बुह्रानः सपना र संघर्षमा अल्झिएको जिजीविषा

महानन्द ढकाल मेरो लागि परिचित नाम हो । भेट हुनुअगावै उनलाई गजलकारको हुलियाबाट चिनेको थिएँ । पछि समयको उमेरसँगै उनको पहिचानको हुलिया पनि हाइकुकार, मुक्तककार हुँदै उपन्यासकारमा छरपष्ट भयो । हरेक विधामा कलम चलाउने साहित्यकारहरू बिरलै भेटिन्छन् । सबै विधामा कलम चलाए पनि त्यसमा दख्खलअन्दाज नहुन सक्छ कोही–कसैको । तर उपन्यासकार महानन्दको दख्खल सबै विधामा उत्तीकै अब्बल रहेछ भन्ने पुष्ट्याई हो उनको उपन्यास ‘बुह्रान’ ।
केही समय अगाडि सामाजिक सञ्जालका भित्ताहरूमा ‘बुह्रान’ नामाकरण गरिएको उपन्यासको प्रचारवाजी निकै भएपछि मैले तिनै ‘बुराहन’लाई सम्झेँ हिज्बुल मुजायद्धिनका कमाण्डर बुराहन वानी । जसको केही वर्ष अगाडि कस्मिरमा भारतीय सेनाहरूले इन्काउण्टरमा मारेका थिए ।
कस्मिर न त भारतको अधिनमा थियोे न त पाकिस्तानकै । कस्मिर स्वतन्त्र मुलुक थियो । कस्मिरमा मुस्लिम धर्मावलम्बीहरूको बाहुल्यता रहेता पनि राजा अल्पसंख्यक हिन्दु धर्मावलम्बीबाट हरिसिंह थिए ।
सन् १९४७ मा हिन्दुस्तानबाट पाकिस्तान अलग भएपछि कस्मिरका अन्तिम राजा हरिसिंहले रातारात कस्मिरलाई भारतमा विलय गराएका थिए । उक्त कुरा त्यहाँका बहुसंख्यक मुस्लिमहरूलाई मन परेको थिएन । राजा हरिसिंहको हर्कतबाट क्रोध भएका कस्मिरीहरू आफूलाई पाकिस्तानमा मिलाउन चाहान्थे । कस्मिरको केही भाग पाकिस्तानको टेरीटोरीमा अहिले पनि पर्छ । उनीहरू आफूलाई आजाद कस्मिरी बताउँछन् भने भारतको टेरीटोरीमा पर्ने कस्मिरलाई अबुजा कस्मिर बताउछन् । आजाद कस्मिरका कस्मिरीहरू । अबुजा कस्मिरमा रहने केही मुस्लिमहरू अहिले पनि पाकिस्तानको समर्थनमा देखिन्छन् । चाहे भारतलाई हराएर पाकिस्तानले क्रिकेट नै किन नजितोस्, चाहे भारत–पाकिस्तानको सीमानामा गोलाबारी नै किन नहोस् ।
भारतले हिज्बुल मुजाएद्धिनका लडाकुहरूलाई आतंकवादी ठाने पनि उनीहरू आफूलाई आतंकवादी ठान्दैनन् । बरु भारतको पञ्जाबाट कस्मिरलाई आजाद बनाउनको लागि इश्वरको दुतको नाउबाट लडेको मुजाएद्धिनका लडाकु भएका ठान्छन्, अहिले पनि कस्मिरीहरू । बुराहनलाई सहिद मान्दछन् र श्रद्धाले उनलाई सम्मान गर्दछन् ।
‘बुह्रान’को बारेमा लेखिरहँदा माथिको विषयवस्तु उठाउन जरुरी थिएन तर मैले किन उक्त विषय उठान गरेँ भने ‘बुह्रान’ नपढ्दासम्म मैले तिनै बुराहन बानीको बारेमा उपन्यासकारले उपन्यास लेख्दै छन् भन्ने अड्कल गरेको थिएँ । मेरो मन मस्तिष्कले कस्मिर बिलय भएर कस्मिरीहरूले आफ्नो पहिचान गुमाउनुको पिडा र दिनहु आतंकवादीको नाउमा कस्मिरीहरूले भोग्नु परेको