उज्यालो र सुरक्षित नगर योजनाः प्रविधिको सम्भारमा बेवास्ता

करिब ६ वर्षअघि तत्कालीन जिल्ला विकास समिति सुर्खेतले टेण्डर आह्वान गरी वीरेन्द्रनगर बजार क्षेत्र उज्यालो बनाउन सोलार जडान ग¥यो । पोलसहित प्रतिसोलार झन्डै एक लाख लगानीमा नगरभित्र ८० वटा सोलार बत्ती राखिए । ८० लाख बजेटमा उर्जा कम्पनी खुमलटार काठमाडौंसँग ठेक्का सम्झौता गरी जडान गरिएका सोलार केही महिना मात्र बले । एक वर्ष नहुँदै सबैजसो बिग्रिए । मर्मत सम्भार नहुँदा ती सोलार प्रयोगविहीन भएका थिए । सडक बत्तीका लागि विद्युतको भर पर्ने अवस्थाको अन्त्य भएको भन्दै जडान गरिएका सोलारबाट मुस्किलले चार–पाँच महिना मात्र बत्ती बलेको बजार क्षेत्रका व्यापारीहरू बताउँछन् । उक्त योजनामा जिल्ला विकास समिति, वीरेन्द्रनगर नगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन र निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेट हालिएको थियो ।

वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेल उतिबेला नेपाली कांग्रेसका वडा सभापति थिए । वडा नागरिक मञ्चको निगरानी समूहमा पनि रहेका उनले सोलारको वारेन्टी कहिलेसम्म हो भन्ने कुनै डकुमेन्ट नै नभेटिएको सुनाए । ‘सोलार जडान गरियो । केही समयमै बल्न छाडे,’ उनले भने, ‘हामीले मर्मत सम्भारको पहल पनि ग¥यौं । मर्मत कसले गर्ने र वारेन्टी के हो भन्नेबारे अन्योल हुँदा समस्या भयो ।’

सोलारका पोल अहिले पनि सडक छेउमा ठडिएकै छन् । पाता र ब्याट्री त छन् तर बत्ती बल्दैनन् । नाम मात्रका सोलारले बजार क्षेत्र झन् साँघुरो बनेको छ । वीरेन्द्रनगर नगरपालिकाले अहिले फेरि बजारका मुख्य चोकमा १२ वटा हाइमास लाइट ‐टाढासम्म उज्यालोे दिने) जडान गर्न थालेको छ । आर्थिक वर्ष २०७७÷०७८ को ९७ लाख बजेटमा हाइमास लाइट जडानको काम भइरहेको हो । कर्णाली प्रदेश सरकारको एक करोड र वीरेन्द्रनगर नगरपालिकाको २० लाख बजेटमा घटेर ९७ लाखमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार नगरका धुलियाविटचोक, पिपिराचोक, बसपार्कचोक, मंगलगढी, यरीचोक, वीरेन्द्र चोक, टेम्पोपार्क, घण्टाघर, देउतीथान चोक, वडा नं. ६ को भानुपार्क लगायतका स्थानमा हाइमास लाइट जडान गर्न लागिएको हो । एउटा पोलमा आठ वटा बल्ब र सीसीक्यामेरासहित पाँच हजार वाट क्षमता भएको बत्ती राख्न लागिएको छ । हाइमासले दुई सय पचास मिटर टाढासम्म उज्यालो दिने बताइएको छ । यी बत्तीबाट उठ्ने बिल नगरपालिकाले नै भुक्तानी गर्ने अधिकृत पौडेलले बताए । अहिले बजार क्षेत्रमा उक्त लाइट जडानको काम चलिरहेको छ । सीसीक्यामेरासहित जडान हुने हाइमास लाइट सुरक्षाका दृष्टिले समेत राम्रो हुने नगरपालिकाले जनाएको छ ।

यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरलाई दिएको ८० लाख बजेटबाट जडान गरिएका ९२ वटा सीसीक्यामेरामध्ये अहिले ३४ वटा मात्र प्रयोगमा छन् । ५८ वटा क्यामेरा बिग्रिएका हुन् । ती सीसीक्यामेरा मर्मतमा नगरपालिकाले चासो भने दिएको छैन । सहरी सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा हरेक वर्ष बजेट विनियोजन गरिने भए पनि नगरपालिकाले सीसीक्यामेरा मर्मतमा बेवास्ता गरेको हो ।

बजार क्षेत्र उज्यालो र सुरक्षित बनाउन बर्सेनि नयाँ योजना ल्याउने नगरपालिकाले त्यस्ता प्रविधिहरूको सम्भार गर्न सकेको छैन । लाखौं बजेट खर्चिएर निर्माण तथा जडान गरिने प्रविधिको मर्मत–सम्भार र सदुपयोगमा ध्यान नदिँदा बजेट मात्रै सकिने गरेको छ । जति नै नयाँ प्रविधि जडान गरेपनि त्यसको संरक्षणमा उदासीन हुँदा बजेटको सदुपयोग हुन नसकेको नगरवासीको गुनासो छ । ‘नयाँ प्रविधि जडान गरेर मात्र भएन, संरक्षण नभए एक वर्ष नपुग्दै ती पनि बिग्रन्छन्,’ वीरेन्द्रनगर–६ का कृष्णराज केसीले भने, ‘संरक्षण र मर्मतमा ध्यान दिन आवश्यक छ ।’ उनले नयाँ योजना मात्र ल्याइने र त्यसको दिगोपनामा ख्याल नगर्दा बजेट सक्ने मेसो मात्रै हुने गरेको बताए ।

गत वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत हाइमास लाइट जडान थालेको नगरपालिकाले लामो समयदेखि प्रयोगविहीन बनेका सीसीक्यामेरा र सोलारको मर्मत भने गरेको छैन । विद्युत अनियमित भइरहने प्रदेश राजधानी वीरेन्द्रनगरमा उज्यालोका लागि जडित वैकल्पिक प्रविधि पनि प्रयोगमा ल्याउन नसकिएको हो । रातीको समयमा सडकमा उज्यालो नहुँदा असुरक्षा छ । वीरेन्द्रनगर क्षेत्रमा पछिल्लो समय चोरी तथा सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ ।

प्रकाशित मितिः   २२ श्रावण २०७८, शुक्रबार १०:४१