आरनबाट इन्जिनियर !
दलवीरसिंह कामी, जसले कर्णालीको मुहार फेरे
नाम : दलवीरसिंह कामी
पढाइ: कक्षा ३ सम्म
काम: पुल बनाउने इन्जिनियर
झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तीन कक्षा पढेको व्यक्ति इन्जिनियर कसरी हुनसक्छ ? तर दैलेखका दलवीरसिंह कामीले एक होइन दर्जन बढी पुल बनाए, जो तीन कक्षा मात्रै पढेका थिए । उनकै सीपले २० को दशकमै कर्णालीलाई विकासको स्वाद चखायो ।
वि.संं. १९७८ सालमा दैलेखको रतीखोला (हाल गुराँस गाउँपालिका अन्तर्गत वडा नं. ४) मा जन्मिए दलवीर । आरन चलाउनु उनको पुख्र्यौली पेसा । उनले पनि त्यही गरे । आरन चलाउँथे, फलाम पिटेर विभिन्न सामग्री बनाउँथे । त्यही नै उनको जीविकोपार्जनको मूल पेसा थियो । बाबुसँगै आरन चलाउने उनी दिमागले तेज थिए । कुनै पनि नयाँ बस्तुहरू बनाउन तम्सन्थे ।
एक दिन बुवासँगै दैलेखबाट सुर्खेत झरे । पदमपुरमा बस्न थाले । सामान्य अक्षर चिन्दथे । त्यसबाहेक पढाइमा अरु ज्ञान थिएन । तर आफ्नो मेहनतमा बाँचेका थिए उनी । दलवीरको आफ्नै आरन थियो । जहाँ फलामको काम गर्थे, विभिन्न सामग्रीहरू बनाउँथे । गाउँको कामीको काम नै बाउसो, कोदालो, हसिँया आदि बनाउनु थियो । उनको कामप्रति लगन र मेहनत थियो ।
भेरीमा झोलुंगे पुल
सुर्खेत हुँदै भेरी नदी बग्छ । उनले हरेक सालजसो वर्षातमा उर्लने भेरीका कारण गाउँलेलाई परेको समस्या देखेका थिए । वि.सं. २०१९ सालतिर उनलाई भेरी नदीमा झोलुङ्गे पुल बनाउन इच्छा जाग्यो । उनी धनी भएर झोलुङ्गे पुल बनाउन लागेका थिएनन् । वर्षातमा उर्लेर आउने भेरीको भेललाई देखेका थिए । उनलाई नदीमा एउटा पुलको आवश्यकता महसुस भयो । उनले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै आवश्यक सामग्रीहरू आफैले तयार गर्न थाले ।
लामो फलामे साङ्ला बनाए, छोटा तार तथा अन्य सामग्री पनि तयार पारे । गाउँलेले खाँबो गाड्न तथा पुलको भार थेग्नको लागी मोटो साङ्लोलाई ठूलो खाल्डोमा पर्याप्त ढुङ्गाहरू राखेर बाँध्नमा सहयोग गरे । हिँड्नको लागि काठका स–साना फल्याकहरू लहरै बाँधे । मानिस पुलबाट नखसोस भनेर दायाँ–बायाँ बलियोसँग तारहरू बाँधे । यसरी २०२० सालको सुरुवातमा सुर्खेतको उत्तरगंगामा पर्ने रानीघाटमा करिव चार सय ३५ फिट लामो झोलुङ्गे पुल तयार भयो । यो नै उनले बनाएको पहिलो पुल थियो । पुल बन्यो, उनको योजना सफल भयो । नागरिकले सुविधा पाए ।
रानीघाटमा पहिलो पुल बनाएपछि उनी पुलमै केन्द्रीत भए । त्यसपछि सुर्खेतकै रामघाटमा अर्को पुल बनाए । यसरी उनलाई पुल बनाउने पागलपन नै चढ्यो । रामघाटपछि चिंगाड खोलामा पुल तयार भयो । हरेक पुल बनाउँदा स्थानीय जनताहरूले पनि उनलाई साथ दिन्थे । हौसला पनि दिन्थे ।
