शिक्षाको सवलीकरणका लागि संवाद
सुर्खेत: वीरेन्द्रनगरमा सार्वजनिक शिक्षाको सवलीकरणका लागि संवाद कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोग सुन्दर नेपाल संस्था सुर्खेतको समन्वय र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा कार्यक्रम भएको हो । बिहीवार आयोजित उक्त कार्यक्रममा सार्वजनिक शिक्षाको सवलीकरणका लागि राजनीतिक दलहरूसँग संवाद गरिएको छ । राजनीतक दलहरूले निःशुल्क र अनिवार्य गुणस्तरीय सार्वजनिक शिक्षाका लागि घोषणा–पत्रमा समावेश भएका विषय र त्यसको कार्यान्वयनका लागि दलहरूको योजना तथा व्यक्तिगत प्रतिबद्धता लिन संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा सुर्खेतस्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए । उनीहरूले निःशुल्क र अनिवार्य गुणस्तरीय सार्वजनिक शिक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति सुर्खेतका संयोजक भूपेन्द्र कँडेलले गरेका थिए । कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २३ मंसिर २०७९, शुक्रबार ०५:०१
साझा बिसौनी ।