दोहोरिने दौडमा बहालवाला जनप्रतिनिधि

सुर्खेत: स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले सोही पदमा दोहोरिने आकांक्षा राखेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अर्को कार्यकालका लागि उम्मेदवार बन्ने संकेत धेरैजसो जनप्रतिनिधिले गरेका हुन् । यसपटक पनि पालिकाका प्रमुख र वडाअध्यक्षहरू उम्मेदवार बन्ने दौडधुपमा छन् । उनीहरू आफू निकट नेता र पार्टीसँग भनसुनमा लागेका छन् । राजनीतिक दलहरू आसन्न निर्वाचनका लागि उम्मेदरवार छान्ने छलफलमा जुटेसँगै जनप्रतिनिधिहरूले पुनः दोहोरिन कसरत गरेको पाइएको हो । नेपाली कांग्रेस सुर्खेतका एक नेता भन्छन्, ‘उहाँहरूले यो कार्यकालमा विविध कठिनाइले काम गर्न पाएनौं भन्ने गर्नुभएको छ । वडामा बैठक तथा छलफल राख्दा एक पटक फेरि वडाअध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहनु भएको छ ।’
कांग्रेसले अहिले वडा तहमा उम्मेदवारका आकांक्षीको सिफारिसका लागि बैठक तथा छलफलहरू चलाइरहेको छ । ती नेताले गाउँ तथा नगरपालिकाका प्रमुखले पनि उम्मेदवार बन्न माथिल्ला पार्टी कमिटीहरूमा लविङ थालेको बताए । वडादेखि गाउँ–नगरसम्म अहिलेकै जनप्रतिनिधि नै उम्मेदवारका आकांक्षी देखिएपछि सिफारिसमा सकस भइरहेको बताइएको छ । उपप्रमुख र वडा सदस्यहरूले भने प्रमुख र वडाअध्यक्ष ताकेका छन् । स्थानीय तहका संस्थापक जनप्रतिनिधि भएकाले संघीयता कार्यान्वयनको सुरुवाती चरणमा आफूहरूले सोचेअनुरूप काम गर्ने वातावरण बन्न नसकेको भन्दै जनप्रतिनिधिले पुनः सोही पदमा आकांक्षा देखाउन थालेका हुन् । उनीहरूले बजेट, कानुन र जनशक्ति अभावमा पाँच वर्ष सिकाइमा मात्र बितेको बताएका छन् । आगामी कार्यकाल पनि जिम्मेवारी दिइनुपर्ने उनीहरूको आसय देखिन्छ । दोहोरिए ठोस उपलब्धीमूलक काम गर्न सकिने जनप्रतिनिधिको तर्क छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बहालवाला जनप्रतिनिधिहरूले टिकटका लागि प्रयास गरेपछि आकांक्षीको संख्या झनै बढेको छ । दलहरू पनि जित सुनिश्चित हुने अनुहारको खोजिमा छन् । पाँच वर्ष राम्रो काम गरेका जनप्रतिनिधिलाई फेरि उठाउँदा जित सहजै हात पार्न सकिने दलहरूको आकलन छ । हालकै जनप्रतिनिधिहरूलाई नै प्राथमिकता दिने गरी छलफलहरू थालिएपछि कतिपय आकांक्षी निराश बनेका छन् । नेकपा ‐एमाले)ले पनि राम्रो काम गरेका पुरानै जनप्रतिनिधिलाई नै उम्मेदवार बनाउने मापदण्ड बनाएको छ । त्यसरी उम्मेदवार चयन गर्दा जनस्तरमा रहेको लोकप्रियतालाई ख्याल गरिने एमालेले जनाएको छ । पदमा दोहोरिन चाहेका जनप्रतिनिधिले सार्वजनिक रूपमै अभिव्यक्ति नदिए पनि पार्टीले टिकट दिए पछाडि नहट्ने बताएका छन् ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्रकुुमार केसीले पाँच वर्षमा एक वर्ष मात्र राम्रोसँग काम गर्ने अवसर मिलेको जनाए । ‘हामी जनप्रतिनिधि त बन्यौं । तर दुुई वर्ष अलमलमा बित्यो, डेढ वर्ष कोरोना माहामारीको कारणले अपेक्षित काम गर्न सकिएन,’ उनले भने । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित केसीले दोहोरिने मनसाय व्यक्त गरे । उनी भन्छन्, ‘अहिलेसम्म गरेका कामका प्रभाव र रूपान्तरणका लागि पनि म दोहोरिन आवश्यक देख्छु, केही सपना अधुुरा छन्, पुनः निर्वाचित भएको खण्डमा पूरा गर्न सकिनेछ ।’ उनले आफू अध्यक्षको उम्मेदवार हुने वा नहुने भन्नेबारे पार्टीले निर्णय गर्ने भएकाले त्यसको पखाईंमा रहेको बताए । केसी एमाले सुर्खेतका जिल्ला सचिवसमेत हुन् ।
