फुर्सदमा पढाइ

सुर्खेत: कालीकोटको शुभकालिका गाउँपालिका–७ की शर्मीला विक कक्षा आठमा पढ्छिन् । उनले पढ्ने विद्यालय र घरको दूरी निकै टाढा छ । विद्यालय पुुग्न डेढ घण्टाको बाटो हिँड्नूपर्छ । भिरपाँखा छिचोलेर हिँड्नूपर्ने बाटोको बीचमा जंगल क्षेत्र पर्छ । जंगली जनावरले आक्रमण गर्ने जोखिम उत्तिकै हुन्छ । विपन्न परिवारकी उनलाई कापी कलमकै जोहो गर्न कठिन छ । थुप्रै अभाव र अप्ठ्यारासँग संघर्ष गर्दै पढिरहेकी शर्मीला नियमित विद्यालय भने जान पाउँदिनन् । घरायसी काम र मेलापातमा अभिभाकलाई सघाएर बचेको समयमा मात्रै उनी विद्यालय जान्छिन् । शर्मीला भन्छिन्, ‘मैले घरको सबै काम धान्नुुपर्छ, घरधन्दाको कामले गर्दा नियमित विद्यालय जान पाइँदैन ।’ उनले आफू सबै कामबाट फुर्सद मिलेपछि विद्यालय जाने गरेको बताइन् । ‘सहर बजारका विद्यार्थी पढाइ सकेर फुर्सदमा खेल्छन् । हामीलाई पढ्नकै लागि फुर्सद निकाल्न हम्मेहम्मे पर्छ,’ वीरेन्द्रनगरमा बिहीवार आयोजित बालबालिकाका सवाल तथा शिक्षासम्बन्धी एक कार्यक्रममा सहभागी उनले भनिन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका –१ की सुजाता परियार पनि कक्षा आठमा अध्ययनरत छिन् । उनको घरछेउमै विद्यालय छ । तर, सुजाता नियमित विद्यालय जान पाउँदिनन् । उनलाई पनि घरायसी कामले पढ्ने समय निकाल्नै मुस्किल छ । विद्यालय गएका दिन पनि सबै विषय पढाइ हुँदैन । उनले पढ्ने राष्ट्रिय मिन माध्यमिक विद्यालयमा विषयगत शिक्षकको अभाव छ । सुजाता भन्छिन्, ‘विद्यालय गए पनि पढ्न पाइँदैन, दुुई–ढाई घण्टा पैदल हिँडेर विद्यालय आउने साथीहरू हप्तामा एक–दुुई दिनमात्र विद्यालय आउँछन् ।’ उनी पनि शर्मीलाजस्तै सोही कार्यक्रममा भाग लिन अभिभावकसँगै वीरेन्द्रनगर आएकी छन् । सामाजिक विकास मन्त्रालय र गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी बालबालिकाले आफूहरूले भोग्नु परेका अप्ठ्याराबारे बताएका थिए ।

अभिभावकहरूले समेत बालबालिकालाई नियमित विद्यालय पठाउन नसकिएको बताएका छन् । शर्मीलाकी आमा जहरा विकले ज्याला मजदुरी गरेर गुजरा चलाउनुपर्ने भएकाले छोराछोरीलाई चाहेर पनि नियमित पढ्न पठाउन नसकिएको बताइन् । उनले भनिन्, ‘अभिभावकको दायित्व पूरा गर्न पनि आर्थिक अवस्था बलियो हुनुपर्ने रहेछ, हामीलाई बिहान बेलुकाको छाँक टार्ने पिरलो हुन्छ, बालबच्चालाई राम्रोसँग पढ्ने वातावरण दिनै सकिएको छैन ।’ सामान्य लत्ताकपडा र कापी कलम पु¥याउनै नसकिएको उनी बताउँछिन् । घास, दाउरा नगरी जनजीविका चलाउन गाह्रो भएकाले विद्यालय नपठाइ तीनै काममा लगाउनुपर्ने बाध्यल रहेको उनको भनाइ छ ।

भौगोलिक विकटताका कारण पनि दुर्गम तथा हिमाली भेकका विद्यार्थीको पढाइमा असर पर्ने गरेको छ । विद्यालय पुग्नै धेरै समय लाग्ने हुँदा पढाइमा समय दिन सक्दैनन् । घर व्यवहारका कामको भार र पढाइको तालमेल मिलाउन निकै सकस हुने गरेको उनीहरू बताउँछन् । हिमाली क्षेत्रमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या उस्तै छ । हिमाली जिल्लाका सामुुदायिक विद्यालयमा दक्ष शिक्षक, भौतिक संरचना र शैक्षिक सामग्रीको अभावले गर्दा शैक्षिक गुणस्तर बढ्न नसकेको बताइएको छ । आफूहरूले संघर्ष गरेर बालबालिकालाई विद्यालय पढाए पनि उनीहरूले गुुणस्तरीय शिक्षा पाउन नसकेको अभिभावक चन्द्रबहादुर सुनारले बताए ।


साझा बिसौनी ।