अनी इन्जिनियर बने
वि.सं. २०२० सालमा राजा महेन्द्र सुर्खेत आउने भए । तर आउने कसरी ? सडक यातायातले जोडिएको थिएन, सुर्खेत । त्यसैले राजाको आगमनको लागि विमानस्थल बनाउने तयारी भयो । सेनाले साथ दिने तथा जनताहरूले पनि जनश्रमदान गर्ने कुरा चल्यो । राजाको सवारी भनेपछि सबै एकसाथ लागे । सडक सञ्जालले नजोडिएको सुर्खेतमा विमानस्थल बनाउने काम पनि सजिलो थिएन । जमिन सम्याउनको लागि रोड रोलर ल्याउन सकिने कुरै भएन । त्यसपछि रोलर बनाउन दलवीर आफै लागे । उनको आफ्नै दिमाग र मेहनतले सुर्खेत विमानस्थल सम्याउने रोलर तयार भयो ।
मोटो सिमलको रुख काटेर त्यो सिमलको मुढालाई अगाडिबाट केही मानिसले तान्ने र केही मानिस त्यस मुढामा तौल बढाउन चढ्न मिल्ने बनाए । यसरी आफ्नै किसिमको रोलर तयार गरेका थिए उनले । यो रोलरले जमिन सम्याउन निकै सहयोग पु¥यायो । उनले बनाएको रोलरलाई शाही नेपाली सैनिक गुल्मले धेरै पछिसम्म पनि सुरक्षित राखेको थियो । विमानस्थलको माटो ओसारपसार गर्न पनि भैसीको छालालाई सिलाएर ठूलो–ठूलो थैला बनाएर त्यसमा माटो भरेर ओसार्ने काम गरिएको थियो ।
राजाको सुर्खेत भ्रमणमा सेनाका गुल्मपतिले दलवीरको काम, उनले तयार गरेको रोलर तथा झोलुङ्गे पुलहरूको बारेमा महेन्द्रलाई सुनाइएछन् । यस किसिमको अनौठो प्रतिभा भएका स्थानीय वैज्ञानिकको बारेमा जानकारी पाएपछि दर्शनको लागि दलवीरलाई बोलाइयो । दर्शनभेटमा राजा महेन्द्रले चार सय रूपैयाँ बक्सिस दिए । राजाको दर्शनभेट तथा बक्सिस पाएपछि दलवीरमा अझ बढि उत्साह थपियो ।
उनको प्रतिभा र लगनशिलता देखेर राजाले सुर्खेतको विकासमा सहयोग पुग्ने भन्दै दलवीरलाई जिल्ला पञ्चायतमा जागीर दिलाइदिए । केवल ३ कक्षासम्म पढेका दलवीरलाई राजाको आदेशपछि उनको काम र सीपअनुसार दैलेख जिल्ला पञ्चायतले सव–ओभरसियरको जागीर दिइएको थियो । पुल बनाउने राम्रो ज्ञान भएको हुँदा उनलाई झोलुङ्गे पुलसम्बन्धी जिम्मेवारी दिइयो । सबै काम केवल पढाइले मात्र हुँदैन । अनुभव र ज्ञान पनि हुनुपर्छ । यो दुवै दलवीरको साथ थियो । थिएन त केवल पढाइ । कनीकुथी अक्षर पढ्न र लेख्न जानेकै थिए । तर इन्जिनियर पढेकै थिएनन् । तर पनि सव–ओभरसियरको रूपमा जागीर पाए ।
यसक्रममा दलवीरकै योजना र निगरानीमा थुप्रै पुल बनाइए । दैलेख जिल्लाको ढुङ्गेश्वर खोलाको झोलुङ्गे पुल, चुप्रामा लोहोरे खोलाको झोलुङ्गे पुल, छामघाट खोलाको शिरस्थानको झोलुङ्गे पुल, रावतकोटको किटुलामा पर्ने छामघाट खोलाको झोलुङ्गे पुल, दैलेखको सिमानामा पर्ने लोहोरे खोलाको झोलुङ्गे पुल तथा दैलेखकै चोर खोलमा बनाइएको झोलुङ्गे पुल पनि उनको निगरानीमा बनाइएको थियो । छामघाट खोलाको झोलुङ्गे पुल बनाउने सामग्री खरिदको लागि भने दलवीर कानपुर पनि पुगेका थिए ।