दलहरूले लोकप्रियताका आधारमै टिकट वितरण गर्ने भएकाले यो अवधिमा स्थानीयस्तरमा राम्रो प्रभाव पारेका जनप्रतिनिधि पुनः उम्मेदवार बन्ने सम्भावना बलियो देखिएको कतिपयको विश्लेषण छ । तर, एउटै पदमा बारम्बार उही व्यक्तिलाई अघि सार्दा अन्य नेता कार्यकर्तामा राजनीतिप्रति नकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले स्थानीय तहमा नयाँ अनुुहार आउनुुपर्ने बताए । उनी भन्छन्, ‘उनै व्यक्ति फेरि उम्मेदवार बन्नैपर्ने केही छैन । स्थानीय तहको विकासका लागि योजना भएको व्यक्ति पदमा पुगे पाँच वर्षे कार्यकाल नै पर्याप्त हो ।’ उनले स्थानीय तहमा भिजन भएको व्यक्ति भए एकै कार्यकाल काफी हुने भन्दै रचनात्मक कामका लागि युवाहरूलाई अवसर दिइनुपर्ने जनाए । लम्सालले यसो गर्दा पार्टीप्रति कार्यकताको आकर्षण र विश्वास पनि बढ्ने दाबी गरे ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी भने सोही पदमा दोहोरिए बल्ल पाँच वर्षका उपलब्धी, प्रभाव र रूपान्तरणको मापन गर्न सकिने तर्क गरेका छन् । सुवेदीले पार्टीको आवश्यकता र नगरबासीको जनमतको आधारमा आफू पनि दोहोरिन सक्ने संकेत गरे । ‘पाँच वर्षको अवधिमा राम्रै काम गरेजस्तो लाग्छ,’ उनले भने, ‘यदि पार्टीले विश्वास गरेर अघि बढाए जिम्मेवारी लिने सवालमा पछि हट्ने भन्ने कुरै हुँदैन ।’ सुवेदी नेपाली कांग्रेस सुर्खेतका सचिवसमेत हुन् । चन्दननाथ नगरपालिका जुुम्लाका नगरप्रमुख कान्तिका सेजुुवालले अहिले नै उही पदमा फेरि चुनाव लड्छुु भन्न नमिल्ने बताइन् । पाँच वर्षको अवधिमा सतप्रतिशत नभएपनि सोचेभन्दा धेरै काम गर्न सकिएको उनको दाबी छ । ‘यो कार्यकाल सफल नै भएको मानेकी छुु,’ उनी भन्छिन्, ‘उम्मेदवार बन्ने÷नबन्ने विषय पार्टीले निर्धारण गर्ला, मैले यसै भन्ने अवस्था छैन ।’
टिकटका लागि पार्टी फेरेको आरोप
स्थानीय तहका पदमा टिकटको लोभ देखाएर जनप्रतिनिधिलाई चुनावको मुखमा पार्टी प्रवेश गराउने गरिएको आरोप छ । पछिल्लो समय जनप्रतिनिधिहरू नै धमाधम पार्टी फेर्न थालेका छन् । यस्तो होडबाजी चलेपछि दल र नेताहरूमाथि पदका लागि बार्गेनिङ गरेको चर्चा हुने गरेको हो । एमाले विभाजपछि एकीकृत समाजवादी रोजेका कतिपय जनप्रतिनिधि पुनः एमालेमै फर्किएपछि यस्तो आरोप लाग्न थालेको छ । दैलेखको भगवतीमाईं गाउँपालिका अध्यक्ष दानबहादुर थापा एक साताअघि एकीकृत समाजवादी छोडेर एमालेमै फर्किए । उनी पछिल्लो समय एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटी सदस्य तथा भगवतीमाईं गाउँपालिका इन्चार्ज थिए । उनीसँगै वडाका जनप्रतिनिधिहरू सेतु खड्का, कमला खत्री, मानबहादुर नेपाली, बालबहादुर थापा, सुशीला विक पनि एमालेमा फर्किएका छन् । एमालेले फेरि उम्मेदवार बनाउने आश्वासन दिएपछि फिर्ता भएको आरोप उनीहरूलाई छ । तर, अध्यक्ष थापा भने पदको लोभमा नभइ कम्युनिष्टको सिद्धान्त जोगाउन एमालेमा फर्किएको जिकिर गर्छन् । ‘मैले त्यस्तो कुनै आकांक्षा राखेको छैन,’ थापाले भने, ‘पार्टीले विश्वास गरेको खण्डमा जिम्मेवारी लिनु अस्वाभाविक पनि होइन ।’ उतिबेला समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्था बनेको भन्दै उनले यसलाई बार्गेनिङ गरिएको जसरी बुझ्न नहुने बताए ।
केही दिन पहिले वीरेन्द्रनगर नगरपालिका–१० का वडाअध्यक्ष रत्नबहादुुर बुुढा पनि एकीकृत समाजवादी त्यागेर एमालेमै फिर्ता भए । एमाले फर्किएसँगै उनलाई वडामा दोहो¥याउने चर्चा छ । बुढाले आफू कुनै पदको प्रलोभनमा नभइ नीति, विधि र पद्धतीमा फर्किएको बताए । ‘हामी राजनीतिकर्मी भएकाले पार्टीले विश्वास गरे नाइ भनिदैन तर पदकै लागि मरिमेटि गरिदैन,’ उनले भने । स्थानीय तहमा जोसुकै जनप्रतिनिधि भएपनि जनताको विश्वास जित्ने खालको काम गर्नुपर्ने उनको भनाइ छ । चुनाव नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले नै अर्को दलमा प्रवेश गर्न थालेपछि उनीहरूलाई टिकट पाउने लोभमा पार्टी फेरेको आरोप लाग्ने गरेको छ ।
प्रकाशित मितिः २४ चैत्र २०७८, बिहीबार ०८:१६
रजनी याेगी ।