सास्तीलाई अन्दाज गरेको थियो । तर यथार्थमा त्यसो रहेन छ । कहाँ ‘बुह्रान’, कहाँ ‘बुराहन’ । पढ्दा एउटै जस्तो लागे पनि अर्थ त जमिन–आकाशको फरक रहेछ । नमरी स्वर्ग देखिँदैन भन्थे बुढापाकाहरू, कुरा सही लाग्यो । कुनै पनि वस्तुको बारेमा जान्न र बुझ्नको लागि सुनेकै र देखेकै भरमा धारणा बनाउन नमिल्ने रहेछ । जान्न र बुझ्नको लागि उक्त विषयवस्तुमा डुबुल्की मार्नैपर्ने रहेछ । गोताखोरहरू पनि पानीमा घण्टौ बेरसम्म डुब्छन् । उनीहरू मर्नलाई होइन, डुबेकालाई उद्दार गर्नलाई हुन्छ या त गहिराईको अनुसन्धान वा मापन गर्नलाई डुबेका हुन्छन् ।
‘बुह्रान’ त गरिवहरूको सपनाको संसार रहेछ । गाउँमा एकछाक खान धौधौ हुनेको लागि ‘बुह्रान’ पुगेर घरटहरो र खेती किसानमा जोडिएपछि सम्पन्न भइन्छ भन्ने गरिवहरूको आशाको त्यान्द्रो रहेछ । त्यान्द्रो चुँडिएन भने अमिर पनि भइएला, त्यान्द्रो चुँडियो भने ‘दाईको लाहुर भैरहवासम्म’ भन्ने उखानले पनि सत्यता पाउने रहेछ । ‘बुह्रान’ सबैको लागि सपनाको संसार रहेनछ भन्ने कथनी माइला थारु र सोमलालको जीवनमा कटु सत्यको रूपमा सावित भयो । दाङ छोड्नु पर्दा माइला थारुले बुह्रानको बारेमा जे बुझेर आएका थिए ती सबै सपनाहरू बालुवा पानी हालेसरी तुहिए । सपनाको बुह्रानले उनलाई सधै कमैया नै बनाई राख्यो । वाह, गजब दुःखको कहानी रहेछ माइला थारुसँग । पसिनाको आहालबाट उनी उम्कन सकेनन्, हाड घोटेर खियाउँदासम्म पनि । भूमि पुत्र थारुहरू भूमिहिन हुनुको पीडा गजब छ, सपनाको बुह्रानमा ।
म पनि बुह्रानमा दुई दिनसम्म चुर्लुम्मै डुबेँ । दुई दिनपछि किनार लागेँ । बुह्रानको डुबाईको अनुभवले मलाई त्यही पुरानो नोस्टालजियाको ताजगी गरायो । म करिब ९ /१० वर्षको थिएँ हुँला । हामी तराईलाई मलवार भन्थ्यौं, जेठाबाले मलवार गिदरपुर भन्ने ठाउँमा चारबिगाह जमिन किनेका थिए । रिमाल बाजेले भने माथि राजीपुरमा दुई बिगाह किनेका थिए । खेतमा लाग्ने बुडीकुलो नै थियोे । हाम्रो कटासे बजारमा कपडाको ठुलै पसल थियोे । म बेलाबखत आमा बुवाको साथमा राजीपुर, ज्योतिपुर बुडिकुलो तर्दै गिदरपुरसम्म जाने गर्थें । हाम्रो सेतो र रिमाल बाजेको कालो घोडा थियो । अहिले रिमाल बाजे र साँईला दाइ यो संसारमा हुनुहुँदैन । स्वर्गीय साँईला दाई र रिमाल बाजेका छोरा ध्रुव काकाले घोडाहरूलाई बुडिकुलाको फाँटमा चराउन ल्याउनु हुन्थ्यो । म पनि साइला दाइको पछिपछि लागेर आउने गर्थे बुढीकुला ।
