व्यक्ति आए आफूलाई पदमा बसिरहने रहर नभएको उनको दाबी छ । ‘म पद छोड्न तयार छु,’ उनले भने, ‘अनुुभवी भएकाले सबैको रोजाइमा पर्छु, नेतृत्वको विकल्प खोजियो भने सहर्ष पद हस्तान्तरण गर्नेछु ।’
सलामीका अनुसार उनी यसपटक उपभोक्ता समितिमा आउन चाहेका थिएनन् । दलीय आस्थाका कारण उनलाई अघि सर्नुपर्ने बाध्यता आइलाग्यो । उपभोक्ता समितिमा तत्कालीन नेकपा निकटको साझा समूहको नेतृत्व गरेर उनी चुनावी मैदानमा उत्रिए । नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलसँग प्रतिस्पर्धा गरेर पुनः अध्यक्ष बने । राजनीतिक प्रतिष्ठाका लागि पनि उनी यो कार्यकालमा सामुदायिक वनको नेतृत्वमा आउनुप¥यो । उसो त सलामी वन उपभोक्ता समितिको अध्यक्षमात्रै छैनन् । स्थानीय एउटा खानेपानी उपभोक्ता समितिको पनि सँगसँगै नेतृत्व गरिरहेका छन् । समुुदायमा गठन हुने साना–तिना समूहमा पनि अगुवाइ गर्न आफूलाई नै अनुरोध गर्ने गरिएको सलामीले बताउँछन् । गाउँमा सबैले विश्वास गरेकोले लामोसमय समाज सेवा गर्ने मौका मिलेको उनको भनाइ छ ।
वीरेन्द्रनगर–६ स्थित जन नमूना माध्यमिक विद्यालयमा विगत नौ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एउटै व्यक्ति छन् । वीरेन्द्रनगर–८ का गोविन्द कोइराला २०७१ सालदेखि निरन्तर उक्त विद्यालयमा अध्यक्ष रहेका हुन् । उनको यो तेस्रो कार्यकाल हो । अभिभावकको चाहाना र विद्यालयको आवश्यकताका आधारमा आफ्नो कार्यकाल लम्बिएको कोइराला बताउँछन् । उनी भन्छन्, ‘तेस्रो कार्यकालमा जाने चाहना थिएन, अभिभावक र शिक्षकहरूको कर गर्न थालेपछि फेरि जिम्मेवारी लिनै पर्नेभयो ।’ आफ्नो क्षमता र कार्यशैलीबाट सबै प्रभावित भएर नै उही पदमा रुचाइएको हुनसक्ने कोइरालाको दाबी छ ।
तेस्रो कार्यकालसम्म आइपुग्दा विद्यालयको शैक्षिक गुुणस्तर सुधार र भौतिक संरचनाको विकासमा उल्लेखनीय कामहरू गरेको कोइरालाले बताए । पछिल्लो समय आलोचना हुनथालेपछि आगामी कार्यकालदेखि उनी जिम्मेवारी हस्तान्तरण गर्ने सुरमा छन् । ‘मेरोभन्दा पनि विद्यालयको आवश्यकताले अध्यक्ष बनेको हो,’ उनले भने, ‘आगामी कार्यकालदेखि म अध्यक्ष बन्नेछैन, अब पद हस्तान्तरणका लागि आतुर छु ।’ विद्यालयमा सेवाभावको सोचले प्रवेश गरिएको भन्दै उनले सोहीबमोजिम दायित्व र जिम्मेवारी बोध गरेरै कामहरू गरेको दाबी गरे । कोइराला गतवर्ष तेस्रो कार्यकालका लागि विद्यालयको अध्यक्ष बन्दैगर्दा कतिपयले उनलाई पदलोलुप भएको भन्दै सामाजिक सञ्जालहरूमा आलोचनासमेत गरेका थिए । कोइराला नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीको सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुखसमेत हुन् ।
