दोस्रो डोज खोपको पर्खाइ
कर्णालीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक लाख बढी

कर्णाली प्रदेशमा अहिलेसम्म एक लाख ३० हजार बढीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र भेरोसेल गरि एक लाख ३० हजार ६ सय ७७ जनाले खोप लगाएका हुन् । त्यसमध्ये एक लाख आठ हजार चार सय ८६ जनालाई कोभिसिल्डको पहिलो डोज दिइएको थियो । कोभिसिल्डको दोस्रो डोज भने २१ हजार सात सय ४२ जनाले मात्र लगाएका छन् । प्रदेशमा कोभिसिल्ड लगाएका एक लाख बढी दोस्रो डोजको पर्खाइमा छन् ।
कर्णालीमा गएकोे माघ १४ देखि २४ र फागुन २ देखि १० गतेसम्म कोभिसिल्ड खोप लगाउन सुरू गरिएको थियो । सरकारले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, ज्येष्ठ नागरिक, सरसफाइकर्मी लगायतलाई प्राथमिकताका आधारमा खोप दिएको थियो । त्यसबेला खोप लगाएका अधिकांशले दोस्रो डोज पनि लगाउन पाए । तर, वैशाख ५ गतेदेखि ११ गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षमाथिका मात्रै ८१ हजार चार सय ९६ जनाले दोस्रो डोजको खोप पाएका छैनन् ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै भारतले खोप निर्यातमा रोक लगाएपछि उनीहरूले खोप पाउने निश्चित छैन । जनस्वास्थ्यकर्मीहरूका अनुसार पहिलो डोज लगाएको १२ साताभित्रै दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ । अहिलेसम्म उनीहरूको खोपको दोस्रो मात्रा लगाउनेबारे टुङ्गो नलागेको हो । समयमा दोस्रो खोप लगाउन नपाउँदा पहिलो खोपको असर के हुने र कहिले खोप पाइने भन्नेमा नागरिकहरू अन्योलमा छन् । खोपको दोस्रो मात्रा लगाउने निश्चित नभएपछि उनीहरू निराश देखिन्छन् ।
भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने १० लाख मात्रा कोभिसिल्ड खोप अझैं डेढ महिना नआउने भएको छ । आफ्ना २० प्रतिशत नागरिकलाई दुवै मात्रा खोप लगाइसकेपछि मात्र भारतले छिमेकी देशमा खोप उपलब्ध गराउन सकिने बताइसकेको छ । नेपालमा कोभिसिल्डको दोस्रो डोज लगाउने संख्या अत्यधिक भएकाले सरकारले खोपका लागि पहल गरिरहेको सरकारी अधिकारीहरू बताउँछन् । सरकारबाट अनुमति लिएका निजी कम्पनीले समेत कोरोनाविरुद्धको खोप भिœयाउन सकेका छैनन् ।
भेरोसेलको दोस्रो मात्रा दिने समय भने बाँकी नै छ । कर्णालीमा केही दिन पहिले मात्र २२ हजार एक सय ९१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका थिए । संघीय सरकारले चीनबाट ल्याएको भेरोसेल ५३ हजार चार सय डोज खोप कर्णाली पठाएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बाँकी रहेको उक्त खोप दोस्रो डोजका लागि राखिएको छ । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले भेरोसेलको पहिलो मात्रा सुर्खेतमा ६ हजार एक सय ५३, दैलेखमा चार हजार पाँच सय ४१, रुकुम–पश्चिममा दुई हजार चार सय ९४ र सल्यानमा दुई हजार दुई सय दुई जनाले लगाएको बताए । त्यस्तै, जाजरकोटमा दुई हजार एक सय ४३, जुम्लामा एक हजार चार सय ६८, कालीकोटमा नौै सय ८०, मुगुमा आठ सय ५४, हुम्लामा पाँच सय नौ र डोल्पामा चार सय १९ जनालाई भेरोसेलको पहिलो डोज दिइएको हो ।
निर्देशनालयका अनुसार काठमाडौंमा भेरोसेल खोपको पहिलो डोज लगाएका तर कर्णालीमा रहेका चार सय १४ जनाले भने दोस्रो मात्रा पनि लगाएका छन् । सूचना अधिकारी चौधरीले भेरोसेलको दोस्रो डोजका लागि खोप सञ्चित रहेकाले लगाउने तयारी पनि गरिएको जनाए । ‘भेरोसेल खोप हामीले स्टक राखेका छौं । यही महिनाको अन्तिम साताबाट सबै जिल्लामा दोस्रो डोज पनि लगाइने छ,’ उनले भने ।
प्रदेशका हिमाली जिल्लाका आठ वटा पालिकामा १८ वर्षमाथिकालाई खोप लगाउने गरि तयारी गरिएको छ । चीनको सीमानासँग जोडिएका यी पालिकाहरूमा १८ वर्षमाथिका नागरिक सबैलाई खोप दिने विषयमा छलफल र तयारी भएको सूचना अधिकारी चौधरीले बताए । उनका अनुसार मुगुको कार्मारोङ गाउँपालिका, डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, शेफोक्सुण्डो गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा खोप लगाउने तयारी भएको हो । यस्तै, हुम्लाको सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका र चंखेली गाउँपालिकामा खोप दिइने छ । यी पालिकाहरूमा १४ हजार आठ सय ६२ जनालाई खोप लगाइने तयारी निर्देशनालयको छ । भेरोसेलको दोस्रो डोज लगाउने समयमा यी गाउँपालिकाहरूमा पनि खोप लगाइने गरि तयारी गरिएको हो ।
कर्णाली प्रदेशमा कोरोना संंक्रमणको दोस्रो लहर आएसँगै अधिकांश जिल्लामा वैशाख दोस्रो सातादेखि निषेधाज्ञा जारी छ । पछिल्ला दिनमा कोरोना संक्रमणको दरमा कमी आएपछि स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो पारेका छन् । यहाँ संक्रमणको जोखिम भने कायमै छ । प्रदेशमा बुधवार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा २८ हजार एक सय ६९ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये २५ हजार ६ सय ९३ जना संक्रमणमुक्त भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन सय २९ पुगेको छ । कर्णालीमा अझै दुई हजार बढी सक्रिय संक्रमित छन् । संक्रमणको दोस्रो लहरको सुरूवातमा ९० प्रतिशत नाघेको संक्रमण दर पछिल्लो समय ओरोलो लागेको छ । अहिले संक्रमण दर २० देखि २५ प्रतिशतसम्म रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मितिः १७ असार २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।