निषेधाज्ञा कायमै
सवारी साधनमा जोर–बिजोर प्रणाली
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात जिल्लाभित्र सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज (शुक्रवार) देखि जोर–बिजोर प्रणाली लागू गरेर सबैखाले सवारी साधन सञ्चालन गर्न दिने भएको हो । गत वैशाख १४ गतेदेखि जारी निषेधाज्ञा भने लम्ब्याइएको छ ।
स्थानीय प्रशासनले असार २५ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । पछिल्लो समय निषेधाज्ञामा पनि विस्तारै सबै क्षेत्र खुकुलो बनाउँदै लगिएको छ । प्रशासनले अघिल्लो साताबाट बिहान ६ देखि दिउँसो २ बजेसम्म बजार खोल्न दिएको छ । प्रशासनले निषेधाज्ञा अवधिभर सवारी साधन जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्ने जनाएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाइने भएको हो ।
यस्तै, प्रशासनद्वारा जारी पछिल्लो सूचनाअनुसार खाद्यन्नका पसलहरू बिहान ९ देखि बेलुका ६ बजेसम्म खोल्न पाइने बताएको छ । तरकारी तथा फलफूलका पसलहरू भने बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न पाइने छ । त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयरूले स्वास्थ्य मापदण्ड पालना गर्दै स्थानीय तहको समन्वयमा भर्ना अभियान सञ्चालन गर्न सक्ने प्रशासनले जनाएको छ ।
प्रकाशित मितिः १८ असार २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।