हाम्रो घरदेखि करिब पाँच सय मिटर तल बडघर थियो । बडघर छोडेर हाम्रो घरमा कमैया बस्न आएका थिए किसन र लौटन थारु । किसन अलि बुढा थिए, लौटन अली अधवैशें । बुह्रान अध्ययन गर्दै गर्दा माइला थारुको रूपमा किसन थारु, सोमलालको रूपमा लौटन थारु, तिलकरामको रूपमा रिमाल बाजे, मदनको रूपमा साँईला दाइ, पार्वतीको रूपमा आफ्नै ठूली आमा र रमिताको रूपमा माया नेपालीलाई सम्झन पुगेँ । माया दलित थरकी थिइन् तर उनको प्रेम क्षेत्री थरका दानबहादुरसँग भएको हल्ला त्यतिखेर गाउँभरी फैलिएको थियो । मायाको सुन्दरता कुनै अप्सरा भन्दा कम थिएन । उनलाई देखेपछि नलठ्ठीने कोही हुँदैन थिए ।
मेरो बानी अलि खराब छ । पुस्तक अध्ययन गर्दा सो पुस्तकले मन मस्तिष्क तानेन भने उक्त पुस्तकलाई दोस्रो पटक पल्टाएर हेर्ने आदत छैन । पुस्तक अध्ययन गर्दा दिमागमा करेन्ट प्रवाह गर्नुपर्छ भन्ने मेरो बुझाई छ । बुह्रानले करेन्ट मात्रै दिएन त्यतिखेर मलवारमा बस्दा किसन, लौटन, माया, र स्वर्गीय हुनुभएका ठुली आमा, साँईला दाइ र रिमाल बाजे सबैलाई सम्झायो । किसन र लौटन थारु मरिसकेकी जिउँदै होलान् ? भन्ने सम्झना गरायो । बेसाराम, आँख र गाँजाका बोटबिरुवाले ढाकिएका तराईका फाँटहरूको अहिलेको स्वरूप कस्तो होला ? लडिया र साइकिल हिड्ने धुलाम्य बाटोका हुलिया अहिले कस्ता होलान् ? हुलिया फेरिएर चिल्ला र फराकिला बाटा भए या त्यस्तै धुलाम्य होलान भन्ने मनमा कौतुहलता जगायो । राजिपुर, गिदरपुर÷गोला, टपरा पुगौं र बुडिकुलोमा झ्वाम्म डुबेर पौडि खेलौं–खेलौं भन्ने जस्तो बनायो बुह्रानले । म यादै यादमा खेतहरूका आलीआली हुँदै गहुँ बारी र पहेंलपुर भएका तोरी बारीहरू चहार्न पुगेँ । हाम्रो घर अघि झुम्मीएको बाँसको रुख थियोे । रात परेपछि डाङ्ग्रेहरू बहुतै कोलाहल मच्चाउथे । त्यही अतितको दृष्य सम्झन पुगेँ । बुह्रानले बिर्सिसकेको अतितलाई ताजगी गरायो ।
बुह्रान अध्ययन गरी सकिँदा पनि सकिएको महसुस भएन । कति छिटो सकियो भन्ने आभाष भयो । अध्ययन गर्दा पट्यारीलो महसुस नगराउनु नै लेखकको खासियत हो । बुह्रान अध्ययन गरेपछि मेरो मनमा जिज्ञासा जाग्नु पनि स्वभाविकै हो । बुह्रानका कथावस्तु अध्ययन गरेपछि बुह्रान ५÷६ वर्ष पहिले आउनु पथ्र्यो या अल्ली दुई÷चार महिना ढिलो आउनु पथ्र्यो भन्ने लाग्यो । उपन्यासमा बियोगान्त क्षणहरू धेरै छन् । बियोगान्त क्षणहरूले मात्रै उपन्यास र उपन्यासका पात्रहरूको कथा पूर्ण नहुन सक्छ । कतिपय क्षणहरूमा पात्रहरूको भूमिका लम्ब्याउनु पर्ने हुन्छ । बुह्रानमा केही पात्रहरूको अध्ययन गर्दै गर्दा तिलकरामको मृत्यु हतारमा भए जस्तो लाग्यो । तिलकरामको भूमिकालाई लेखकले अलि तानतुन गरेको भए उपन्यासको सुन्दरता अझै थपिने थियोे भन्ने लाग्यो ।