जिल्ला पञ्चायतमा जागीरे रहँदा उनकै निगरानीमा सुर्खेतदेखि दैलेख हँुदै जुम्लासम्मको मोटर बाटोको रेखाङ्कन पनि भयो । सुर्खेत नेपालगन्जको मुख्य सडकको रेखाङ्कनको काम पनि पूरा गरेका थिए ।
जागीरे भएपछि दैलेख र सुर्खेको विभिन्न स्थानमा पुगिरहनु पथ्र्यो । फुर्सदको समयमा घरमा रहदाँ पनि केही न केही बनाउने काममा लागिरहन्थे । फलामका सामग्रीदेखि लिएर सुनका गहनासम्म बनाउन जानेका थिए । सेनाको बन्दुकदेखि सरकारी कार्यालयमा बिग्रेका टाइपराइटर, पेट्रोमेक्स पनि बनाउन जानेका थिए । आधुनिक इलेक्ट्रिक सामानहरूको साथै घडी, रेडियो र सेनाको बिग्रेको आवा सेट पनि बनाइदिने गर्दथे ।
एकपटक दैलेखको ताराघाटमा पुगेको सेनाको हेलिकोप्टर बिग्रेर उडाउन सकिएन । त्यस दुर्गम स्थलमा कोही इन्जिनियर वा दक्ष मेकानिक्स भेट्ने सम्भावना थिएन । सेनाका उच्च पदस्थ सैनिक अफिसरले बहुप्रतिभा भएका दलवीरलाई सम्झिए । उनलाई ताराघाटमा बोलाए । दलवीरको बुद्धिमत्ताले वा दक्षताले वा सयोगले हेलिकोप्टर चालु भयो । उडान गरेर सुर्खेत गुल्ममा ल्याइयो । यसपछि सैनिक गुल्मभित्र हेलिकोप्टर पनि बनाउन सक्ने दलवीर भनेर नाम कहलियो ।
नौलो काम गरिरहने दलवीरले सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएर चलाएर देखाएका थिए । ज्वाला दल गुल्म दैलेखमा कुनै पनि सामानको मर्मत गर्नुपरेमा पनि दलवीरलाई नै खोजिन्थ्यो । दलवीरको हात परे पछि सबै जसो सामग्री बन्थ्यो पनि ।
दरवीरकै काम देखेर छोरालाई जागिर
महेन्द्रको स्वर्गारोहणपछि नयाँ राजा बनेका वीरेन्द्रको पश्चिम नेपाल भ्रमण हुने भयो । जुम्लामा हेलिकोप्टरमा पुगेका राजा सुर्खेतमा केही समय बिताउने गरि सवारी हुने भयो । त्यसबेला सुर्खेत गुल्मका बाहिनीपति थिए, आदित्यशम्शेर जबरा । उनी राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पनाति हुन् । उनका बुवा मृगेन्द्रशम्शेर राणाकालमा शिक्षा विभागका डाइरेक्टर थिए भने बाजे बबर शम्शेर २००७ साल पछि पहिलो रक्षा मन्त्री बनेका थिए । आदित्य शम्शेर पछि राजा वीरेन्द्रका एडिसीको रूपमा कार्यरत रहेका थिए । साथै आदित्यशम्शेरका छोरा गौरवशम्शेर शाही नेपाली सेनाका सेनापति भए ।
नवराजाको सुर्खेत बसाइ हुने भएपछि गुल्मका बाहिनीपति आदित्यशम्शेर चिन्तित थिए । उनले स्वागतद्वारको सजावट, स्वागत मञ्चको सजावट तथा राजालाई चढाउने उपहारको जिम्मा पनि दलवीरलाई दिए । दलवीरले पनि सजावटको सम्पूर्ण काममा सहयोग गरे । साथै राजालाई दिइने उपहार दलवीर आफैले तीन महिना लगाएर बनाइदिए ।
