भोकमरीको चिन्ता
करिब एक वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीको पहिलो लहरले आक्रान्त बनायो । बीचमा अवस्था केही सहज हुँदैथियो । फेरि दोस्रो लहर भित्रियो । अवस्था भयावह बनेर आयो । महिनाभन्दा बढी निषेधाज्ञा जारी भइसकेको छ । यो अझै कति लम्बिने हो निश्चित छैन । कोरोनाको दोस्रो लहरले त अर्थतन्त्रका साथसाथै जनजीवन नै तहसनहस बनाइरहेको छ । कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भइ सम्पूर्ण सेवा–सुविधाहरू बन्द हुँदा नागरिक समस्यामा परेका छन् । विशेष गरेर निम्न वर्गका मानिसहरू, जो ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्दैआएका थिए उनीहरू सबैभन्दा बढी समस्यामा परेका छन् । महामारीले थुप्रै मानिसहरूको खाद्य सुरक्षा र जीविकोपार्जन जोखिममा पारेको छ । धेरैले आम्दानीको स्रोत गुमाए, रोजगारीका अवसर गुमाए । बेरोजगार भएर बस्नु परिरहेको छ । यसले गरिबीको दर झन् बढाउनेछ । कर्णाली प्रदेश यसै पनि गरिबीले गाँजेको प्रदेश हो । यहाँका ५२ प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् । वर्षभरी खान–लाउनकै समस्या छ । दैनिक दुई छाक टार्नकै लागि तड्पिनुपर्ने अवस्थाबाट गुज्रिरहेका नागरिकहरूको जीविकोपार्जन अझ जोखिममा परेको छ ।विश्वव्यापी रूपमा फैलिएको महामारी तत्कालै नियन्त्रणमा आउने संकेत छैन । यो संकटकालीन अवस्था कहिलेसम्म लम्बिने हो भन्ने निश्चित छैन । यस्तो अवस्थामा हाम्रो जस्तो अल्पविकसित र गरीब मुलुकको हालत के होला ? नागरिकले बाँच्नका लागि कतिसम्म दुःख गर्नुपर्ने अवस्था आउँला ? प्रश्नहरू झन जटिल बन्दैछन् । कोरोना संक्रमण घटेको छैन । कमजोर आर्थिक अवस्था र बेरोजगारी व्याप्त भएको यो स्थितिमा अर्को संकटको रूपमा भोकमरीले आक्रान्त बनाउने निश्चितप्रायः छ । अहिले पनि मुलुक आर्थिक मन्दी, बेरोजगारी र भोकमरीबाट प्रभावित भइसकेको छ । दैनिक मजदुरी गर्ने मात्रै हैन, विभिन्न व्यवसायी गरिरहेका र निजी क्षेत्रमा रोजगारी गरिरहेकाहरू यतिबेला संकटमा छन् । उनीहरूको परिवार समस्यामा छ ।
मुलुकलाई महामारीबाट त जोगाउनु छ नै सँगसँगै राज्यको ध्यान नागरिकलाई भोकमरीबाट जोगाउनेतर्फ पनि केन्द्रित हुनु जरुरी छ । यही महामारीका कारण राज्यले अनुमान गरेभन्दा धेरैले रोजगारी गुमाएका छन् । उनीहरू उचित अवसरको खोजीमा छन् । भारतबाट रोजगारी गुमाएर फर्किएकाहरू अहिले पुनः रोजगारीको खोजीमा भारत पसेका छन् । यहीँ बसेकाहरूले काम पाइरहेका छैनन् । यो अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने कोरोना महामारीले भन्दाबढी भोकमरीले ज्यान गुमाउनुपर्ने अवस्था नआउँला भन्न सकिदैन । त्यसैले तुरुन्तै उपयुक्त कदम नचाल्ने हो भने अबका दिनमा अर्को संकटको सामना गर्नुपर्ने बाध्यता आइलाग्नेछ । सरकारको अबको योजना नागरिकलाई बेरोजगारी र भोकमरीबाट जोगाउने हुनु अपरिहार्य छ । विकास निर्माण वा भौतिक सुख सुविधाका जतिसुकै ठूला योजना ल्याए पनि आधारभूत प्राथमिकता भनेको नागरिकको जीउज्यानको सुरक्षा नै हो । यसका लागि खाद्य सुरक्षाको सुनिश्चितता गर्नु अनिवार्य छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।