उपन्यासका भागहरूमा केही रुढीवादी परम्पराको दागलाई चित्रण गर्न खोजिएको छ । जुन समयको कथा लेखिएको छ, त्यही समयको समाजमा प्रचलित नामलाई उपन्यासकारले प्रयोग गरेको भए अझै सुनमा सुगन्ध हुने थियो जस्तो लाग्छ । जस्तै त्यो जमानामा वालबिवाह गर्नेमा सोभिता जस्ता आधुनिक नाम भएका किशोरीहरू थिएनन् होला जस्तो महसुस पाठकलाई हुनेगर्छ । कतिपय ठाउँमा पात्रको नाम आधुनिक भइदिनाले कथाको विषयवस्तुले मागेको नाम भन्दा फरक लागेको महसुस हुन्छ । पार्वती आमाको भूमिका निकै अब्बल छ । समाजमा हरेक आमाहरू पार्वती जस्तै हुन जरुरी छ । पार्वती आमा गरिब दिनदुःखी, मर्दा पर्दा कि बिम्ब हुन् । माईला थारुहरू जस्ताकी भगवान हुन् ।
हाम्रो समाजमा अहिले पनि नोकर–चाकर र दलितलाई दोस्रो दर्जाको मान्छेको रूपले हेर्ने रुढीवादी परम्परामा खासै सुधार भएको देखिँदैन । देखावटीको नाममा दलितसँग बसेर चियागफ दिएर क्रान्ति देखियता पनि व्यवहारमा क्रान्ति नहुने समाज हो हाम्रो । जसको प्रतिनिधि पात्रको रूपमा उपन्यासमा सर्वजीत र उनका केही घरका सदस्यहरूलाई देखाइएको छ । सर्वजीत जमिनदार हुनुका साथै राजनीतिबाट समाजसेवा गरेको जस्तो देखिन्छ । उनका एउटा छोरा डाक्टर र अर्को छोरा ईन्जिनियर छन् । समाजमा यिनै खान्दानका मान्छेलाई ठूला मानिन्छ । परिवर्तन भनेको ठूलाबाटै हुनुपर्छ । घरमा नोकर बसेको सोमलालसँग रमिताले विहे गरेको आरोपमा छोरीसँग सर्वजीतको सम्बन्ध हुँदैन । रमिताका दुई दाजु डाक्टर र इन्जिनिएरले पनि सर्वजीतलाई सम्झाई बुझाइ गरेर बहिनी ज्वाईलाई घर बोलाउन चासो देखाउदैनन् । समाजका प्रतिष्ठित कहलाउने राजनीतिज्ञ, डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, पत्रकार, कार्यालयका हाकिमहरू नै हुन् । सर्वजीत र उनका छोराद्वयबाट समाजले कुन अपेक्षा गर्ने भन्ने कुरा सममजको वास्तविक घटनाको चित्रण गर्न खोजीएको छ । समाज रूपान्तरणको पहिलो संवाहक राजनीतिज्ञ नै हुन् । अब समाजका हरेक नागरिकले सर्वजीत जस्ता ढोंगी क्रान्तिकारीलाई किनारा लगाउनु पर्छ भन्ने बिम्ब उपन्यासमा दिए जस्तो लाग्छ ।
रमिताले अन्तरजातीय विबाह मात्रै गरिनन् आफ्नै घरमा नोकर बसेको सोमलालसंग अन्तरजातीय विवाह गरेर परिवर्तनको विगुल फुक्ने साहसी नारी हुन् भन्ने देखाइन् । सोमलाल जन्मदै कमैया भएर जन्मेका थिएनन् । समयको हम्मरले भाग्यमा हिर्काएपछि केही समयको लागि सोमलाल गरिबीको अशक्तताले थलिएका मात्रै थिए । समयको चक्रमा बेरीएर समाज परिवर्तन गर्ने जुनुन् उसमा थिएन भन्ने कुराले गम खान्छ । सोमलालले किन सेना–पुलिस नरोजेर विद्रोही सेनाको कमाण्डर बन्यो ?