राजाको फिर्ती सवारीपछि बाहिनीपति आदित्य शम्शेरले दलवीरलाई बक्सिस दिए भने साथमा भर्खरै हुर्कदै गरेका छोरा श्यामलाल सुनारलाई सेनामा भर्ना गराइदिए । छोरो सेनामा भर्ति भएपछि दलवीर अत्यधिक खुसी भए । यसरी अत्यधिक खुसियालीको क्षण लामो रहन पाएन ।
अमेरिकन एलेनसँगको संगत
नेपालमा अमेरिकी पिसकोर भोलेन्टियरहरूको आगमन हुन थालेको थियो । पिसकोरको आगमनको क्रममा २०२४ सालमा अमेरिकी विद्यार्थी एलेन फेयर बैंक सुर्खेतमा आइपुगे । पुलसम्बन्धी ज्ञान भएका एलेन सुर्खेतमा पुगेपछि दलवीरको साथीको रूपमा सँगै काम गर्न थाले ।
अमेरिकी नागरिक एलेनले चार वर्ष दलवीरसँग बिताए । दलवीरको क्षमता देखेर उनी पनि चकित भएका थिए । एक पटक एलेनको टाइपराइटर बिग्रेर निकै दुख दियो । दलवीरले म एक पटक हेरिदिन्छु भने । एलेनलाई लागेको थिएन दलवीरले टाइपराइटरको मर्मत गर्न सक्छ भन्ने । दलवीर एकैछिन टाइपराइटरमा घोत्लिए । त्यसपछि एउटा दाँती देखाउँदै भने यसको एउटा दाँत भाच्चिएको छ त्यसैले काम गरेको छैन । आरनमा गएर उस्तै नयाँ दाँती बनाएर टाइपराइटरमा फिट गराइदिए । टाइपराइटर नयाँ जस्तै काम गर्न थाल्यो ।
दलवीरको श्रीमती मोतीसरालाई एलेनले दिदी बनाएका थिए । भाइको अचानक देहान्त भएपछि रोइरहेकी मोतीसरालाई एलेनले सम्झाउदै भनेका थिए, ‘तपाईंको भाइ गुमेकोमा चिन्ता नगर्नु म तपाईंको भाइजस्तै हो । अबको तिहारमा मलाई भाइटीका लगाइदिनु ।’ नभन्दै मोतीसराले एलेनलाई टीका लगाइदिइन् । दिदी–भाइको नाता कायम रह्यो । चार वर्ष सुर्खेतमा सँगै बिताएका एलेन पिसकोरको तालिम पछि पनि दुई पटक नेपाल आए । सुर्खेतमा दिदीको घरमा बसे । दिदी मोतीसराको देहान्त पछि भने एलेन नेपालमा फर्केर आएका छैनन् ।
रहस्यमय मृत्यु
वि.सं. २०३० वैशाख २० गतेको बिहान । सिम्ता–६ बाँदेपीपलमा रहेको बागेश्वरी माध्यमिक विद्यालयको चौतारोमा झुण्डिएको एउटा शव फेला प¥यो । शव थियो, दलवीरसिंह कामीको ।
जागीरकै सिलसिलमा उनी पूर्वी सुर्खेत गएका थिए । बाँदेपिपलस्थित भेरी नदीमाथि झोलुङ्गे पुल बनाउने योजना थियो उनको । वैशाख १९ गते बाँदेपीपल पुगेर सुतेका उनी बिहान ओछ्यानमा भेटिएनन् । अचानक बिहानै हराएका दलवीरको खोजी भयो । खोज्दै जाने क्रममा चौतारोमा झुण्डिएको अवस्थामा मृत शव भेटियो ।
धेरैले आत्महत्या हुनै नसक्ने भन्दै यो कसैले गरेको हत्या हो भने । पर्याप्त प्रमाणहरूको अभावका कारण छानबिन भएन । यथेष्ट प्रमाण नहुँदा आत्महत्या भनियो । दलवीरको रहस्यमय मृत्यु आत्महत्याकै रूपमा दर्ज भयो । तर उनले आत्महत्या गर्नै पर्ने कुनै कारण नै थिएन ।