वीरेन्द्रनगरकै वडा नं. १२ मा रहेको अमरज्योति नमूना माध्यमिक विद्यालयमा पनि टीकाराम आचार्यले १६ वर्ष अध्यक्ष रहे । उनले गएको भदौ २१ गते मात्र पद हस्तान्तरण गरे । यतिका वर्षसम्म एउटै पदमा किन बस्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले विद्यालयमा लामै समय काम गरे, घर नजिकैको विद्यालको अवस्था सुधार्ने हुटहुटी र अभिभावकहरूको पनि बारम्बार अघि सारेकाले जिम्मेवारी लिइएको हो ।’ विद्यालयमा रहुञ्जेल कुनै स्वार्थविना विशुद्ध सेवाभावले काम गरेको उनको जिकिर छ । डेढ दशकबढी अध्यक्ष हुँदा आफूले विद्यालयको उन्नयन लागि थुप्रै प्रयासहरू गरेको आचार्यले बताए । अभिभावकको विश्वासका कारण पनि आफू लामो समय अध्यक्ष बनेको उनी बताउँछन् । आचार्य नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य छन् ।
यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । अधिकांश सामाजिक संस्थाहरूमा पुरानै अनुहारले नेतृत्वका लागि आकांक्षा देखाउने गरेका छन् । सामाजिक प्रतिष्ठा आर्जन, आर्थिक लाभ र आफन्तलाई जागिर लगाउन सकिने लोभजस्ता कारणले धेरैले सकभर पद छोड्न खोज्दैनन् । कर्णाली प्रदेश सुशासन सञ्जालका संयोजक खिम रेग्मी अनेक लाभ लिन सकिने भएकाले सामाजिक संस्थाहरूमा उही व्यक्ति टाँसिरहने प्रवृत्ति बढेको बताउँछन् । उनले भने, ‘पछिल्ला वर्षहरूमा सामाजिक संस्थाहरूमा जानेहरूको उद्देश्य सेवाभन्दा स्वार्थबढी देखिन्छ । रेग्मीले अघोषित लाभ लिन सकिने व्यक्तिहरूको लालची प्रवृत्तिले कतिपय संस्थाहरू नै बदनाम भइरहेको बताए । वन, विद्यालय, सहकारीजस्ता संस्थाहरूमा पदका लागि हानथाप हुने गरेको छ । पद बाँडफाँटमा सहमति नहुँदा निर्वाचनमार्फत नै टुंग्याउने गरिएको छ । विद्यालय व्यवस्थापन समिति र वन उपभोक्ता समितिहरू विशुद्ध व्यावसायिक हितका लागि निर्माण गरिएका संगठन भएपनि त्यहाँभित्र राजनीतिक दलको उपस्थित हुने गरेको छ । सामाजिक संस्थामा यस्तो बिकृति हाबी हुँदै गएको हो । सामाजिक सेवामा लागेका संघ–संस्था पार्टीगत विचारबाट निर्देशित हुँदा धरासायीसमेत भइरहेका छन् ।
विद्यालय व्यवस्थापन समिति नौ सदस्यी हुुन्छ । तीन/तीन वर्षमा नयाँ समिति चयन गर्नुपर्ने व्यवस्था छ । एउटै व्यक्ति कति पटक अध्यक्ष हुन पाउने भन्ने मापदण्डमा उल्लेख नभएकाले उही अनुहार पटक–पटक दोहोरिने गरेका छन् । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमाले मापदण्डले नरोकेका कारण पनि धेरै विद्यालयहरूमा एउटै व्यक्ति दोहोरिने गरेको बताइन् । समिति गठन प्रक्रियाबारे स्पष्ट व्यवस्था नहुुँदा राजनीतिक पहँुचका आधारमा व्यक्तिहरूको दबदबा हुने गरेको जानकारहरू बताउँछन् । सामुदायिक वन उपभोक्ता संस्थाहरूमा पनि यस्तै बेथिति छ । वन क्षेत्रबाट थुप्रै लाभ लिन सकिने भएकाले नेतृत्वका लागि दाबी गर्नेहरूको लर्को लाग्छ । कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्यले एउटै व्यक्ति दोहोरिने गरेको बताए । उनले भने, ‘महत्वाकांक्षा, आर्थिक लाभ र सामाजिक लाभका कारण सामाजिक संस्थाको नेतृत्वमा मोह बढेको पाइन्छ ।’ यसरी एउटै व्यक्ति संस्थामा भइरहँदा संस्थागत विकासभन्दा पनि स्वयम्लेनै फाइदा लिने देखिएको उनको भनाइ छ । मूलधारको राजनीतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सवाल चर्को उठिरहेका बेला सामाजिक संस्थाहरूमा भने एउटै व्यक्तिले वर्षाैंदेखि उही पद ओगटीरहेका छन् ।
प्रकाशित मितिः ८ पुष २०७९, शुक्रबार ०५:०५
रजनी याेगी ।