विचारणीय कुरा यही हो । रुढीवादी परम्परालाई भत्काउन रुढीवादी परम्पराको पक्षपोषण गर्ने सेना, पुलिसमा भर्ती भएर परिवर्तन सम्भव उसले देखेन, त्यसैले ऊ विद्रोही सेनामा भर्ती भयो ।
उपन्यासकारले ठाउँठाउँमा ‘विद्रोही, विद्रोही’ मात्रै लेखेका छन् । तर जनयुद्ध भनेर लेख्न सकेका छैनन् । लेखकका हात किन कापे म अलमलमा परेँ । दस वर्षे जनयुद्धको बेला परिवर्तनको लागि तराईका जिल्लमध्य सबैभन्दा धेरै सहिद भएको जिल्ला बर्दिया हो । अहिले पनि टपारदेखि माथि गिदरपुर आउने बाटोतिर पुगियो भने सहिद गेटमा धेरै जनयुद्धकालिन सहिदहरूको नाम लेखिएको देखिन्छ । कमैया मुक्ती र दासताको जञ्जिरबाट उम्कनलाइ उनीहरूले रगत बगाएका थिए भन्ने कुरा छर्लङ्ग हुन्छ । सोमलाल पनि विद्रोही हुनु त्यसैको निरन्तरता हो । उपन्यासकारले यस विषयमा उदार विचार राख्दै कलमका शब्दद्वारा पोखिनु पथ्र्यो भन्ने लाग्छ । लेखकहरूले साँघुरो घेरा नाघ्ने साहस गनै पर्छ ।
शान्ति प्रक्रियापश्चात् जसका परिवारले ज्यान गुमाए, जो अपाङ्गता भए, जसका शरिरबाट छर्रा अझै निकाल्न बाँकी छन् । प्रतिनिधि पात्र जस्तै सोमलालहरूले पाए त ? भन्ने कुरा उपन्यासकारले प्रश्न उठाएका छन् । शान्ति प्रक्रियाले सोमलालको जीवनमा परिवर्तन नै गरेन भन्ने कुरामा सत्यता छैन । हुनसक्छ उसको व्यक्तिगत जीवनमा भौतिक परिवर्तन भएन होला तर निश्चय पनि हिजो सोमलाल कुनै बेला बडघर र सर्वजीतको कमैया थियोे । आज ऊ कमैया होइन, समाजको चेतनशील युवा हो, समाजसेवी र केही बुझेको युवाको रूपमा स्थापित भएको छ । ऊ जस्ता हजारौं युवायुवतीको रगत–पसिना र बलिदानबाट गणतन्त्रको स्वाद सबैले चाखेका छन् । गणतन्त्रले राजा फालेर गरिबका छोराछोरी राष्ट्रपति बन्ने अवस्था र व्यवस्था आएको छ । यो पनि सोमलाल सरिक भएको आन्दोलनको उपलब्धि नै हो । भौतिक सुखसुविधा प्राप्ति र आफ्नै व्यक्तिगत जीवनमा मात्रै परिवर्तन हुनु मात्रै उपलब्धि होइनन् ।
भौतिक सुख–सुविधा र सम्पन्नता त्याग गर्ने साहसिक नारी रमिता र सोमलालको कथा अधुरैमा टुँगिएको महसुस हुन्छ । रमितालाई समाजमा हुने विभेदपूर्ण आन्दोलनको कसिमा जोडेर उनलाई परिवर्तनको मियोको रूपमा उपन्यासकारले उभ्याउन सक्नुपथ्र्यो जस्तो लाग्छ । उनलाई छोटोे भूमिकामा उभ्याउनु हुँदैन थियोे । अन्तरजातीय विवाह गरेवापत माइती देश र आमाबुवा भन्न नपाएकी र हरेक तिहारमा मलाई फूलमाला लगाउन आउने शारदा बैनीलाई रमिताको प्रतिबिम्बमा सम्झेँ ।
उपन्यासकारले बडो कलात्मक रूपले विषयवस्तुको उठान गरेका छन् । पुस्तक अध्ययन गर्ने जोकोही पाठकलाई उपन्यासका कुनै न कुनै ठाउँ घटनाले अवश्य छुने गर्छ । उपन्यासका हिरो सोमलालको कहानी अपुरो भएर टुँगिएको छ । उनको कहानीलाई अपुरोमै टुँग्याउनुको अर्थ लेखकले केही सोचेर नै होला । सायद सोमलालको अपुरो कथाले अर्को भागमा पूर्णता पाउने छ । तीन सय २४ पृष्ठभित्र चौध वटा भाग भएर आकार लिएको ‘बुह्रान’ अन्तमा लेखकका कुरासहित तीन सय २६ पृष्ठमा सकिएको छ । पुस्तक पढिसकेपछि ‘बुह्रान’कै दोस्रो भाग भएर अर्को पुस्तक पनि छिटै आओस् भन्ने अपेक्षा आम पाठकले गर्नेछन् ।
(लेखक अनुपम नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँछन् ।)
प्रकाशित मितिः ८ आश्विन २०७९, शनिबार ०५:०८
साझा बिसौनी ।