तत्कालिन जिल्ला पञ्चायतमा सव–ओभरसियरका जागीरे उनको सदैव काममा लगन थियो । त्यसैमा खुशी थिए । सामाजिक कामभन्दा अरु उनलाई कुनै चिन्ता नै हुँदैनथ्यो । तर उनले शत्रुहरू भने मनग्गे कमाएका थिए । पढे–लेखेका नभए पनि उनको चर्चा निकै हुन गर्दथ्यो । राजाले नै उनलाई भेटेपछि त उनको भेटघाट अञ्चलाधिश र सेनाका गुल्मपतिसम्म हुन्थ्यो । त्यसैले पनि उनका दुश्मनहरू भित्र भित्रै जलेका थिए ।
पर्याप्त पढाइ नभएपनि राजाले नै जिल्ला पञ्चायतको सव–ओभरसियरको जागीर दिलाएपछि पुलको रेखाङ्कन तथा अन्य निर्देशन उनकै रेखदेखमा हुन्थ्यो । सुर्खेतबाट नेपालगन्ज जोड्ने सडकको रेखाङ्कन पनि उनले नै गरेका थिए । भनिन्छ यहीँ सडकको विषयमा उनको केही व्यक्तिहरूसँग विवाद भएको थियो ।
केही व्यक्तिले आफ्नो स्वार्थमा सडकको रेखाङ्कन परिवर्तन गर्न दबाब दिएका थिए । तर दलवीरले सो सडकको महŒव दुरी तथा खर्चको विविध कारणले ति व्यक्तिहरूको दबाबमा काम गर्न अस्वीकार गरेका थिए । यसको केही समय पछि नै उनको मृत शरिर झुण्डिएको अवस्थामा भेटियो । धेरैले यस किसिमको मृत्यु हुँदा यो आत्महत्या होइन हत्या हो भन्ने आवाज उठाए । तर यसको कुनै छानबिन नै गरिएन । सायद अर्को पक्ष निकै पहुचँवाला थिए वा उनीहरूको हैकम बढी थियो होला । तसर्थ सबुत प्रमाणको अभावमा आत्महत्याको नाम दिएर यो मृत्युलाई चुपचाप बन्द गरियो ।
परिवारले पाएनन् घरजग्गा
सधँै सरकारी काम भन्दै हिँडिरहने दलवीरको कुनै राम्रो गृहस्थ थिएन । न त पक्की घर न त पर्याप्त जग्गजमिन नै थियो । दुखकष्टले दुई छाक टार्दै छोराहरू र श्रीमतीको लालनपालन गरिरहेका दलवीरको परिवारमा अचानक बज्रपात आइप¥यो । कसैले सल्लाह दिए, राजालाई बिन्तीपत्र चढाउने ।
दलवीरकी श्रीमती मोतीसरा सुनारले लेख्न जान्नेको सहयोगमा राजामा बिन्ती पत्र चढाइन । छिट्टै नै राजाको आदेश अञ्चलाधिश कार्यालय आइपुग्यो, ‘दलवीरको परिवारलाई निशुल्क घडेरी र घर बनाउन खर्च दिनु ।’ तत्कालीन अञ्चलाधिस ऋतुवर्ण तुम्बाहाम्फेले दलवीरका श्रीमती मोतीसरा सुनारलाई बोलाएर तत्कालीन जिल्ला पञ्चायतका सभापति तुलसीप्रसाद सापकोटालाई राजाको आदेश अनुसारको काम गर्न लगाए । तर त्यो घडेरी र घर बनाउने रकम कहिल्यै उनीहरूले पाएनन् । दुखमा आँशु बगाउँदै मोतीसराले छोराहरू हुर्काइन् । सरकारबाट घडेरी र पैसो पाउने आशा बोकेका मोतीसराको पनि २०५९ सालमा मृत्यु भयो ।
प्रकाशित मितिः २३ श्रावण २०७८, शनिबार ०४:५४
साझा बिसौनी ।